सुर्खेतको वीरेन्द्रनगर र आसपासका क्षेत्रमा घाइते वा बिरामी पशुचौपाया देखिए भने नवराज बोहरालाई फोन आउँछ। नवराज एउटा झोला भिरेर स्कुटरमा हुइँकिन्छन्। स्कुटरको डिक्की र झोलामा पशुको औषधि र केही सामान हुन्छ।
नवराज पशु उपचारका स्वास्थ्यकर्मी होइनन्। यस्तो सेवा दिने कार्यालयका कर्मचारी पनि होइनन्। कुनै गैरसरकारी संस्थामा पनि छैनन्।
उनी साधारण मानिस हुन् जो पशुचौपायाको सेवा गर्छन्। उनलाई बोलीचालीमा ‘छाडा’ भनिने पशुचौपायाको चिन्ता हुन्छ। उनी तिनलाई कतै गाडीले ठक्कर दिएर घाइते बनाए कि, कतै लडेर घाइते भए कि, हलचल गर्न नसकेर घाँस–पानी खान पाएनन् कि भन्ने चिन्ता हुन्छन्।
नवराज ‘छाडा जनावर’ भन्दैनन्, ‘सामुदायिक पशुचौपाया’ भन्छन्। मानिसले झैं ती पशुचौपायाले पनि समयमै उपचार पाउनुपर्छ भन्ने मान्छन्।
पशुचौपाया मरेर बस्ती र सडकमा फोहोर हुन नदिन उनी त्यसको व्यवस्थापन पनि गर्छन्। कतै पशुचौपाया घाइते छन् कि, उपचारको आवश्यकता छ कि भन्ने थाहा पाउन हरेक दिन एकपटक आफ्नो ठाउँ चक्कर मार्छन्।
नवराज वीरेन्द्रनगर नगरपालिका–६ का बासिन्दा हुन्। उमेर ४२ वर्ष भयो। आफूलाई ‘सामुदायिक पशुचौपायाको आफन्त’ भन्छन्। सामाजिक सञ्जालमा आफूलाई ‘नवराज भेडा’ नामले चिनाएका छन्।
बोल्न नसक्ने निर्दोष जनावरलाई सहयोग गर्नु आफ्नो जीवनको महत्त्वपूर्ण योगदान मान्छन्।
नाममा ‘भेडा’ जोड्नुको कारण के हो?
‘मलाई म आफू यो समाजको, यो जातको, यो थरको, यो रङको भनेर परिचय दिनु आवश्यक लागेन,’ नवराज भन्छन्, ‘म पशुचौपायाका लागि काम गर्छु। चौपायामा भेडो सोझो, इमानदार र एकसुरको हुन्छ। भेडाको यही गुण मन परेर आफ्नो थर पनि भेडा राखेको हुँ।’
आफू पशुचौपायाका लागि काम गर्ने र तिनकै प्रतिनिधि हुँ भन्ने सन्देश दिन पनि भेडा थर राखेको उनको भनाइ छ।
उनले बजारमा, जंगलमा, सडकमा जहाँ भए पनि सामुदायिक पशुचौपाया को व्यवस्थापन गर्नु आफ्नो मुख्य काम बनाएका छन्।
उनले यसरी काम गरेको १० वर्ष भयो।
‘पशुचौपायाले बोलेर मानिसलाई आफ्नो समस्या भन्न सक्दैनन्। तिनको समस्या बुझ्ने मान्छे कोही त चाहिन्छ भन्ने लागेर मैले एक्लै काम सुरु गरेको हुँ,’ नवराज भन्छन्, ‘सामुदायिक पशुचौपाया र जंगली जनावरको उद्धार, उपचार र व्यवस्थापनका लागि मैले गरेको काम अहिले समाजले अभियानका रूपमा बुझ्न थालेको छ।’
उनले यो काम कुनै संस्था बनाएर, कुनै निकायबाट आर्थिक सहयोग लिएर गरेका होइनन्।
उनी भन्छन्, ‘सामुदायिक पशुचौपायाकै परिवारको सदस्य जस्तो भएर काम गर्न सकूँ र यसबाट समाजका अरू मानिसमा सकारात्मक सन्देश जाओस् भन्ने मेरो उद्देश्य हो।’
