चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा दुई वटा गाडी खसेको आशंका छ।
शुक्रबार बिहान करिब साढे ३ बजेतिर भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलतालमा ठूलो पहिरो खसेको थियो।
जसबाट एउटा विंगर गाडी र अर्को बसलाई पहिरोले बगाएको आशंका गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिएका छन्।
वीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्सको गाडी र अर्को नम्बर नखुलेको काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स लेखिएको गाडी पहिरोले बगाएको खबर प्रहरीले प्राप्त गरेको थियो।
एउटा गाडीमा अन्दाजी २० जना र अर्कोमा ४० जना हुनसक्ने प्रहरीको अनुमान छ।
अविरल वर्षाका कारण त्रिशुली नदीको सतह पनि बढेको छ।
तर घटनास्थलमा पानीको सतह बढेको र पहिरोसमेतका कारण बसको कुनै अंश देखा पर्न सकेको छैन।
जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव पनि घटनास्थलमा पुगेका छन्।
उनका अनुसार पौडी खेलेर बाँचेका रौतहटका नन्दन दास, सुरज गुप्ता र गुगेश्वर यादवले प्रहरीलाई खबर गरेको हो।
यस्तै दुई वटा गाडी पछाडि रहेको एउटा सवारी चालकले पनि प्रहरीलाई खबर गरेको सिडिओ यादवले बताए।
‘तीन जना ज्यान जोगाएको भन्ने व्यक्तिहरूले प्रहरीलाई खबर गरेका रहेछन्। ती दुई गाडी पछाडि रहेको अर्को एउटा गाडीका चालकले पनि खबर गरेपछि खोजी थालिएको हो ,’ यादवले सेतोपाटीसँग भने, ‘'दुर्घटनास्थल भनिएको ठाउँमा सिसाका टुक्रा इन्धन बगेको भन्नेखालको केही भेटिएको छैन। आफन्तहरूबाट पनि कुनै सूचना आएको छैन।'
अहिले नारायणगढ- मुग्लिन सडकखण्डमा रहेको पहिरो पन्छाएर एकतर्फी सडक खुलाएको छ।
नेपाल प्रहरीसँगै नेपाली सेना र सशस्त्र प्रहरीको टोली पनि घटनास्थलमा खटिएका छन्।
दुर्घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोर सहितको टोलीले खोजी गर्न थालेको छ।
उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट ४५ जना र विपद व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोरसहित २५ जना परिचालन भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।