सन् २०१९ जुलाई १६ का दिन विराटनगरका जीवशास्त्री रामचन्द्र अधिकारीको म्यासेज बक्समा कसैले एउटा माछाको फोटो पठाउँदै सोधे, ‘यो कुन माछा हो, हेर्दै अनौठो छ नि!’
सामान्यतयाः नेपालका खोलाखोल्सीमा पाइनेभन्दा केही ठूलो र अनौठो आकारको र स्थानीय खोलानालामा यसअघि देखा नपरेको नौलो माछा देखेपछि उनले फोटो पठाउने साथीलाई सोधे ‘कहाँ फेला पर्यो?’
'यहीँ मोरङकै लोहन्द्रा खोलामा,' उताबाट आएको जवाफले स्नात्तकोत्तर क्याम्पस विराटनगरका उपप्राध्यापक अधिकारीको जिज्ञासा झनै बढायो। आफै पनि जीवशास्त्रबारे लेखिरहने उनले त्यसबारे खोजी सुरू गरे।
नेपालकै र बंगलादेशसम्म्मका विज्ञलाई त्यो माछाको फोटो पठाउँदै उनले त्यसबारे सोधे। उनले जहाँ–जहाँ सोधे, सबैतिरबाट फरक फरक नाम र दाबी आइरहे।
'मेरो अध्ययनको क्षेत्र जीवशास्त्र भए पनि म माछा विज्ञ होइन, त्यसैले आफ्नो सम्पर्कमा रहेका विज्ञहरूलाई सोधेको थिएँ,' अधिकारीले भने 'तर मैले जहाँ–जहाँ सोधेँ, सबैतिरबाट फरक कुरा आयो।’
लोहन्द्रामा भेटिएको माछाबारे जीवशास्त्री भरत सुब्बाले ‘सकर फिस’ भनेका थिए भने प्राकृतिक विज्ञान संग्राहलयका प्रमुख गणेशबहादुर थापाले ‘क्रोकोडायल फिस’ ( वैज्ञानिक नाम टेरिग्लोप्लिक डिसजङिटमस) भनेका थिए। बंगलादेशी माछा विज्ञ विनयकुमार चक्रवर्तीले थाइ सकरफिस (वैज्ञानिक नाम ‘हाइपोस्टोमस प्लेकोसटोमस) भने।
सबैको जवाफ फरकफरक आएपछि उनले माछाको त्यो फोटो जसहाङ लिम्बूलाई पठाए, लिम्बू माछाबारे नै अध्ययन गरिरहेका व्यक्ति हुन्। झापा दमकका बासिन्दा जसहाङले फोटो देख्ने बित्तिकै त्यसबारे अध्ययन थाल्ने योजना बनाए। साथी दीपक राजवंशीसँग मिलेर उनले लोहन्द्रा खोला चहार्न थाले।
मोरङको झन्डै मध्यभाग भएर बग्ने लोहन्द्रा खोलाको दुई ठाउँमा उनीहरूले त्यही माछा भेटे, जसको फोटो देखेपछि उनीहरूमा अनुसन्धानको भोक जागेको थियो।
'हामीले तमोर पूर्वका सबै खोलानदीमा माछा खोज्यौं, सबैजसो नदीको ५० ठाउँमा स्याम्पलिङ गर्यौं,' अहिले चीनमा बसेर माछाबारे नै अध्ययन गरिरहेका अध्येता जसहाङ लिम्बूले भने 'त्यसक्रममा लोहन्द्रा नदीको दुई ठाउँमा त्यस्तै माछा फेला पार्यौं। विराटनगरभन्दा ६ किलोमिटर पूर्व दक्षिणमा रहेको धनपालथान गाउँपालिका क्षेत्र र बेलबारी बजारभन्दा १ किलोमिटर दक्षिण क्षेत्रबाट ४३ वटा माछा फेला पर्यो।'
उनका अनुसार ती माछाहरू २ सयदेखि ३ सय ग्रामसम्म तौलका थिए भने १३९ देखि २०५ मिलिमिटरसम्म लामा थिए। यी माछा अरू खोलातिर पनि भेटिएला कि भनेर लिम्बू र राजवंशीको टिमले सन् २०१९ देखि २०२३ को चार वर्षमा पाँचथरदेखि धनकुटा, झापा, मोरङ, सुनसरीका खोलाहरूमा धेरैपटक फन्को लगायो।
