सुदूरपश्चिमेली युवाहरू पैसा कमाउन बनबासा पुलको बाटो हुँदै भारत पस्छन्।
बनबासा पुलले नेपाल–भारत सीमा छुट्याउँछ। हरेक दिन कञ्चनपुरको महेन्द्रनगर भएर बनबसाको पुलबाट महाकाली तरेर भारत पस्नेहरूको लर्को हुन्छ।
स्वदेशमा रोजगारीका विकल्प नभएपछि गाउँ छाडेर भारत पस्नुपरेको उनीहरूको गुनासो हुने गरेको छ।
अछामको मेल्लेख गाउँपालिका–२, ऋषिदहका ४५ वर्षीय दानबहादुर बुढा भने अहिलेसम्म पैसा कमाउन भारत गएका छैनन्। त्यसरी जानु नपरेकोमा उनी खुसी छन्।
भन्छन्, ‘कमाउनका लागि बनबसाको पुल तर्न नपरेकोमा मलाई गर्व छ।’
गुजारा चलाउन अनेक चुनौती सामना गर्नुपरे पनि उनले पैसा कमाउन परदेश जाउँ भन्ने कुरा सोचेनन्।
दानबहादुरका दौँतरीहरू कमाइका लागि भारतका सहर पसे। उनी भने आफ्नै डाँडापाखामा रमाउँदै गाउँमै कम गर्दै बसे।
सुरूमा उनले भेडाबाख्रा पाले।
समय वित्दै जाँदा भेडाको ऊन र जंगलमा खेर जाने अल्लोबाट पैसा कमाउने जुक्ति देखे।
अल्लो र भेडाको ऊनबाट परम्परागत तरिकाले धागो बनाउन सकिन्थ्यो। उनले त्यो धागोबाट हातैले राडीपाखी बुन्ने चलन छँदै थियो।
उनीसँग पनि त्यो सिप थियो। गाउँका मानिसले घरमा कपडा बुनेको देखेर सानै उमेरमा सिप सिकेका थिए।
१० वर्षअघि आफ्नो त्यही सिप सदुपयोग गरेर पैसा कमाउने जुक्ति निकालेका हुन्।त्यसपछि उनी त्यही सिप सुदुपयोग गर्दै छन्। आफ्नो सिप आफ्नै ठाउँमा सदुपयोग गर्न पाएर उनी सन्तुष्ट छन्।
‘काम नलाग्ने भनेर हेला गरेको चिजमा पैसा देखेपछि मैले बनबसा तर्नुपरेको छैन। म गाउँमै सन्तुष्ट छु,’ उनले भने।
उनी आफूमात्र होइन अल्लोबाट सिंगो गाउँ स्वरोजगार हुने विश्वासमा छन्। उनी स्वरोजगार हुन अल्लो र ऊनबाट लुगाकपडा बनाउने काम गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेका छन्।
उनले २०७२ सालमा जिल्ला घरेलु उद्योग कार्यालयको आयोजनामा गाउँमै राडीपाखी बुनाइको तालिम चलाउन पाएका थिए। तालिममा ६५ जना सहभागी भए।
त्यही वर्ष दानबहादुरले मेल्लेख गाउँपालिका–७, सुयडीमा अल्लो धागोबाट लुगाकपडा उत्पादन गर्न ‘लक्ष्मी अल्लो प्रशोधन तथा सिलाइबुनाइ उद्योग’ दर्ता गराए।
गाउँमै उद्योग सुरु गरे। सुरु त भयो तर आफूले सोचेअनुसार काम हुन सकेन। लगानी पुगेन। त्यसो भए पनि उनले हार मानेनन्।
उद्योग चलाएको सात वर्षपछि उनले अलिक ठूलो रूपमा अघि बढ्ने आँट गरे। उनको काममा उनकै बसोबास रहेको मेल्लेख गाउँपालिका कार्यालयले मद्दत गर्यो।
आर्थिक वर्ष २०८०/८१ मा मेल्लेख गाउँपालिकाले ‘औद्योगिक ग्राम’ बनाएर ‘एक वडा एक उद्योग’ स्थापनाको लक्ष्य लिएको थियो। सोही लक्ष्यअनुसार दानबहादुरको उद्योगले गाउँपालिकाबाट सहयोग पाएको हो।
