जिल्लाको नरहरिनाथ गाउँपालिकाको वडा नं १ कोटवाडा र वडा नं ६, ७, ८ र ९ लालु, माल्कोट जोड्ने रहगाड खोलाको झोलुंगे पुल नबन्दा स्थानीयलाई सास्ती भएको छ।
झोलुंगे पुल बनाउन स्थानीय सरकारले चासो नदिँदा आवागमनमा समस्या भएको हो। विसं २०७८ को बाढीले झोलुंगे पुल बगाएपछि कुनै निकायले पुल बनाउने चासो नदिँदा समस्या भएको नरहरिनाथ गाउँपालिका–१ का पूर्वजिल्ला विकास समितिका सदस्य कटकबहादुर विष्टले बताए।
‘झोलुंगे पुल बनाउनका लागि प्रत्येक वर्ष बजेट आएको सुन्छु,’ उनले भने ‘पुल भत्किएको लामो समयमा कुनै निकायले चासो नदिँदा अहिले लालु, माल्कोट र कोटवाडा गाउँको आवातजावतमा समस्या भएको छ।’
झोलुंगे पुल नहुँदा हिउँदमा खासै समस्या नभए पनि वर्षायाममा खोलाको पानीको बहाव बढ्ने र आवातजावतमा समस्या हुने गरेको नरहरिनाथ गाउँपालिका–८ का प्रकाश विष्टले बताए।