२५ वर्षीया सीमा (नाम परिवर्तन) वैवाहिक बलात्कारमा आफूले न्याय नपाएको भन्दै दुई/तीन महिनादेखि अदालत धाइरहेकी छन्।
प्युठानमा जन्मेकी सीमाको १७ वर्षकै उमेरमा दाङ तुलसीपुर उपमहानगरपालिकाका स्थानीय युवकसँग मागी विवाह भएको थियो। ८ वर्षअघि परिवारकै राजीखुसीमा सीमाको विवाह भएको हो।
उनीसरहकै साथीभाइ विद्यालय जाने उमेरमा उनले घरव्यवहार सम्हालन थालेकी थिइन्। तीन/चार वर्ष अघिसम्म उनले वैवाहिक जिन्दगी ठिकठाक चलाउन कोसिस गरेकी थिइन्।
उनीहरूको एक सन्तान पनि छन्।
परिवार, छरछिमेकी माइती पक्षका लागि जिन्दगी खुसीयाली देखिन्थ्यो। तर श्रीमानको व्यवहारले दिनहुँ आफूलाई मारिरहेको सीमा बताउँछिन्।
'श्रीमानले जबरजस्ती गर्यो भनेर कसैलाई सुनाउन पनि सक्दिनँ थिएँ,' उनले भनिन्, 'उसले भनेजस्तो नगर्दा गाउँभरीका पुरूषको नाम जोड्थे। त्यसैले चुपचाप सहेँ।'
उनले थपिन्- 'रात परेपछि डर लाग्थ्यो।'
आफूमाथि भएको घटना सीमाले आमालाई सुनाइन्। त्यसमा उनकी आमाले श्रीमानले जे गरे पनि हुने भनेर उल्टै ढाकछोप गर्न लगाइन्। आमाले पनि त्यस्तो भनेपछि तीन/चार वर्षसम्म चुपचाप बसेको उनी बताउँछिन्।
तर एक वर्षअगाडि उनको मौनता तोडियो।
उनकी छोरी ४ वर्षकी भएकाले नजिककै विद्यालय पठाउन थालिन्। त्यहाँ अभिभावकहरूको भेटघाट र छलफलमा उनले एक साथी बनाइन्। उनी महिलाको अधिकारको बारेमा गाउँघरतिर फाट्टफुट्ट बोल्थिन्।
त्यहीबेला उनले आफूमाथि भएको घटना सुनाइन्।
उनले यसबारे श्रीमानलाई सम्झाउन भनिन्। साथीले भनेजस्तै गरी उनले श्रीमानलाई आफ्नो कुरा राखिन्। तर श्रीमानले उल्टै आफूलाई हप्काएको उनी बताउँछिन्।
'कानुनी प्रावधानबारे पनि जानकारी गराएँ, त्यस्तो गर्दा पनि हच्किएन,' उनले भनिन्, 'प्रतिकार गर्न थालेपछि परिवारलाई थाहा भयो। झन् गाली खानुपर्यो।'
उनलाई परिवारको गालीभन्दा आफूले भोग्नुपरेको पीडाले पोलिरहेको थियो। त्यसैले ६ महिनाअगाडि गएर जिल्ला अदालत दाङमा मुद्दा दर्ता गराइन्।
'श्रीमानले जे गरे पनि कसरी चुप बस्नु? बलात्कारै सहेर किन चुप बस्नु?' उनले भनिन्, 'हामीलाई पनि आफ्नो शरीरको माया हुन्छ।'
उनलाई मुद्दा दर्ता गराउनका लागि भने सहज भएन। उनलाई श्रीमानको घर नै छाड्नुपर्यो। त्यही पनि दिनदिनै बलात्कार खेप्न त परेन भनेर आफू खुसी हुनुपरेको उनी बताउँछिन्।
श्रीमान भएर श्रीमतीलाई जे गरे पनि हुन्छ भन्ने पुरूषको सोचलाई तोड्नुपर्ने उनको धारणा छ। त्यसका लागि नै आफूले कानुनी लडाइँ लडेको उनको भनाइ छ।
उनको मुद्दा जिल्ला अदालत दाङमा विचाराधीन छ।
पछिल्लो समय वैवाहिक बलात्कारको घटना फाट्टफुट्ट बाहिर आउन थालेका छन्। यस्ता घटनामा केही महिना अगाडिमात्र चर्चित गायक रवि ओड पनि मुछिएका थिए।
नेपाल आइडलका सिजन-२ का विजेता रवि ओडमाथि उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोप लगाएकी छन्। ओडकी श्रीमतीले आफूमाथि वैवाहिक बलात्कार भएको भन्दै २०८० चैत २० गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दिएकी हुन्।