यो चार वर्षको अनुसन्धानपछि जसहाङ लिम्बू र दीपक राजवंशीको टिमले पत्ता लगायो, लोहन्द्रामा मात्रै भेटिएको माछा दक्षिण अमेरिकाको रैथाने माछा रहेछ। ‘टेरिगोप्लिक्थिस डिसजन्किटिभस’ वैज्ञानिक नाम भएको यो माछा नेपालका लागि नौलो भएको उनीहरूको अध्ययनको निष्कर्ष छ।
त्यसो त जीवशास्त्रका यी अध्येताहरूको स्वघोषणाले मात्रै नेपालमा नयाँ प्रजातिको गैरदेशीय माछा फेला परेको तथ्य स्थापित हुँदैन थियो। त्यसका लागि एउटा लामो अनुसन्धानमूलक प्राज्ञिक प्रक्रिया पूरा गर्नुपर्थ्यो। लिम्बू नेतृत्वको टिमले त्यो प्रक्रिया पनि पूरा गरिसकेको छ।
नेपालमा फेला परेको माछा गैरदेशीय हो अथवा नयाँ प्रजातिको हो भन्ने तथ्यको अनुसन्धान गरेर वैज्ञानिक जर्नलमा अनुसन्धानमुलक लेख छाप्नुपर्ने हुन्छ। लेख छाप्नुअघि प्रस्ताव गर्ने, प्रस्ताव स्वीकृत हुने, अनुसन्धान गर्ने र विज्ञहरूसहितको टिम सहभागी सम्पादन मण्डलले गर्ने थप प्रश्नहरूको उत्तर पस्किने प्रक्रिया पूरा भएपछि मात्रै जर्नलमा लेख छापिन्छ।
चार वर्ष लामो अनुसन्धानपछि जसहाङ लिम्बू, दीपक राजवंशी, अस्मित सुब्बा र लक्ष्मण खनाल तथा दुई जना चिनियाँ अनुसन्धानकर्ताहरू जिनक्वान याङ र चेनहोङ लिको सहयोगमा फिनल्याण्डबाट प्रकाशित हुने जर्नलमा लेख छापिएको छ।
‘बायोइन्भेजन्स रेकर्डस्’ नामक जर्नलको वर्ष १३ अंक २ मा ‘फर्स्ट रेकर्ड अफ नन् न्याटिभ भर्मीकुलेटेड सेल्फिङ क्याटफिस फ्रम लोहन्द्रा रिभर इस्टर्न नेपाल’ शीर्षकमा सन् २०२४ मे २० मा प्रकाशित लेख जर्नलको ५५७ देखि ५६४ पेजसम्म प्रकाशित छ। जसै यो प्रक्रिया पूरा भयो, जीव विज्ञानको क्षेत्रमा नेपालमा नयाँ माछा पनि थपियो।
विश्व संरक्षण संघको वेवसाइटमा उल्लेख भए अनुसार ‘टेरिगोप्लिक्थिस डिसजन्किटिभस’ नामक यो माछा बोलिभिया, ब्राजिल लगायतका देश आसपासको अमेजोन नदीको रैथाने माछा हो। माछाको बसाइँसराइको क्रममा यो माछा पछिल्लो समय भारत, जापान, मेक्सिको, फिलिपिन्स बंगलादेश, हङकङ लगायतका देशसम्मै पुगेको छ।
यसअघि भारतमा देखापरिसकेको यो माछा त्यतैबाट नेपालतिर आएको हुनसक्ने अनुमान अनुसन्धान टिमको छ।
‘एक्वारियमबाट आइपुग्यो कि पानीकै बाटो यहाँसम्म आइपुग्यो भन्ने दाबी गर्न सक्ने अवस्था भएन,' हाल चीनको संघाई ओसियन विश्वविद्यालयमा माछाको ‘मोलिक्युलर टेक्सोनोमी एन्ड फाइलोजेनेटिक्स’ विषयमा विद्यावारिधि गरिरहेका जसहाङले भने ‘तर, यो माछा दक्षिण र मध्य अमेरिकाको रैथाने माछा हो। नेपालमा यसको संख्या एकदमै छिटोछिटो बढिरहेको पाइएको छ।’
