'भगवान अझै के-के देखाउनुहुन्छ?,' लक्ष्मी सुनार आफैले आफैलाई दिनहुँ यही प्रश्न गर्छिन्।
विडम्बना उनले यसको उत्तर आजसम्म पाएकी छैनन्।
दुई/तीन वर्षको फरकमा परिवारका सदस्यलाई पालै-पालो गुमाउनुपर्दा उनको हृदयमा गहिरो खाडल परेको छ।
त्यतिमात्र कहाँ हो र! ७ महिनाअघि घामपानीमा ओतलाग्ने घर पनि भूकम्पले ध्वस्त बनाइदियो।
कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्र गरी ५.७ म्याग्रेच्युडको भूकम्प गएको थियो। जसमा १७५ जनाको मृत्यु भएको थियो भने ३७५ जना घाइते भएका थिए। घाइते हुनेमा लक्ष्मी पनि एक हुन्।
उनको टाउकोमा चोट लागेको छ।
चोट निको पार्न उनी वैशाख २३ गते जेठो छोरा रामबहादुर सुनारको साथमा काठमाडौं आइपुगेकी थिइन्। काठमाडौं मेडिकल कलेज (केएमसी) ले अपरेसनका लागि ६ लाख रुपैयाँ लाग्ने भनेको उनी बताउँछिन्।
'काठमाडौं आउने भाडा त सरसापट मागेर आको थिएँ,' उनले भनिन्, 'उपचारका लागि ६ लाख रुपैयाँ कसरी जुटाउनू?'
उनले थपिन्- 'मनको व्यथाले पोलिरहेको थियो, शरीरको पीडा पनि थपियो।'
लक्ष्मी एक साधारण महिला हुन्। तर उनले जिन्दगीमा जति दर्दनाक पीडा भोगेकी छन्, त्यो असाधारण छ।
आज हामीले तीनै एक साधारण महिलाले भोगेका असाधारण पीडाहरूको बारेमा कुरा गर्नेछौं।
लक्ष्मी जाजरकोट भेरी नगरपालिका-११ की हुन्। १२ दिनदेखि उपचारका लागि काठमाडौंमा छिन्। त्यही क्रममा सोमबार बिहान उनले सेतोपाटीसँग कुरा गरेकी छन्।
भेरी नगरपालिका वडा नम्बर ३ मा २०३९ मा जन्मेकी उनको १३ वर्षको उमेरमा वडा नम्बर ११ का लक्ष्य सुनार (गोपाल) सँग विवाह भएको थियो। लक्ष्य भने २०२५ सालमा जन्मिएका थिए।
आर्थिक अवस्था न्यून भएकाले लक्ष्य पहिलादेखि मेहनत गर्थे। आफूले सक्ने कामहरू गरिरहेका हुन्थे। उनकै कमाइले घरपरिवार चलेको थियो।
विवाह भएको तीन/चार वर्षमै सन्तान जन्मिएका थिए। उनले काठमाडौंमा आएर मिस्त्री काम सिकेर फर्किएपछि गाउँमा त्यही उद्यम गर्न थालेका थिए।
तीन सन्तानको सहित पाँच जनाको परिवार उनकै कमाइएको भरमा थियो। गाउँमा मिस्त्री भनेर चिनिँदै जाँदा उनीहरूको गुजारा सजिलो बन्दै गयो।
आठ वर्षसम्म एउटा खुसी परिवार थियो। तर त्यो लामो समय टिकेन।
२०७३ फागुन २५ गते श्रीमानसँगै माइती गएकी थिइन्। हिँडेर दुई/तीन घन्टा लाग्छ माइती पुग्न। बसमा गए पौने घन्टामा पुगिन्छ।
'माइतीमा कूलपूजा भएकाले परिवार नै गएका थियौं,' उनले भनिन्, 'भोलिपल्ट बिहानै गाईवस्तुको धन्दा गर्नुपर्ने भएकाले म एक्लै फर्किएँ, श्रीमान छोराछोरी आरामले आउने भनेर बसेका थिएँ।'
कान्छो छोरा दोस्रो दिन पनि मामाघरमा बस्ने भनेर बुबा र बहिनीसँग आएनछन्। कान्छी छोरी र श्रीमान बस चढेर आउँदै गरेको फोनमा जानकारी गराएका थिए।
