जब रत्ननगरका घरहरूमा जाँच गरियो त्यहाँका ड्रम, पानीका जार, बाल्टी, टायर, टिनका बट्टा, ट्यांकीहरूमा डेंगी फैलाउने लामखुट्टेका लार्भाहरू प्रशस्त भेटिएका थिए। फ्रिज पछाडि जमेको पानीमा, गमला राखिएको प्लेटमा पनि लामखुट्टेका लार्भाहरू हुर्किरहेका थिए।
बागमती प्रदेशको भेक्टर वर्न डिजिज कन्टोल रिसर्च सेन्टर हेटौंडाले गत वर्ष चितवनको रत्ननगर नगरपालिकाका ५४७ घरहरूमा सर्भेक्षण गर्दा १३३ वटा सामग्रीहरूमा लामखुट्टेका अण्डा, लार्भा भेटिएका थिए। सबैभन्दा बढी (४७ प्रतिशत) घर वरपर भेटिएका ड्रमहरूमा भेटिएका थिए। मान्छेले अनुमान नै नगर्ने गमलाको तल राखिने प्लेटहरू पनि लामखुट्टे फैलाउने माध्यम बनिरहेको उक्त सर्वेक्षणले देखाएको थियो।
रिसर्च सेन्टरले चितवन, मकवानपुर, काठमाडौं, ललितपुर र भक्तपुरमा यस्तो सर्भेक्षण गरेको थियो।
विगतमा तराईका सहरमामात्रै देखिएको डेंगी भाइरसको संक्रमण पछिल्ला वर्ष पहाडी क्षेत्रमा पनि फैलिएको छ। लामखुट्टेका अण्डा विभिन्न माध्यमबाट पहाड हुँदै हिमालसम्म पुगेर डेंगी फैलदै गएको हो।
डेंगी एडिस एजिप्टाई र एडिस अल्बोपिक्टस नामका लामखुट्टेको टोकाइबाट हुने संक्रमण हो। यी लामखुट्टेले सफा, जमेको पानीमा अण्डा पार्छन्। अण्डा पारेको २–३ दिनमा लार्भा बन्छन्, ४–५ दिनमा लार्भा प्युपा बन्छन्। प्युपा १–२ दिनमा लामखुट्टे बनिहाल्छन्।
प्रकृतिले बनाएका खाडलमा भन्दा मानव निर्मित भाँडाहरूमा यो लामखुट्टेको जीवनचक्र चल्छ। प्युपाबाट निस्किएको लामखुट्टेको आयु ३० देखि ४५ दिनको हुन्छ। उसले जीवनभरमा ८ सय वटासम्म अण्डा पार्नसक्छ। ती अण्डाहरू पानीबिना पनि महिनौंसम्म जीवित रहनसक्छन्। डेंगी संक्रमण गराउने लामखुट्टे करिब एक सय मिटरको परिधिमा रहन्छन्। त्यसैले निश्चित स्थानका धेरै व्यक्तिमा छिट्टै यसको संक्रमण फैलिन सक्छ।
डेंगी पहिलो पटक सन् १९५० मा फिलिपिन्स र थाइल्याण्डमा पहिचान भएको थियो। नेपालमा सन् २००४ मा पहिलो पटक चितवनमा देखिएको थियो। पहिलो पटक चितवनमा रहेका विदेशीमा देखिएको यो संक्रमण सन् २००६ मा चितवनमा फैलियो। अर्को साल यो अन्य जिल्लामा पनि देखिन थाल्यो। सन् २०१० मा त चितवन र रूपन्देहीमा डेंगीको महामारी नै फैलिएको थियो।
सन् २०१२ र २०१३ मा चितवनसहित पर्सा र झापा जिल्लामा पनि डेंगीको माहामारी फैलिएको थियो। सन् २०१६ मा डेंगीको संक्रमण फैलिएर ४६ जिल्लामा पुग्यो। गत वर्ष डेंगीको असर ७७ वटै जिल्लामा देखिएको थियो। उक्त वर्ष धरानमा सबैभन्दा बढी डेंगीको संक्रमण देखिएको थियो।
जिल्ला स्वास्थ्य कार्यालय चितवनकाअनुसार डेंगीको संक्रमण जाडो मौसममा पनि रोकिएको छैन। गर्मी महिनामा संक्रमण बढी देखिने गरेको छ। यस वर्ष गर्मीको समय सुरू भएसँगै चितवनमा डेंगीको संक्रमण फैलिन थालिसकेको छ। विगतमा सहरी क्षेत्रमा बढी संक्रमण देखिने गरेकोमा यस वर्ष पहाडी गाउँपालिका इच्छाकामनाबाट सुरू भएको छ। इच्छाकामनामा २४ घण्टामा ११ जना डेंगीका बिरामी पुष्टि भएको हो।
भरतपुर महानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख दीपक सुवेदीले चितवनमा केही वर्षको अन्तरालमा डेंगीको महामारी फैलिने गरेको बताए। यसलाई नियन्त्रणमा लिन सचेतना तथा लामखुट्टेका लार्भाहरू खोजेर नष्ट गर्ने अभियानहरू सञ्चालन गर्ने गरिएको उनले बताए।
‘चितवनमा सन् २०१० पछि निरन्तर डेंगीको प्रकोप देखिएको छ। वर्षमा ५ हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ। यसपालि पनि संक्रमण देखि थालिसक्यो। पहिले तराईमामात्रै देखिने डेंगी अहिले पहाडी क्षेत्रमा पनि फैलिन थाल्यो,’ सुवेदीले भने।
चितवनमा गत साउनदेखि यस वर्षको असार १५ सम्म १२ सय ६८ जनामा डेंगीको संक्रमण पुष्टि भएको थियो। पुष्टि हुनेमध्ये ५० प्रतिशत बढी भरतपुर महानगरपालिका थिए। इच्छाकामनामा ५४ जनामा डेंगीको संक्रमण देखिएको थियो।
सन् २०१० यता देशभरमा ४७९ जनाको डेंगी संक्रमणका कारण मृत्यु भएको छ।
भरतपुर महानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखा जनस्वास्थ्य अधिकृत केशव भट्टले बच्चा, ज्येष्ठ नागरिक र घातक रोग लागेका बिरामीलाई डेंगीको जोखिम बढी रहेको बताए। ‘डेंगीको संक्रमण फैलाउने लामखुट्टेले टोके पनि रोग प्रतिरोधात्मक क्षमता बलियो भएकालाई असर नगर्न सक्छ। कमजोर व्यक्तिहरूलाई यसको असर परिहाल्छ,’ भट्ट भन्छन्, ‘ठूला रोग लागेका बिरामीलाई अझै सजिलै असर पुर्याउँछ।’
लामखुट्टेले टोकेकामध्ये करिब ८० प्रतिशतलाई रोग प्रतिरोधात्मक क्षमताका कारण संक्रमण भएको थाहै नहुने अनुसन्धानले देखाएको भट्ट बताउँछन्। बाँकी २० प्रतिशतमध्ये आधालाई मात्रै डेंगीबाट धेरै खतरा देखिने गरेको उनले बताए।
जनस्वास्थ्य अधिकृत भट्ट लामखुट्टेको टोकाइबाट बच्ने, लार्भाहरू खोजेर नष्ट गर्ने, शरीरका सबै भाग छोपिने कपडा लगाएर हिँडडुल गर्ने, बच्चाहरूको ख्याल गर्ने, झुल टाँगेर सुत्ने उपाय लगाएर डेंगीबाट बच्न सकिने बताउँछन्।
‘अत्यधिक ज्वरो आउने, आँखाका गेडीहरू दुख्ने, मांसपेशी, हड्डीहरू दुख्ने, वाकवाकी लाग्ने, पेट दुख्ने जस्ता लक्ष्यणहरू डेंगीका हुन्छन्। यस्तो भएमा पेन किलर खाएर घरमै बस्नु थप घातक हुन्छ,’ भट्ट भन्छन्, ‘तुरून्त स्वास्थ्यकर्मीको सम्पर्कमा आएर उपचार गराउनुपर्छ।’
डेंगी रोगको विशेष उपचार भने छैन। यो संक्रमण हुँदा शरीरमा प्लेटलेटको मात्रा घट्ने हुनाले त्यसलाई बढाउनुपर्ने भट्टले बताए।
डेंगीको संक्रमण सन् २०२३ सम्म आइपुग्दा ८८ देशमा फैलिएको छ। एसियामा बंगलादेश, मलेसिया, थाइल्याण्ड र भियतनाममा बढी संक्रमण देखिने गरेको छ। नेपालमा सन् २००४ यता ८० हजार ७ सय भन्दा बढीमा डेंगीको संक्रमण पुष्टि भएको छ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयकाअनुसार २०८० सालको साउन १ गतेयता प्रदेशभरमा ११ हजार ८३८ जनामा डेंगीको संक्रमण देखिएकोमा ६ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ४ जनामा संक्रमण देखिएको छ। सबैभन्दा बढी संक्रमण धादिङमा देखिएको छ। त्यसपछि काठमाडौं, चितवन, ललितपुर, मकवानपुरमा संक्रमण पुष्टि भएको मन्त्रालयका सूचना अधिकारी डा.रविन भुषालले जानकारी दिए।