सामुदायिक पशुचौपाया व्यवस्थापनका लागि सरकारी बजेट भए पनि त्यसको सदुपयोग हुन नसकेको उनको बुझाइ छ। बजेट भए पनि सामुदायिक पशुचौपाया घाइते वा बिरामी हुँदा उपचार नपाएको नवराजको गुनासो छ।
उनले कोभिड–१९ को समयमा आफ्नो क्षेत्रका सामुदायिक पशुचौपायालाई हरेक दिन पानी खुवाए। त्यति बेला पानी पाउन पनि समस्या भएको उनले बताए।
‘पशुचौपायालाई पानी खुवाउन हिँडेको हुँ भन्दा पनि प्रहरीले रोक्थ्यो। सडकका जनावरलाई खुवाउने हो भन्दा कतै त पसलेले पानी किन्न पनि दिएनन्,’ उनले भने, ‘प्रहरीलाई कुरा बुझाएर, उनीहरूलाई पनि देखाएर पानी दिन्थेँ।’
उनी पानी अभाव हुने खडेरी र गर्मी याममा पनि सामुदायिक पशुचौपायालाई पानी खुवाउँदै हिँड्छन्।
त्यस्तो बेलामा उनले ‘मान्छेलाई पानी छैन, चारतिर डुल्ने छाडा पशुलाई पुर्याउँदै हिँड्छ भन्ने’ छेडखानी पनि सुन्नुपर्छ। उनी यस्तो कुरामा कसैसँग बहस गर्न र जबाफ दिन आवश्यक ठान्दैनन्।
‘बोल्न नसक्ने, आफ्ना कुरा भन्न नसक्ने, सानो घाउले पनि सडकमै मर्न बाध्य हुने पशुचौपायालाई केही मद्दत गर्नुपर्छ भनेर म लागेको हुँ,’ नवराज भन्छन्, ‘म कुनै लोभलाभविना निःस्वार्थ रूपले काममा लागेको छु। कसैले प्रश्न उठाउला भन्ने डर छैन। उत्तर दिनुपर्छ जस्तो पनि लाग्दैन।’
सेवाको १० वर्षमा आफूले सडक छेउमा मरेका कम्तीमा दुई सयवटा गाईगोरु खाडल खनेर गाडेको उनले बताए। उपचार गरेका पशुचौपायाको संख्या अभिलेखमा राखेका छैनन्।
‘दुर्घटनाले वा कालगतिले मरेका पशुचौपयाका कारण वातावरण प्रदूषित हुन नदिन गाड्न थालेको हुँ। यस्तो व्यवस्थापनमा सम्बन्धित निकायसँग सहयोग माग्छु।’
उनकै आग्रहमा वीरेन्द्रनगर नगरपालिकाले मृत जनावर गाड्न ठाउँ छुट्याइदिएको छ। ठूलो खाडल खन्नुपर्दा नगरपालिकाले मेसिन पठाइदिन्छ। उनले लिने सहयोग यस्तै हो।
उनी जंगली र सिमसारका प्राणीको रक्षाका लागि पनि काम गर्छन्। जंगली जनवार घरमा नराख्न मानिसहरूलाई आग्रह गर्छन्। उनले मानिसले समातेर ल्याएका बाँदरका बच्चा जिल्ला वन कार्यालयसँगको सहकार्यमा जंगलमा छाड्ने गरेका छन्।
बर्खामा कछुवा देखिन्छन्। तिनलाई मानिसले समातेका हुन्छन्। कछुवा अलपत्र पनि परेका हुन्छन्। उनले धेरैपटक यस्ता कछुवा तिनकै प्राकृतिक स्थानमा पुर्याएर छाडेका छन्।
यो सेवाकर्मका लागि नवराजले आफ्नो केही खर्च कटौती गरेका छन्। उनको नियमित आम्दानीको स्रोत छैन तैपनि खर्च कटौती गरेर पशुचौपायाको सेवामा लगाउने गरेका छन्।
‘मैले मासु खान छाडेको चार वर्ष भयो। चाउचाउ, बिस्कुट कोकाकोला पनि खान छाडेको छु,’ उनले भने, ‘त्यताबाट बचेको पैसा पशुचौपायाको उपचारमा लगाउन सकूँ भनेर आफ्नो खर्च घटाएको हुँ।’
व्यक्तिगत स्तरमा काम गर्ने हुनाले नवराजलाई सरकारी र गैरसरकारी निकायले आर्थिक सहयोग गर्दैनन्। उनको काम देखेर कहिलेकाहीँ केही मनकारीहरूले सहयोग गर्ने गरेका छन्।
‘सुरुका दिनमा त खर्च जुटाउन गाह्रो भयो। अहिले कतिपय मानिस सहयोग दिन मलाई खोज्दै आउनुहुन्छ,’ उनी भन्छन्, ‘आफूले दिएको पैसा ठिक ठाउँमा खर्च हुन्छ भन्ने विश्वास भएर दिनुभएको हो।’
कहिलेकाहीँ रातको समयमा पशुचौपायाको उद्धार र उपचारमा जानुपर्दा जनशक्ति र औषधि अभाव हुने गरेको उनको अनुभव छ।
उनी कहिलेकाहीँ काममा साथका लागि प्रहरी, नगरपालिकाका कर्मचारी र जनावरको उपचार गर्ने स्वास्थ्यकर्मीलाई फोन गरेर आग्रह गर्छन्। एक्लैले गर्न नसक्ने अवस्था भएमा र रातिको समयमा उनी साथ खोज्छन्।
उनले नगरपालिकाको पशुसेवा शाखा, पशु अस्पताल र निजी भेटेनरी व्यवसायीको साथ पाउने गरेका छन्। कामकै सिलसिलामा पशुसम्बन्धी कर्मचारी र स्वास्थ्यकर्मीसँग राम्रो जानपहिचान र सम्बन्ध बनेको छ।
सामान्यतया उनी साथ पाउँछन्। सार्वजनिक बिदाको दिनमा सहयोग लिन समस्या हुने गरेको उनको अनुभव छ।
उनी सामुदायिक पशुचौपायाको उचित व्यवस्थापनका सरकारी निकायहरूको ध्यानाकर्षण पनि गराउँछन्।
कहिलेसम्म पशुचौपाया सडकमा छाडा छोडिन्छन्? तिनको उचित व्यवस्थापन कहिले हुन्छ?
यस्ता प्रश्नले उनको मन पिरोलिन्छ।
नवराजले यो स्वेच्छिक सेवामा परिवारजनको साथ पाएका छन्। भन्छन् ‘परिवारले पशुचौपायाको उद्धार र उपचारमा समर्पित भइसक्यो भन्ने बुझेका छन्, मलाई कुनै अवरोध गरेका छैनन्।’
काम गर्दागर्दै नवराज पशुचौपायाको घाउचोटमा साधारण उपचार गर्न र औषधि दिन जान्ने भएका छन्। आफूले नसकेकोमा स्वास्थ्यकर्मीको सहयोग लिन्छन्।
वीरेन्द्रनगर नगरपालिकाका पूर्वमेयर देवकुमार सुवेदीलाई नवराजले गरेको काम निकै राम्रो लागेको छ।
‘नवराजले कुनै स्वार्थ नराखी सामाजिक काम गर्नुभएको छ। म जनप्रतिनिधि हुँदा सामुदायिक पशुचौपायाको व्यवस्थापन र उपचारका लागि सहकार्य भएको थियो,’ सुवेदीले भने, ‘नागरिक समाजले उठाउनुपर्ने आवाज उहाँ एक्लैले उठाउनुभएको छ, निःस्वार्थ खट्नुभएको छ।’
बितेका १० वर्षको अनुभवका अधारमा नवराज अब अलिक व्यवस्थित र संस्थागत ढंगले काम गर्न चाहन्छन्। उनले पशुचौपायाको ‘उपचार केन्द्र’ स्थापना गर्ने सोच बनाएका छन्।
उनी भन्छन्, ‘आर्थिक सहयोग गर्ने निकायहरूसँग आग्रह गर्छु। तिनले दिएनन् भने व्यक्तिहरूबाट ससानो सहयोग लिएर भए पनि उपचार केन्द्र खोल्ने विचारमा छु।’
जस्तोसुकै कठिन अवस्थामा पनि यो सेवाकर्मबाट पछि नहट्ने उनको अठोट छ।