रारा तालमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ।
रारा तालको पूर्वी भागमा पौडी खेल्ने क्रममा छाँयानाथ रारा नगरपालिका–५ का २१ वर्षीय शिशिरजङ रावलको डुबेर बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक रावल रारा ताल किनारमा निर्माणाधीन साइकल लेनमा मजदुरी गर्दै थिए। अरू चार जना साथीसँग घर फर्किने क्रममा थिए। साथीहरूसँग तालको छेउमा पौडी खेल्दा रावलको मृत्यु भएको उनका काका नरेन्द्र रावलले जानकारी दिए।
घटनाबारे जानकारी पाउनासाथ नेपाली सेनाको हनुमान ध्वज गुल्मबाट दुईवटा डुंगा लिएर सेना घटनास्थल पुगेको थियो। रारा विमानस्थल र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली पनि पुगेर शव तालबाट निकालिएको हो।
घटनाको मुचुल्कापछि शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।