उक्त जाहेरी पश्चात कञ्चनपुर प्रहरी कार्यालयले ओडविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी जारी भएसँगै ओडले आत्मसमर्पण गरेका थिए। जिल्ला अदालत कञ्चनपुरले जेठ ४ गते ५ लाख धरौटीमा उनलाई छोडेको हो।
उनीहरूको मुद्दा जिल्ला अदालत कञ्चनपुरमा विचाराधीन छ।
त्यस्तै, वैवाहिक बलात्कारबारे चर्चित घटना हो- न्यायाधीश पत्नी।
जिल्ला अदालत कपिलवस्तुको पूर्वन्यायाधीश भुवन गिरी पत्नीले पनि वैवाहिक बलात्कार भएको भन्दै लामो समय सडकमा बसिन्। संघर्ष लामो भए पनि कानुनी न्याय पाइन्।
गिरी पत्नीले २०७९ चैत २८ गते आफूमाथि बलात्कार भएको भन्दै काठमाडौंमा जाहेरी दिएकी थिइन्। २०७५ सालमा कानुनी विवाहमा बाँधिएकी हुन्।
गिरी पत्नीले आफूमाथि कुटपिट गरी जबरजस्ती गर्ने गरेको आरोप लगाउँदै २०७९ मंसिर २ गते जिल्ला अदालत कपिलवस्तुमा मुद्दा दर्ता गराएकी थिइन्। त्यतिबेला गिरी जिल्ला न्यायाधीश थिए।
उनले घरेलु तथा वैवाहिक बलात्कार मुद्दा दिएसँगै गिरीलाई निलम्बन भएका थिए। निलम्बन भएसँगै जिल्ला अदालत कपिलवस्तुबाट उनीविरूद्ध पक्राउ पुर्जी जारी भएको हो।
गिरी पत्नी कानुनी प्रक्रिया अगाडि बढ्दै गर्दा काठमाडौं आएर बसेकी थिइन्। त्यही बेला काठमाडौंमा आएर न्यायाधीश गिरीले आफूमाथि बलात्कार गरेको भन्दै मंसिर २८ गते जिल्ला अदालत काठमाडौंमा पनि मुद्दा दर्ता गराएकी थिइन्।
कपिलवस्तु र काठमाडौंमा मुद्दा दर्ता गराएर पनि आफूले न्याय नपाएको भन्दै लामो समय सडकमा बसिन्। अन्तमा काठमाडौं जिल्ला अदालतले जेठ १३ गते गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गर्यो।
उनलाई सात वर्ष कैद साजाय र तीन लाख रूपैयाँ जरिवाना तोकिएको छ।
वैवाहिक बलात्कारको केसमा कानुनी सजाय तोकिएका घटनाहरू पनि निकै न्यून छन् तर यसले समाजमा महिलाहरूलाई वैवाहिक बलात्कारका घटनाबारे पनि आवाज उठाउनुपर्छ भन्ने बाटो मिलेको छ।
यस अघि वैवाहिक बलात्कार मुद्दामा डोटीको उच्च अदालत दिपायलले पनि सजाय सुनाएको थियो।
उच्च अदालत दिपायलले २०७८ फागुन ३ गते वैवाहिक बलात्कार आरोपमा एक जनालाई तीन वर्ष कैदको सजाय तोकेको थियो। उक्त पुरूषले श्रीमतीलाई कुटपिट गरी जबरजस्ती वैवाहिक बलात्कार गरेको मुद्दा थियो।
यी समाजका प्रतिनिधि घटनाहरू मात्र हुन्।
पछिल्लो समय वैवाहिक बलात्कारबारे महिलाहरू बोल्न थालेका छन्। प्रहरी र विभिन्न सम्बन्धित निकायमा जान थालेका छन्।
प्रहरी र सम्बन्धित निकायमा जानको लागि बाटो भने एक दशक अघिमात्र खुलेको हो। त्यो बेला बैवाहिक बलात्कारमा ३ देखि ६ महिनासम्म कैद सजाय हुन्थ्यो। मुलुकी अपराध संहिता २०७४ ले भने यो सजाय ५ वर्षसम्म हुने बनायो।
श्रीमानविरूद्ध बलात्कारको उजुरी दिने सक्ने र वैवाहिक बलात्कारमा सजाय हुने कानूनी व्यवस्था भएसँगै आफ्नो इच्छाविरूद्ध हुने यौनसम्बन्धबारे खुलेर बोल्न थालेको हुन्।
मुलुकी अपराध संहिता २०७४ को दफा २१९ उपदफा २ मा कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा जबरजस्ती गरेको मानिने उल्लेख गरिएको छ भने सोही दफाको उपदफा ४ मा पतिले पत्नीलाई जबरजस्ती करणी गरेमा ५ वर्षसम्म कैद सजाय हुने प्रष्ट लेखिएको छ।