उनी दिनभर वस्तु चराएर फर्किएकी थिइन्। दिनभरको गर्मी छल्न आँगनको डिलमा बसिरहेकी थिइन्। उनको घर अगाडिको बाटो हुँदै गाडी पल्टियो भन्दै हस्याङफस्याङ गरेर मानिसहरू दौडिन थाले।
उनले पनि कहाँको बस पल्टिएको भनेर दौडिनेसँग सोधपुछ गरिन्। सुरूमा रूकुमतिरको बस भन्ने सुनिन्। पछि बस रूकुमको नभएर जाजरकोटको सदरमुकामबाट आएको भन्ने थाहा भयो।
त्यसपछि उनले श्रीमान र छोरी घर आउन लागेको सोचेर घटनास्थलतर्फ दौडिइन्। घटनास्थल पुग्न उनको घरबाट आधा घन्टा लाग्थ्यो।
'श्रीमान र छोरी त्यही बसमा थिए भन्ने डरले आत्तिएर आधा घन्टाको बाटो कसरी पार गरेँ आफैलाई थाहा छैन,' उनले भनिन्, 'त्यहाँ पुग्दा तपाईंको छोरीलाई उपचारका लागि जिल्ला पठाइएको भन्नेमात्र सुनेँ त्यसपश्चात केही याद छैन।'
फागुन २६ गते जाजरकोटको सदरमुकाम खलंगाबाट खाराका लागि छुटेको ना ३ ख २२७९ नम्बरको यात्रुबाहक बस छिन्चु–जाजरकोट सडक अन्तर्गत बोहरा गाउँनजिकै दुर्घटनामा परेको थियो।
उक्त दुर्घटनामा २६ जनाको मृत्यु र ३६ जना घाइते भएका थिए। मृत्यु हुनेका उनका श्रीमान लक्ष्य सुनार (गोपाल) पनि थिए। घाइते हुनेमा पाँच वर्षकी छोरी पनि थिइन्।
उनी घटनास्थलमा पुग्नसाथ छोरीलाई जाजरकोट अस्पतालमा पठाइएको भन्नेकुरा सुनिन्। उनी अन्य घाइतेहरूसँग अस्पताल पुगिन्। उनको छोरीको घुँडाभन्दा मुनिको हड्डीमात्र देखिन्। त्यसपश्चात आफू बेहोस भएको उनले सुनाइन्।
त्यतिबेलासम्म उनलाई श्रीमानको याद नै भएन।
तीन/चार घन्टापछि श्रीमान घटनास्थलमै बितेको थाहा पाइन्। उनको शव अन्तिममा निकालेका थिए। उद्धार टोलीले घाइते भएका व्यक्तिलाई पहिला र मृत्यु भएकालाई अन्तिममा भीरबाट निकालेको उनले बताइन्।
दोस्रो दिन उनको छोरीलाई जाजरकोटबाट सुर्खेत हुँदै उपचारका लागि काठमाडौं ल्याइएको थियो। उनी भने साथमा आउन पाइनन्। उनका आफन्त आएका थिए।
उनी घरमै बसेर फागुन २७ श्रीमानको अन्त्येष्टि गरिन्। त्यतिबेला उनको साथमा कान्छो छोरा लोकेन्द्र मात्र थिए। जेठो छोरा रामबहादुर महिना दिनअघि मलेसिया गएका थिए।
उनको घरको मूलखम्बा ढल्यो।
घरव्यवहार लक्ष्मीको थाप्लोमा पर्यो। श्रीमानकै भरमा गुजरा चलाएकी लक्ष्मीलाई दुई छाक टार्न पनि मुस्किल भयो।
मलेसिया पुगेका जेठो छोरा पनि काम नपाएर बिजोक अवस्थामा थियो। त्यसैले घर व्यवहार चलाउन धौ-धौ परेको उनले दु:ख पोखिन्।
छोरीको उपचारका लागि विभिन्न निकायले साथ दिएर उपचार भयो। तर घर व्यवहार चलाउन सकिनन्। लोकेन्द्रको पढाइ पनि छुट्यो।
