स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले अस्पतालका सञ्चालकहरू बजेटका लागि फाइल बोकेर अर्थ मन्त्रालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने दाबी गरेका छन्।
शुक्रबार बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अनुगमन गर्दै मन्त्री यादवले स्वास्थ्य संस्थाका लागि आवश्यक पर्ने बजेटका लागि लड्ने काम स्वास्थ्य मन्त्रीको भएको बताए।
'तपाईंहरू काम गर्नू, हिम्मत नहार्नू। सेवामा राजनीति नगर्नू। राम्रो कामका लागि म सधैं तपाईंको साथमा खडा हुनेछु,' उनले भने, 'बजेटको लडाइँ मैले लड्ने हो। मलाई भन्नुस्। लडाइँ म लड्छु। अर्थमा फाइल बोकेर दौडिने म हो। तपाईंहरू काम गर्नुस्। बिरामीको सेवा गर्नुस्।'
मन्त्री यादव समक्ष अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले बजेट अभावमा भइरहेको समस्याको विवरण प्रस्तुत गरेका थिए।
उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरणहरू बिग्रिएको, कतिपय उपकरण सञ्चालन गर्न जनशक्ति नभएको, नयाँ उपकरण खरिद गर्न बजेट नभएको लगायतका समस्या उनले सुनाएका थिए।
'अर्थ मन्त्रालयले नियमित दिँदै आएको बजेट पनि रोकेको छ। सुर्तीजन्य पदार्थबाट लिइने करबाट क्यान्सर अस्पतालले पाउनुपर्ने स्वास्थ्य कर कोषको बजेट पाउनसमेत समस्या भइरहेको छ,' पौडेलले भने, 'सन् २०२२ मा आएका नयाँ आएका उपकरणहरू यथास्थितिमै छन्। सन् २००२ मा राखिएका तीनवटा रेडियो थेरापीको मेसिन अहिले दुईवटा मात्रै चलेका छन्। दुईवटामा उपचार गर्नुपर्दा बिरामीको लाइन बढ्छ। मेसिनको क्षमता १३० जनाको उपचार गर्ने छ। तर बिहान ७ बजेदेखि नसुतेसम्म २०० जनाको उपचार गर्छौं।'
उनले रेडियोलोजी विभागमा सिटी स्क्यान मेसिन बिग्रिएर पनि समस्या भएको बताए।
समस्या सुनेपछि मन्त्री यादवले सबै समस्या समाधान गर्न प्रयास गर्ने बताए।
'मेरो प्रधानमन्त्रीसँग गम्भीर छलफल भएको छ। अर्थबाट अरू केही चाहिँदैन तर सुर्तीजन्य पदार्थबाट उठेको करमा स्वास्थ्य मन्त्रालयको हक हुन्छ। खास गरेर क्यान्सर अस्पतालको हक हो। भरतपुर क्यान्सर अस्पताललाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्छ भनेको छु। उहाँ पनि यो कुरामा सहमत हुनुहन्छ,' मन्त्री यादवले भने, 'म विश्वास दिलाउन चाहन्छु, यो लडाइँ म जित्छु। मलाई लड्न पनि आउँछ, अड्न पनि आउँछ। आवश्यक बजेट विनियोजन गर्न म तयार छु।'
उनले क्यान्सर अस्पताललाई एक हजार शय्याको बनाउने लक्ष्यमा मन्त्रालयले सहयोग गर्ने पनि बताए। स्वास्थ्य संस्थाहरूको समस्या बुझ्न हिमाल, पहाड, तराई सबैतिर पुग्ने भन्दै उनले समस्या बुझेर समाधानको प्रयास गर्ने बताए।
'२५ वर्षअघि तय गरेको जनशक्तिले अहिले पनि धेरै सरकारी अस्पताल चलेको छ। बिरामी दिनहुँ बढेका छन्, शय्या बढाउनुपर्ने बाध्यता छ। तर जनशक्ति बढाउन नसके बिरामीलाई कसले हेर्ने?,' उनले भने, 'धेरै क्रान्तिकारी कुरा गरेर सम्भव छैन। जस्तो सुकै नेताले फूर्ति लगाए पनि अहिले धेरै गर्न सम्भव छैन। पैसा छैन। सरकारको बजेटले सकेजति म गर्छु।'
उनले आफू मन्त्री भएपछि आमा सुरक्षा कार्यक्रममा बजेट थप गर्न लगाएको, महिलाहरूको स्तन क्यान्सरको स्क्रिनिङ गर्न नयाँ बजेट, पाठेघरको क्यान्सरको स्क्रिनिङका लागि बजेट थप्न लगाएको बताए।
त्यस्तै महत्त्वपूर्ण राजमार्गहरूमा ट्रमा सेन्टर निर्माण गर्ने नीति भए पनि तत्काल सीमित बजेटका कारण सम्भव नभएको उनले बताए।
'दिमागमा आएको सबै कुरा बजेटमा पार्न सकिनँ। सरकार स्थिर छैन। एउटै मन्त्री वर्षौं हुँदा काम गर्ने अवसर हुन्छ। तर यहाँ त राति सुत्दाको मन्त्री बिहान उठ्दा रहन्छ कि रहँदैन भन्ने थाहा हुँदैन,' यादवले भने, 'तैपनि जति दिन रहन्छु, मनबाट काम गर्छु।'
चितवन क्षेत्र नम्बर १ का सांसद हरि ढकालले गुणस्तरीय र सर्वसुलभ उपचार सेवा उपलब्ध गराउन र सेवाग्राहीको पहुँच विस्तार गर्न अस्पतालमा राजनीति गर्न नहुने बताए।