गत वर्ष अविरल वर्षाका कारण साउन २३ गते पहिरो खस्दा भीमदत्त राजमार्गमा क्षति पुग्यो। कैलालीको गोदावरी नगरपालिका–५ खानीडाँडा र बुढीतोला क्षेत्रमा गरी ५७० मिटर सडक भासियो। माथिबाट पहिरो खस्यो। त्यो निकै ठूलो क्षति थियो। करिब एक साता यातायात अवरूद्ध भयो।
भीमदत्त राजमार्ग सुदूरपश्चिमका सातवटा पहाडी जिल्ला आपसमा जोड्ने प्रमुख सडक हो। यो सडक एक साता अवरुद्ध हुँदा यहाँको जनजीवनमा निकै ठूलो असर पर्यो। उपभोगका कतिपय वस्तुको अभाव भयो।
प्रदेशका मुख्यमन्त्री, संघीय सरकारमा मन्त्री र केही राजनीतिक दलका उच्च नेताहरूले क्षतिको अवलोकन गरे।
अवलोकनमा आउने सबैले क्षतिग्रस्त खण्डको मर्मत छिटो गर्न पहल गर्ने आश्वासन दिए। भासिएको खण्ड केही सुरक्षित बनाएर यातायात चालु त भयो तर पूर्णरूपमा मर्मत भएको छैन।
फेरि मनसुन सुरू भएको छ। क्षति भएको एक वर्ष हुँदा यातायातका साधन चल्ने त भएको छ मर्मतको काम अधुरै छ। फेरि पनि सडकमा क्षति हुने र यातायात अवरूद्ध हुने जोखिम उत्तिकै छ।
सडक डिभिजन कार्यालय, महेन्द्रनगरका अनुसार मर्मत कार्य चालु रहेको सडक खण्डमा थप क्षति हुन नदिने र जोखिम न्यूनीकरण गर्ने योजनाअनुसार काम भइरहेको छ।
कार्यालयका इन्जिनियर तारानाथ सिग्देलले गत वर्ष सडक भासिएपछि पहिलो जरुरी कामका रूपमा एकर्फी यातायात चलाइएको र एक महिनामा दुबैतर्फ चल्ने बनाइएको बताए।
ठूलो पहिरो खसेकाले त्यसको अध्ययन गरिएको पनि उनले बताए।
‘सडकको भिरालोपन स्थिर राख्न र थप भत्किन नदिन अपनाउनुपर्ने प्रविधिबारे परामर्श सेवामार्फत अध्ययन गर्ने काम भयो,’ उनले भने, ‘जियोलोजिकल र जियोटेक्निकल इन्भेस्टिगेसनको टोलीबाट माटो र चट्टानको परीक्षण भयो। कुन प्रकारको चट्टान कुन तहसम्म छ, पानी कुन तहमा छ भन्ने अध्ययन गर्ने काम भयो। यो अध्ययनमै तीन महिना लाग्यो।’
अध्ययनको निष्कर्ष र सुझाव अनुसार पहिलो चरणको मर्मतका लागि गत वैशाख २७ गते ‘जिएसआई हटैराज जेबी कम्पनीसँग’ ६ करोड ४७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ।
सिग्देलका अनुसार पहिलो चरणको काम अन्तर्गत सडक काटेर फराकिलो बनाउने र पर्खालको यान्त्रिक स्थिरीकरण गर्ने काम गरिनेछ। काम हुँदै छ तर मनसुन सुरू भएकाले पर्खालको यान्त्रिक स्थिरीकरणको काम स्थगन गरिएको छ।
हाल सडक काट्ने र भूमिगत पानी व्यवस्थापन गर्न पाँच वटा इनार बनाउने काम चलिरहेको छ।
पहिलो चरणको काम पूरा गर्न निर्माण कम्पनीले आठ महिनाको म्याद पाएको छ।
गत वर्ष जमिनमुनिको पानीका कारणले ठूलो पहिरो गएको र सडक भासिएको सिग्देलको भनाइ छ। जमिनमुनिको पानी व्यवस्थापन गर्न सकियो भने पहिरो नियन्त्रण हुने विश्वास छ।
पहिरो नियन्त्रणका लागि इनारबाट पानी संकलन गरेर फ्याक्ने प्रविधि अपनाइएको हो। पाँच वटा इनारमध्ये असारभरिमा दुई वटा तयार हुने जनाइएको छ।
सिग्देल भन्छन्, ‘असारभरिमा दुई वटा इनार बनाउन र सडक कटिङ पूरा गर्न सक्यौं भने जोखिम नहुने हाम्रो अनुमान छ। इनार बनाउन सक्दा धेरै हदसम्म जोखिम टर्छ।’
उनका अनुसार सडक काट्ने र फराकिलो बनाउने काम भइरहेको छ। सडक पूरै भासिएको ठाउँमा पर्खालको उचाइ १० मिटरसम्म छ। तुरून्तै ठूलो वर्षा भयो भने समस्या हुन सक्छ। साधारण वर्षाले ठूलो समस्या हुँदैन। वर्षाको अवस्था हेरेर मर्मतको काम हुनेछ।
अहिले साइट (कार्यक्षेत्र) मा ७० प्रतिशत सामान पुगिसकेको र पहिलो चरणको कामको १० प्रतिशत पूरा भएको सिग्देलले बताए।
उनका अनुसार मर्मतको काममा अहिलेसम्म खासै चुनौती छैन। अहिलेसम्म बजेट अभाव भएको छैन। अर्को आर्थिक वर्षका लागि के व्यवस्था हुँदैछ भन्ने जानकारी हुन बाँकी छ।
गत वर्ष क्षति भएको सडक दुईतर्फी चालु गरेपछि भौगर्भिक अध्ययन, लागतको प्राविधिक मूल्यांकन र ठेक्का प्रक्रियामा बढी समय लागेको बताइएको छ।