नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट त्रिशूली नदीमा दुई वटा बस खसेको खबर आएपछि बिहानैबाट सुरक्षाकर्मीहरूले खोजी गरिरहेका छन्।
नेपाल प्रहरीले सडकलाई व्यवस्थित बनाउने काम गरिरहेको छ।
नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले नदीमा डुंगामार्फत् खोजीको काम गरिरहेका छन्।
सडकको डिलबाट नदीमा खोजी कार्य भएको हेर्नेहरूको छेउमा बसेर टोलाइरहेका थिए रौतहटका सरोज गुप्ता। उनको साथमा भाइ कृष्णनन्दन पनि थिए।
सरोज रौतहटकै जुगेश्वर राय यादव र नन्दन दाससँगै नदीमा डुबेर बाँचेका व्यक्ति हुन्। दुई जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। सरोज भने भरतपुर अस्पतालमा सामान्य उपचारपछि बस खसेको स्थानमै फर्किएका रहेछन्।
‘गाडीमा मसँग मेरा बुवा, आमा, दिदी र भिनाजू पनि हुनुहुन्थ्यो। म त बसको झ्यालबाट निस्किएर पौडिएर बाँच्न सकेँ। उहाँहरू पनि भेटिनुहुन्छ कि भनेर आएको,’ गुप्ताले भने, ‘नदीमा हेरिरहेको छु। उहाँहरू आइहाल्नुहुन्छ कि!’
सरोज केही दिनअघि बुवा, आमा, दिदी र भिनाजूलाई लिएर नुवाकोट गएका थिए। त्रिशूलीमा उनका भाइ कृष्णनन्दनको दिक्षान्त समारोह थियो। नेपाली सेनाको जवानमा भर्ती भएका भाइले तालिम सक्दा परिवारमा खुसीको सीमा थिएन। कृष्णनन्दन दिक्षित भएको हेर्न परिवार नै सेनाको व्यारेकमा पुगेको थियो।
बुधबार दिक्षान्त समारोह भयो। उनीहरू बिहीबार काठमाडौं गए। पशुपतिनाथ पुगेर दर्शन गरे। अनि साँझ घर फर्कने रात्रीबस चढ्न कलंकी पुगे।
सरोज, बुवा, आमा, दिदी र भिनाजू एउटा गाडीमा चढे। कृष्णनन्दनले घर फर्कंदा धेरै सामान लैजानुपर्ने थियो। त्यसैले त्यो गाडीमा सम्भव भएन। उनी छुट्टै गाडीमा चढे।
‘म त पछाडिको सिटमा निदाइरहेको थिएँ। के भएको हो केही थाहा पाइनँ। थाहा पाउँदा बस पानीमा पुगिसकेको थियो। म सिसाबाट निस्किएर पौडिएँ। अनि बाहिर निस्किएँ,’ उनले भने, ‘अरू कसैलाई देखिनँ। गाडी पनि देखिनँ। राति २–३ बजेदेखि हराएको मान्छे अझै भेटिएको छैन। सरकारले खोजिदिनुपर्यो। मेरा मान्छेहरूको उद्धार गरिदिनुपर्यो।’
भाइ कृष्णनन्दनले भने हेटौंडा कटिसकेपछि मात्रै परिवारका अन्य चढेको गाडी दुर्घटना भएको खबर पाएका थिए।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सुरक्षाकर्मीहरू बिहानदेखि निरन्तर खोजीमा संलग्न रहेको बताए।
‘अहिलेसम्म बस, यात्रु केही पनि फेला परेको छैन,’ उनले भने, ‘नदीमा पानीको बहाव बढी भएकाले समस्या भएको छ।’
खोजी कार्यमा १७ जना गोताखोरसहित नेपाली सेना र सशस्त्र प्रहरीका तालिम प्राप्त एक सय जनाभन्दा बढी सहभागी छन्। सशस्त्र प्रहरीको कुरिनटारस्थित विपद व्यवस्थापन तालिम शिक्षालयका एसपी जनक पुरीले १२ जना गोताखोरसहित ७० जना खोजीमा संलग्न रहेको जानकारी दिए।
नेपाली सेनाको नयाँ सबुज गण भरतपुरका गणपति दिनेश लामाकाअनुसार सेनाले ५ जना गोताखोरसहित विपद व्यवस्थापनको तालिम प्राप्त ७५ जनालाई उद्धारमा खटाएको छ। सेनाबाट नयाँ सबुज र विपद व्यवस्थापन गण रसौलीका तालिमप्राप्त जनशक्ति खटिएका छन्।
अहिले उनीहरूले डुंगाबाट रड र बाँसको सहायतामा नदीमा गाडीको खोजी गरिरहेका छन्।
सशस्त्र प्रहरीका एसपी पुरीले पानीको बहाव उच्च र धमिलो भएको अवस्थामा गोताखोरलाई पानीभित्र पस्न समस्या हुने बताए। गाडी वा मान्छे रहेको भेटिएमा गोताखोरले पानीभित्र पसेर उद्धार गर्ने उनले बताए।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी भावेष रिमालले नेपाल प्रहरीले घटनास्थललाई सुरक्षित बनाउने, यातायात नियमित सञ्चालनमा सहजीकरण गर्ने र उद्धारमा सहायता गर्ने काम गरिरहेको जानकारी दिए।
बिहान करिब २ बजेतिर काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको नम्बर नखुलेको बस र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस त्रिशूली नदीमा खसेको भनेर सुरक्षाकर्मीहरूले खोजी गरिरहेका हुन्।
काठमाडौं–गौर बसमा ४० जना र वीरगञ्ज काठमाडौं बसमा २४ जना यात्रु रहेको अनुमान गरिएको छ। २४ जनामध्ये १७ जना यात्रुले टिकट काटेका थिए। उक्त बसमा ७ जना भारतीय नागरिक पनि थिए।