सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालयहरूमा सेवाग्राहीको भीड लागेको छ।
सामाजिक सुरक्षा भत्ता लिइरहेका ज्येष्ठ नागरिकहरूको भिड लागेको हो।
गत मंगलबार जिल्ला प्रशासन कार्यालय, कैलालीको राष्ट्रिय परिचयपत्र फाँटमा ज्येष्ठ नागरिकहरू लामो लाइनमा उभिएका थिए।
उखरमाउलो गर्मीमा लाइनमा उभिनुपर्दा उनीहरू हैरान देखिन्थे। सरकारी भत्ताले गुजारा गर्नेहरू गर्मी र थकान सहेरै लौराको सहारामा लाइनमा उभिएका दखिन्थे।
धनगढी उपमहानगरपालिका–३, विशालनगरका ८५ वर्षीय हरिभाण लुहार लाइनमा भेटिए। केही महिनायता उनको गोडा राम्ररी नचल्ने समस्या भएको छ। उसै पनि वयोवृद्ध शरीर कमजोर छ, गोडाले साथ नदिँदा उभिनै मुस्किल छ। उनी लौराको सहारामा लाइनमा उभिएका थिए।
उनले सरकारबाट भत्ता पाउन राष्ट्रिय परिचयपत्र हुनुपर्छ, नहुनेले पाउँदैनन् भन्ने सूचना रेडिओमा सुने। टोलका बासिन्दाहरूलाई सोधे। उनीहरूले पनि रेडिओमा त्यस्तै सुनेको बताए।
राष्ट्रिय परिचयपत्र चाहिने नै रहेछ भन्ने पक्का भएपछि उनी मंगलबार बिहानै वडा कार्यालय पुगे। त्यहाँका कर्मचारीले जिल्ला प्रशासन कार्यालय जानू भने।
वयोवृद्ध हरिभाण एउटा अटोरिक्सा लिएर जिल्ला प्रशासन कार्यालय, कैलाली पुगे। उनका साथमा कोही थिएन, एक्लै थिए। कोही एक जनालाई राष्ट्रिय परिचयपत्र बनाउन के गर्नुपर्छ भनेर सोधे।
लाइनमा उभिएका एक जनाले फारम भर्नुपर्छ भनेर ठाउँ देखाइदिए। आफै फारम भर्न नसक्ने उनलाई कोही व्यक्तिले सहयोग गरे। हातमा फारम बोकेर लाइनमा उभिए। आफ्नो पालोको प्रतीक्षामा उभिएका धेरैमध्ये उनी पनि एक थिए।
सेतोपाटीको जिज्ञासामा हरिभाणले भने, ‘पहिला नागरिकताले भत्ता पाइन्थ्यो। अहिले अर्को (राष्ट्रिय) परिचयपत्र नबनाए भत्ता पाइँदैन भन्ने कुरा सुनें, त्यही भएर आएको।’
उनलाई अर्को परिचयपत्र बनाउनु परेकोमा होइन, लाइनमा उभिनु परेकोमा दुःख लागेको रहेछ।
‘हामी जनता त जहाँ पनि लाइन लाग्नुपर्ने, बिमार भएर अस्पतालमा जाँदा पनि लाइन, यहाँ पनि लाइन! यस्ता बुढापाकालाई बस्ने ठाउँ मिलाइदिएको भए राम्रो हुन्थ्यो,’ उनले भने, ‘हामीले भनेको जसो कहाँ हुन्थ्यो र! यस्तो गर्मीमा उभिनु परेको छ।’
उनी सामाजिक सुरक्षा भत्ताको पैसाले आफ्नो खर्च चलाउँछन्। यतायता आउजाउ गर्न, उपचार गर्न र लुगाफाटो किन्न पनि त्यही पैसा चलाउँछन्।
‘जिन्दगी जान लाग्यो। यही भत्ताले खर्च चलेको छ। बाँच्न सजिलो भएको छ,’ उनले भने, ‘राजाका पालामा यस्तो भत्ता थिएन। भत्ताले राम्रो भएको छ तर अर्को परिचयपत्र चाहियो भनेर दुःख दिए।’
हरिभाण काम गर्ने उमेरमा धेरै वर्ष भारत बसे। उतै काम गरेर थोरैतिनो कमाइ गरे। हाल छोरासँग आफ्नै गाउँमा बस्छन्। छोराहरू मजदुरी गर्छन्।
उनका अनुसार छोराहरूलाई उनीहरूकै गुजारा चलाउन हम्मेहम्मे छ। उनलाई भत्ताले ठूलो भरथेग गरेको छ। उनको सबै खर्च भत्ताकै पैसाले चल्छ।
‘भत्ता नपाए त मेरो बिजोक हुन्छ। जति दुःख भए पनि (राष्ट्रिय) परिचयपत्र बनाउनै परेको छ,’ उनी भन्छन्, ‘दुःख भयो भनेर भएन, सरकारले भनेपछि गर्नुपर्यो।’
हरिभाणसँगै लाइनमा उभिएका थिए धनगढी उपमहानगरपालिका–१२, जुगेडा सी गाउँका ८४ वर्षीय जयबहादुर विक।
लाइनमा बसेको दुई घण्टा भएको थियो, निकै हैरान देखिन्थे। टाउकाको पुछ्दै लौराका सहारामा उभिएका थिए। पालो आउन अझै कति बेर लाग्छ भन्ने पत्तो थिएन।
‘परिचयपत्र नबनाई हुँदैन भनेपछि दौडेर आइहालेँ,’ उनले हैरानी प्रकट गरे, ‘यो घाममा बुढो मान्छेलाई बडो कठिन भयो। लाइन नलागी हुँदैन भन्छन्।’
जयबहादुरका छोराबुहारी भारतको बैंगलुरूमा छन्। घरमा उनका साथमा नातिनातिना छन्। उनीहरू क्याम्पसमा पढ्छन्।
‘घरबाट अटो (रिक्सा) चढेर यहाँ (जिल्ला प्रशासन कार्यालय) आइपुगें। सय रुपैयाँ भाडा लाग्यो,’ उनले भने, ‘दुई घण्टा भइसक्यो लाइनमा उभिएको, तिर्खा लागेर छटपटी भइसक्यो।’
लाइन छाडेर पानी खोज्न हिँडे पालो मिचिएला भन्ने डरमा थिए।
सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिकहरू यसै गरी आआफ्ना जिल्ला प्रशासन कार्यालयमा लाइन लाग्ने गरेका छन्।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले २८ वटा जिल्लामा आगामी साउनदेखिका लागि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ।
फारम भरेर बुझाए पनि अहिले राष्ट्रिय परिचयपत्र उपलब्ध हुँदैन, त्यसको नम्बर मात्र प्राप्त हुन्छ।
सवारी साधनको सुविधा नभएका पहाडी बासिन्दा ज्येष्ठ नागरिकहरू घण्टौं हिँडेर प्रशासन कार्यालय पुग्नुपरेको छ। सवारी साधनको सुविधा भएका तराईका जिल्लामा गर्मीले खपिनसक्नु हैरान पारेको छ।