लोकेन्द्र कक्षा ९ मा पढ्थे भने छोरी भर्खर स्कुल आउजाउ गर्न थालेकी थिइन्। उनको पनि उपचारका लागि काठमाडौं धाइरहनुपर्दा दुवै जनाको पढाइ छुटेको उनले बताइन्।
'घर व्यवहार चलाउनै मुस्किल थियो, कापी किताब किन्न नसकेर दुवै जनालाई विद्यालय पठाउन सकिनँ,' उनले भनिन्।
गाउँघरमा दिनभर काम गरे तीनसय रूपैयाँ ज्याला पाइन्थ्यो। सधैं काम नपाउने भएपछि बिहान बेलुका हातमुख जोड्न उनलाई कठिन हुन्थ्यो।
एक डेढ वर्ष उनले दु:ख-सुख गरेर नै छोराछोरीलाई हुर्काइन्।
लोकेन्द्रको उमेर बढ्दै जाँदा गाउँमा बसे बिग्रेला, गलत साथीसंगतमा पर्ला भनेर उनले सुर्खेतस्थित आफन्तको पसलमा काम सिक्न पठाइन्।
लोकेन्द्रले पनि आमाको चाहनालाई पूरा गर्न कुनै कसर बाँकी छोडेनन्। एक दुई वर्षमै सुनचाँदीको काम सिके।
उनले आफूले काम सिकिरहँदा पटक-पटक लक्ष्मीलाई फोन गरेर भन्थे- 'आमा मैले सब काम सिकिसकेँ, बहिनी पढाउँछु, तपाईंलाई पाल्नसक्छु।'
लोकेन्द्रले आफ्नो अधुरो पढाइ पनि बहिनीले पूरा गराउँछिन् भन्ने सपना बुनेका थिए। लोकेन्द्रले दुई/चार पैसा कमाउन थाल्दा लक्ष्मीलाई विस्तारै सहज हुँदै गएको थियो।
श्रीमानको वियोगबाट तङ्ग्रिँदै थिइन्। फेरि अर्को बज्रपातको सामना गर्नुपर्यो।
२०७७ जेठ १० गते अन्तरजातीय प्रेमका कारण सोतीका गाउँहरूको कुटाइबाट जाजरकोटका नवराज विकसहित छ युवाको ज्यान गयो। जसमा लोकेन्द्र पनि थिए।
कोरोनाका कारणले पसल बन्द भएपछि लोकेन्द्र चैतदेखि घरमै थिए। लक्ष्मी भने त्यो दिन बिहान सँगसँगै खाना खाएर मान्छे मरेको ठाउँमा मानो पुर्याउन हिँडिन्।
लोकेन्द्रलाई बहिनी हेर्ने जिम्मा दिएकी थिइन्। लोकेन्द्र बहिनीलाई काकाहरूको जिम्मा लगाइदिएर नवराजको साथमा गएको लक्ष्मी बताउँछिन्।
नवराज लक्ष्मीको दिदीको छोरा हो।
'उनीहरू बीच के कुरा भयो। लोकेन्द्र पनि सँगै गएछ,' उनले भनिन्, 'दिउँसो फर्किंदा छोरा खेल्न कतै गएको होला भन्ने लाग्यो।'
उनले थपिन्- 'साँझ उर्मिला दिदीले फोन गरेर नवराजलाई मारेर फाले भन्दा पनि छोरा उहीसँग गएको छ भन्ने थाहा भएन।'
उनले सुरूमा नवराजलाई मारेको कुरा पनि पत्याउनै सकिनन्।
‘अलिअलि पिटपाट पारेर बेहोस भएको होला भन्ने सोचेर दिदीलाई पनि गाउँमा कहाँ त्यस्तो गर्न सक्छन् भनेर उल्टै सम्झाएँ। भिनाजुले भनेपछि बल्ल विश्वास गरेँ,' उनले भनिन्, 'लोकेन्द्र पनि नवराजसँगै गएको छ भनेर पछि थाहा भयो। नवराजलाई मारिदिएको खबरले कतै लुकेर बसेको छ भन्ने लागेको थिएँ।'
उनी भनिन्-' चार दिनसम्म नभेटिँदा जीवित छ कि भन्ने आस थियो। तर मेरो छोरालाई पनि मारिदिएका रहेछन्।'
लोकेन्द्रको लास जेठ १४ गते भेटिएको हो। लोकेन्द्रको शरीरभरि चोटैचोट थियो भने डोरीले बाँधिएको थियो। त्यसरी काट्दा कति दुख्यो भनेर रोयो होला भनेर उनी धरधरी रोइन्।