गाउँपालिकाले उनलाई औद्योगिक ग्राममा भवन र एउटा मेसिन दिएको छ। गाउँपालिकाका अध्यक्ष ज्वालासिंह साउदले उद्योगले उत्पादन गरेका लुगाकपडा बिक्रीका लागि बजार व्यवस्थापन गरिदिने वचन दिएका छन्।
दानबहादुरले उद्यौगिक ग्राममा अल्लोबाट कपडा बुनाइ र सिलाइ गरेर बिक्री गर्ने गरेका छन्।
‘अहिले उद्योगले अल्लोबाट कोट, टोपी, झोला उत्पादन गरिरहेको छ। मैले पनि त्यही उद्योगमा बनेको कोट र टोपी लगाएको छु,’ गाउँपालिका अध्यक्ष साउद भन्छन्, ‘उत्पादन भएका लुगाकपडा बजारमा बिक्री गर्ने जिम्मा गाउँपालिकाले लिन्छ।’
अल्लो संकलनको काम गाउँलेहरुले गर्छन्। संकलित अल्लो प्रशोधन गरेर धागो बनाउने काम पनि उनीहरूले नै गर्छन्। दानबहादुर त्यो धागो किन्छन् र कपडा बनाउँछन्।
उद्योगमा दानबहादुर अहोरात्र खट्छन्। सहयोगी कर्मचारीहरू पनि छन्। उद्योगमा गाउँपालिकाको सहयोग पाएपछि उनले भेडाबाख्रा हटाएका छन्।
उनका अनुसार गाउँपालिकाले एउटा मेसिन दिएको छ तर उनको आवश्यकता पूरा भएको छैन। भन्छन्, ‘अझै दुई वटा मेसिन चाहिएको छ। मेसिन नहुँदा थोरै काम गर्नुपरेको छ।’
लगानीका लागि पैसा नभएर उनले मेसिन थप्न नसेकका हुन्। मेसिन थपेर उत्पादन बढाउन सके बजारको समस्या नपर्ने उनको अनुभव छ।
दानबहादुरका अनुसार आफ्ना गाउँलेहरूलाई अल्लो काटेर प्रशोधन गर्ने र धागो बनाउने काम उनैले सिकाएका हुन्। उनको उद्योगमा अहिले तिनै गाउँलेले अल्लोधागो आपूर्ति गर्छन्।
उनी अल्लोधागो प्रतिकिलोग्राम १२० रुपैयाँदेखि १५० रुपैयाँसम्ममा किन्छन्। र कपडाको प्रकृतिअनुसार प्रतिमिटिर न्यूनतम आठ सय रुपैयाँदेखि अधिकतम दुई हजारसम्म रुपैयाँसम्ममा बेच्दैछन्।
तयारी वस्तुको मूल्य धागो र अन्य लगानीअनुसार निर्धारण गर्छन्।
उनले गत वर्ष उत्पादन गरेका टोपी, कोट र केही कपडा बेचिसकेका छन्। उनको उद्योगमा कोट, अस्कोट, टोपी, झोला, गलबन्दी, पटुकी लगायतका लुगा उत्पादन हुन्छ। उनी आफू नौ किसिमका लुगा बनाउन जान्दछन्।
उनका अनुसार अल्लोको कपडा धेरै वर्ष टिक्छ।
मेल्लेख गाउँपालिकाको लेकाली भेगमा अल्लो प्रशस्त मात्रामा पाइन्छ। वैशाखमा अल्लो पलाउन सुरु हुन्छ। असोजदेखि मंसिरसम्म अल्लो काटेर निकाल्न सकिन्छ।
दानबहादुर लगानी बढाएर उद्योगको क्षमता बढाउन चाहन्छन्। उद्योगको क्षमता बढाएर देशभर कपडा र लुगा पुर्याउन चाहन्छन्। यस्तो उद्योगबाट सिंगो गाउँलेलाई स्वरोजगार बनाउने सपना देखेका छन्।
उनका अनुसार उद्योग ठूलो बनाउन सके गाउँलेहरूले धागो पनि धेरै बनाउने छन्। धागोबाटै राम्रो आम्दानी गरेर स्वरोजगार हुने छन्। राम्रो फाइदा भएपछि अरूले पनि उद्योग खोल्नेछन्। उद्योगमा गाउँलेहरूले प्रत्यक्ष रोजगारी पाउनेछन्।
सिंगो गाउँलेलाई स्वरोजगार बनाउने उनको सपना यसरी पूरा हुनेछ।