यी कानुनी प्रावधानलाई आधार मानेर आफूमाथि भएको यौन शोषणबारे महिलाहरू बोल्न थालेको प्रहरीको भनाइ छ।
पछिल्लो समय महिलाहरू सचेत हुँदै जाँदा आफ्नो स्वतन्त्रताको लागि लड्न थालेको केन्द्रीय सहप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी बताउँछन्।
'आफ्नो हकका लागि लड्नुपर्छ भन्ने चेतनाको विकास भएको छ, त्यसैले वैवाहिक बलात्कारबारे बोल्न थालेका छन्,' एसएसपी अधिकारीले भने, 'यस घटनामा उजुरी आउने क्रम बढ्दो छ।'
२०७४ देखि हालसम्म २०२ वटा वैवाहिक बलात्कारको उजुरी दर्ता भएको केन्द्रीय प्रहरी कार्यालयको तथ्यांक छ।
केन्द्रीय प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/७५ मा ११ वटा उजुरी थियो भने २०७५/७६ मा दोब्बर बढेर २८ पुगेको थियो।
त्यस्तै २०७६/ ७७ मा २६, २०७७/७८ मा ४७, २०७८/७९ मा ३१, २०७९/८० मा ५९ वटा वैवाहिक बलात्कारको उजुरी दर्ता भएको प्रहरीको तथ्यांक छ।
चालु आर्थिक वर्ष बैशाखसम्म ४९ वटा उजुरी आएको प्रहरी तथ्यांक छ।
'पछिल्लो समय महिला स्वतन्त्रताको कुरा गरिरहँदा आफ्ना इच्छा विपरीत हुने कामबारे बोल्नुपर्छ भन्ने लागेको हो। यो सही पनि छ,' उनले भने, 'तीन चार वर्षमा जति घटना बाहिर आएको छ। त्यसले पहिला पनि थियो भन्ने संकेत दिन्छ।'
तर उनले २०७४ अघि यस्ता केस उनले हेर्नुपरेको थिएन। ।
यस्ता केसहरू कतिको आउँछन् भनेर राष्ट्रिय महिला आयोगमा पनि सोध्यौं।
राष्ट्रिय महिला आयोगको उजुरी तथा मुद्दा व्यवस्थापन शाखाको उपसचिव लक्ष्मी शर्माका अनुसार वैवाहिक बलात्कार भनेरै छुट्टै तथ्यांक राखिएको छैन। घरेलु हिंसा र यौन हिंसाका घटनामात्र छुट्याइएको छ।
'वैवाहिक बलात्कारको केसलाई पनि यौनहिंसाकै रूपमा समेटिएको छ,' उनले भनिन्, 'यस्ता केसहरू फाट्टफुट्ट आइरहन्छन्।'
श्रीमानले महिलालाई जे गरे पनि हुन्छ भन्ने भ्रम छ। त्यसैले पनि यस्ता घटनाहरू भइरहेको उनको बुझाइ छ। साथसाथै श्रीमतीहरू नबोल्ने हुँदा पनि यस्ता घटनाहरू दिनहुँ बढिरहेको हो।
श्रीमतीहरू सामाजिक तथा पारिवारिक बन्धनमा बाँधिएर यस्ता घटनाबारे बोल्दैनन्। त्यतिमात्र होइन, श्रीमानले जे गरे पनि बोल्न मिल्दैन भनेजस्तो श्रीमतीहरूलाई लाग्ने गरेको उनको भनाइ छ।
'श्रीमानले बलात्कार गर्यो भन्न अझै डराउँछन्,' उनले भनिन्।
समाजमा वैवाहिक बलात्कार हुन्छ भन्ने कुरा बुझेकै छैनन्। सहरी क्षेत्रमा बस्नेले अलि-अलि बुझे पनि ग्रामीण क्षेत्रमा यसबारे चेतना नै नपुगेको महिला अधिकारकर्मी तथा अनुसन्धानकर्ता रीता साह बताउँछिन्।
'कानुन मात्र बनेर हुँदैन यसबारे आम महिलालाई पनि जानकारी दिनुपर्छ,' उनले भनिन्, 'जति घटना बाहिर आएका छन् त्यो पूर्ण होइनन्।'
उनले थप भनिन्, 'धेरै महिला श्रीमानले गरेको त हो नि भनेर चुपचाप सहन बाध्य छन्। त्यसैले वैवाहिक बलात्कारबारे महिलाहरूलाई सचेत गराउनु आवश्यक छ।'
श्रीमानले जे गरे पनि घरबार बिगार्नु हुँदैन, श्रीमानविरूद्ध मुद्दा दर्ता गराउँदा भोलि कहाँ जाने भनेर पनि महिलाहरू बोल्न डराउँछन्। त्यो गलत हो भनेर महिलालाई सिकाउनुपर्ने उनको भनाइ छ।
कानुनी प्रावधानको बारेमा पनि उनीहरूलाई जानकारी गराउनुपर्ने उनले बताइन्।