कहिलेकाहीँ घाँस काट्दा हँसियाले हातखुट्टा काट्यो भने त हामीलाई कतिधेरै पीडा हुन्छ। छोराको शरीर छियाछिया बनाउँदा कस्तो भयो होला भनेर मन दुखिरहने उनले सुनाइन्।
१० गते घटेको घटनामा २० गतेसम्म छ जनाको लास फेला परेको थियो। उनीहरू नवराजकी प्रेमिकालाई लिन गाउँ गएको र दलित भएकैले मारिएको भनेर देशव्यापी रूपमा आवाज उठ्यो।
उनीहरूलाई मारिएको तीन वर्षपछि अर्थात् गत मंसिर १९ गते अन्तरजातीय प्रेम सम्बन्धको विषयलाई लिएर हत्या गरिएको ठहर गर्दै जिल्ला अदालत रूकुमले २४ जनालाई जन्मकैदको सजाय सुनायो।
जिल्लाले सुनाएको सजायले लक्ष्मी सुनार लगायत छ जनाको परिवारलाई केही राहत मिल्यो। केही हदसम्म चित्त बुझाउने बाटो लक्ष्मीले पाइन्।
अचेल पीडकका परिवारले पुनरावेदन दिने तयारी गरिरहेका छन् भन्ने गाउँमा हल्ला छ। त्यस्तो हुँदा छोराका हत्यारा छुट्ने हुन् कि भन्ने डर उनलाई लागिरहेको छ। आफ्ना छोरा मार्ने व्यक्तिलाई आजीवन जेल सजाय होस् भन्ने चाहना लक्ष्मीको छ।
छोराको मृत्युको पीडा कम हुन नपाउँदै उनको जीन्दगी भूकम्पले घामपानीमा ओत लाग्ने घर पनि ध्वस्त बनाइदियो।
उनका अनुसार ऐलानी जग्गामा बनाएको दुई तले ढुंगा माटोको घर पनि भत्काइदियो। त्यही बेला उनी घाइते भइन्।
'खाना खाएर सुतेको थिएँ, थरररर कामेको मात्र थाहा भयो,' उनले भनिन्, 'त्यसपछि केही पनि याद नै छैन। दुई/तीन घन्टा बेहोस नै भएँ।'
भूकम्पले घर भत्काइदिएपछि अरूको टहरामा भाडा तिरेर बस्ने गर्छिन्। तत्कालीन समयमा उनलाई उपचारका लागि प्रदेश अस्पताल पुर्याइयो। एक साता उपचार गरेपछि उनी डिस्चार्ज भइन्। तर उनको दुखाइ कम भएन।
अन्य चोटपटक कम हुँदै गए पनि टाउको दुखाइ बढ्दै गयो। त्यसमा स्थानीय तहले वास्ता नगरेको उनी बताउँछिन्।
जाजरकोटमा टाउको जाँच र उपचार हुने ठूलो अस्पताल नभएपछि काठमाडौंमा रोग पत्ता लगाउने र निको हुने आसमा काठमाडौं आइन्।
चिनेजानेकाहरूले काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल जानु भनेको भनेर त्यही गएको उनी बताउँछिन्।
आफन्तको सहयोगमा उनले केएमसी अस्पतालमा सिटिस्क्यान र एमआरआई गरिन्। त्यसपश्चात टाउकाको दायाँ भागमा रगत जमेको रिपोर्ट आएको छ। चिकित्सकहरूको सल्लाह अनुसार अपरेसन गर्नुपर्छ भनेको उनको भनाइ छ।
'समयमा उपचार गर्न पाए निको हुन्छ भन्नुभएको छ,' उनले निरास हुँदै भनिन्, 'एक रूपैयाँ जोहो गर्न सकेकी छैन, कसरी उपचार होला?'
उपचारका लागि सहयोग माग्दै स्थानीय तह, प्रदेश र संघीय सरकार गइन्। जहाँ पुगे पनि कसैले वास्ता नगरेको उनको दुखेसो छ।
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी