भिआइपी अभियुक्तहरु हिरासत छल्न बिरामी बनेर अस्पतालमा बस्नेगरेको समाचार त हामीले सुन्दै आएकै हौं। यो विषयमा धेरै आलोचना पनि हुने गरेको छ। तैपनी यस्तो प्रवृत्ती रोकिएको छैन।
चितवनमा बीमाको रकम लिनका लागि आफ्नै सुनचाँदी पसल लुटपाटको नाटक गरिएको अभियोगकी थुनुवाले अस्पतालमा बसेर गरिरहेको गतिविधिले त्यहाँ कार्यरत स्वास्थ्यकर्मी नै चकित परेकी छन्।
कालिका नगरपालिका–६ घर भएकी अन्जना पुडासैनी केसी यो अभियोगमा असार १७ गते पक्राउ परेकी थिइन्। उनी अहिले पनि रत्ननगरस्थित बकुलहर रत्ननगर अस्पतालको आइसियूमा छिन्।
अचम्मको कुरा के छ भने उनी किन यो अस्पतालको आइसियूमा बसिरहेकी छन् भन्ने कुरा यहाँ कार्यरत स्वास्थ्यकर्मीहरुलाई नै थाहा छैन।
बकुलहर रत्ननगर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीकाअनुसार केसीलाई आइसियूमा राखेर उपचार गर्न आवश्यक छैन। चिकित्सकले उनका लागि कुनै औषधि पनि सिफारिस गरेका छैनन्। तर उनी ढिपी गरेर आइसियूमै बसिरहेकी छन्।
‘उनका लागि भनेर दुई जना प्रहरी खटिएका छन्। आइसियूमा बसेर पिज्जा, नान मागाएर खान्छिन्। आजसम्म यस्तो देखिएको थिएन। दंगै परियो,’ उक्त अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मीले सेतोपाटीसँग भने।
पुडासैनीलाई पक्राउ परेकै दिन छाती दुखेको भनेर अस्पताल ल्याइएको थियो। बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.मदन ज्ञवालीकाअनुसार उपचारका लागि आउने जो कोही बिरामीलाई चौबीस घण्टा ‘अब्जरभेसन’ मा राख्न सकिन्छ। अस्पतालले पुडासैनीलाई पनि अब्जरभेसनमा राख्यो।
यो अवधिमा अस्पतालले उनको इसिजी र रगतको जाँच गरेको थियो। यसमा उनको मुटुमा खासै समस्या नदेखिएको डा.ज्ञवालीले बताए। तर बिरामीले छाती दुखिराखेको भनेपछि अस्पतालले मुटुसम्बन्धी थप उपचार यहाँ नहुने भन्दै बुधबार दिउँसो नै उनलाई क्याथल्याव सेवा उपलब्ध भएको अस्पतालमा लैजान सिफारिस गरेको थियो।
‘हामीले बुधबार दिउँसो नै उहाँलाई हाम्रो अस्पतालले तपाईंका लागि गर्न सक्ने उपचार केही छैन भनेका थियौं। तर उहाँ जान मान्नुभएन। आइसियू छाड्नै मान्नु भएन,’ ज्ञवालीले भने, ‘छाती दुख्यो भनेको छ, हामीले डिस्चार्ज गर्न पनि मिलेने, जबरजस्ती निकाल्न पनि भएन।’
यस विषयमा हामीले विहीबार राति पौने ८ बजेतिर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी भेषराज रिजाललाई सोधेका थियौं। उनले सुरुमा पुडासैनी इलाका प्रहरी कार्यालय रत्ननगरको हिरासतमा रहेको दाबी गरे।
‘मंगलबार जिल्ला प्रहरी कार्यालयमा भएको पत्रकार सम्मेलनमा उनलाई अस्पतालबाटै ल्याएका हौं। सकिएपछि हिरासतमा राखिएको छ,’ उनले भने।
हामीले उनी हिरासतमा नभई अस्पतालमा रहेको जानकारी गराएपछि उनले ‘त्यसो हो भने मलाई यस विषयमा जानकारी छैन। म एसपी साबको अनुमती लिएर इलाका प्रहरी कार्यालयलाई सोध्छु अनि तपाईंलाई खबर गर्छु’ भनेका थिए। तर उनले यस विषयमा जानकारी दिएनन्।
त्यसअघि जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी भावेष रिमालले अस्पतालले डिस्चार्ज दिएलगत्तै पुडासैनीलाई हिरासतमा लैजाने बताएका थिए। जबकी अस्पतालले अघिल्लो दिन नै उनलाई रेफर गरिसकेको थियो।
‘बिरामी भएर बसेकी महिलाका कुरुवाले लौन हिरासत त जसरी पनि छल्नुपर्यो केही न केही औषधि त लेखिदिनुपर्यो भन्दा हामी छक्कै पर्यौं,’ अस्पतालका एक स्वास्थ्यकर्मीले सुनाए, ‘उहाँलाई औषधि आवश्यक नै छैन दिन सकिँदैन भन्दा निद्राको औषधि भने पनि लेखिदिनुपर्यो भन्दै थिए।’
यस्तो थियो घटना
असार १ गते कालिका नगरपालिका–६ खोलेसिमलमा रहेको विनोद सुनचाँदी पसलमा केही व्यक्तिले लुटपाट गरेको खबर फैलिएको थियो।
२ जना व्यक्तिले हतियार देखाएर धम्काउँदै २ करोड १७ लाख ५४ हजार ४१५ रुपैयाँ बराबरको सुन, चाँदी र हिराका गरगहना लुटेर लगेको सूचनाको आधारमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
राति सवा ८ बजेतिर नचिनेका व्यक्तिहरुले पसलका व्यवस्थापक विजय विश्वकर्मा र बापिधर गौतमलाई खुकुरी, चक्कु घाँटीमा राखी डर देखाएर गरगहना लुटेको जानकारी सञ्चालक विनोद सुनारले प्रहरीलाई दिएका थिए।
उक्त घटनाको अनुसन्धान गर्दै जाँदा सञ्चालक सुनारकै योजनामा चोरीको घटना भएको खुलेको थियो।
‘अनुसन्धानबाट सुनारले झुटा चोरी तथा लुटपाट गर्ने योजना बनाएर बीमाको रकम ठगी तथा विभिन्न व्यक्तिबाट लिएको ऋण रकम चोरी भएको देखाई जालसाजी गरि फाइदा दिन खोजेको देखियो,’ जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी भावेष रिमालले पत्रकार सम्मेलनमा भने, ‘घटनाको केही महिना अघिमात्रै उनले पसलको बीमा गराएका रहेछन्। बीमाको पैसा लिने मनसायले नाटक गरिएको रहेछ।’
जिल्ला प्रहरीका प्रवक्ता डिएसपी भेषराज रिजालकाअनुसार सञ्चालक सुनारले लुटपाटको लागि पूर्णबहादुर विश्वकर्मा नामका व्यक्तिलाई जिम्मा दिएका थिए। जिम्मेवारीअनुसार तनहुँ घर भएका ५० वर्षीय विश्वकर्मा बाराका १८ वर्षीय पवनकुमार पासवानलाई असार १ गते राति सवा ८ बजेतिर मोटरसाइकलमा विनोद सुनचाँदी पसल पुगेका थिए। त्यतिखेर पसलका व्यवस्थापक विजय विश्वकर्मा पसलमै थिए। उनले सञ्चालक विनोदको योजनामा साथ दिँदै चोरी गर्न आएका दुई जनालाई सघाए।
विश्वकर्मा र पासवानले पसलबाट चोरी गरेका गरगहना सञ्चालककै योजनाअनुसार अन्जना पुडासैनी केसीको घरमा पुर्याए। त्यसपछि प्रहरीले घटनाबारे जानकारी पाएको थियो।
जानकारी पाएलगत्तै प्रहरीले अनुसन्धान सुरु गर्यो। घटनाको दुई दिनपछि विनोदले अन्जनाको घरमा राखिएका गहनाहरु फिर्ता लगेर लुकाएको भेटिएको डिएसपी रिजालले बताए।
आफ्नो मिल्ने साथी भएकाले विनोदले केही दिन गरगहना लुकाउन सहयोग मागेका थिए। प्रहरीले उनलाई मतियारकोरुपमा सहयोग गरेको भनेर पक्राउ गरेको छ। प्रहरीले सञ्चालक विनोद सुनार, अन्जना र पसलका व्यवस्थापक विजय विश्वकर्मालाई सोमबार पक्राउ गरेको थियो। मंगलबार पूर्णबहादुर विश्वकर्मा र पवनकुमार पासवानलाई पक्राउ गरिएको थियो।
प्रहरीले उनीहरुको साथबाट छुट्टाछुट्टै ठाउँबाट एक किलो ७३४ ग्राम र ४४ तोला सुन जस्तो देखिने गरगहनाहरु बरामद गरेको छ। सञ्चालकले सिद्धार्थ इन्स्योरेन्सबाट २ करोड २० लाख रुपैयाँ बराबरको बीमा गरेका थिए। उनले पसलमा लुटपाट भएको भन्दै बीमाबापतको रकम दाबी पनि गरेका थिए।
घटनाको अनुसन्धान गर्न प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को सहयोग लिएको थियो। अनुसन्धानका लागि चितवन प्रहरी र सिआइबीले ‘धनानन्द’ अप्रेसन चलाएको थियो।