सन् २०१९ मा पहिलोपटक मोरङको लोहन्द्रा खोलामा फेला परेको यो माछा नेपालको खोलामा फैलिएको र स्थापित भइसकेको उनीहरूको अध्ययनको ठहर छ।
‘हामीले सानादेखि वयस्कसम्म माछा फेला पार्यौं। यसले यो स्थापित भइसकेको छ र फैलिँदो क्रममा छ भन्ने पुष्टि हुन्छ।’
चार वर्षअघि फेला परेर अहिले गैरदेशीय भन्ने पुष्टि भएको माछाको संख्या एकदमै छिटो बढ्नुको मुख्य कारण यो खान योग्य नहुनु हो।
‘यसको मासुमा कुनै स्वाद छैन, राम्रो स्वाद पनि छैन,' अनुसन्धानकर्ता लिम्बूले भने ‘त्यसैले माछा मार्नेहरूले पनि जालमा यो माछा परे खोलामै फ्याँकिदिन्छन्। त्यसले यसको संख्या एकदमै बढेको देखाउँछ।’
अध्येता जसहाङ लिम्बूले सेतोपाटीलाई बताए अनुसार माछाको बसाइँसराइ पुरानै चलन हो।
‘अहिले नेपालको पहाडी इलाकामा पाइने राजवाम भन्ने माछा समुद्रमा मात्रै जन्मिन्छ,' उनले भने ‘तर, जन्मेर थोरै बढेपछि त्यो माछा ताजा पानी खोज्दै नेपालतिर उक्लिहाल्छ। उसले सिंगो जीवन नेपालकै ताजा पानीमा बिताउँछ। जब उसको जीवनको अन्तिम अन्तिम बेला हुन्छ, अन्डा पार्न त्यो माछा फेरि समुद्रतिरै फर्कन्छ।’
अनुसन्धानकर्ताहरूले जर्नलको लेखमा उल्लेख गरे अनुसार यो माछा नेपाल भित्रिएपछि रैथाने माछालाई हेप्ने, खानेकुरा खाइदिने, फूल र भुरा खाइदिने गरेको पाइएको छ। जसकारण स्थानीय माछाहरू नासिने सम्भावना हुन्छ। यसले धेरै देशमा यस्तो विध्वंस मच्चाउँदै प्राकृतिक पारिस्थितिक प्रणालीलाई असन्तुलित पार्दै आएको छ।
यसरी धेरै संख्यामा फैलिएको लो माछाले स्थानीय माछालाई आक्रमण गर्ने, टोकिदिने, उनीहरूको आहारा सबै खाइदिने गरेपछि रैथाने माछाहरूको विस्थापन सुरू हुन्छ।
‘नेपालका वामपन्थीहरूले कुनैबेला साम्राज्यवादी शक्ति भनेर कुनै अमूक देशलाई आरोप लगाउँथे,' जीवशास्त्री अधिकारी थप्छन् ‘नेपालका खोलामा पसेको यो माछालाई पनि साम्राज्यवादी भन्न सकिन्छ। यसले स्थानीय माछाको स्थानीय प्रणाली ध्वस्त पारिदिन्छ।’
अध्येताहरूका अनुसार पूर्वी नेपालमा यस्ता गैरदेशीय माछाहरू भेटिने क्रम धेरै भइसकेको छ। यो स्थानीय माछाका लागि चुनौतीको विषय हो।
‘चलनचल्तीको नाम टिलापिया भएको ओरेक्रोमिस निलोटिकस नामक माछा यसअघि नै नेपालमा प्रवेश गरिसकेको छ,' अनुसन्धाता लिम्बूले भने ‘त्यस्तै झापाको दमक क्षेत्रमा पनि हामीले नयाँ माछा फेला पारेका छौं, त्यसबारे अध्ययन जारी छ। यसरी हेर्दा गैरदेशीय माछाहरूको आगमन तीव्र भइरहेको छ। यो रैथाने माछाका लागि मात्रै होइन, इकोसिस्टम र मान्छेका लागि पनि चुनौतीको विषय हो।’
उनीहरूको लेखमै पछिल्लोपटक भेटिएको ‘माछालाई ‘अति मिचाहा’ प्रजातिको भन्ने उल्लेख छ।