हिजो वर्षातले रूझेको सिमलताल आज केही उघ्रिएको छ। हिलाम्य बनेको नारायणगढ-मुग्लिन सडक आज धुलाम्य छ। छेउमा बगिरहेको त्रिशूली हिजोको तुलनामा आज अलि शान्त देखिन्छ।
तर शान्त छैन आफन्तको पर्खाइमा किनारामा बसिरहेकाहरूको मन। हिजोभन्दा आज बढी अत्तालिएको छ। पानी भित्र छिरेका गोताखोरले आफ्नो मान्छे लिएर निस्केला भन्ने आशले त्रिशूलीतिरै नजर टिकेका छन्। नजर धुमिलिएर त्रिशूलीको पानीभन्दा धमिलो हुन्छ तर भेटिँदैनन् हिजोदेखि बेपत्ता भएका प्रियजन।
फोन तारान्तार बजिरहन्छ। त्रिशूली किनारमा बसेर निराश हुँदै उनीहरू नभेटिएको जवाफ फर्काउँछन्। सिमलतालको दृश्य कहालिलाग्दो छ।
शुक्रबार बिहान झोलुङ्गे पुलनजिकै पहिराले दुइटा बस त्रिशूलीमा हुलेको थियो।
काठमाडौंबाट गौर जाँदै गरेको गणपति यातायातको प्रदेश ०३–०११ ख २५९५ र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एञ्जल डिलक्सको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस त्रिशूलीमा खसेको ३६ घन्टा हुन लाग्दा पनि प्रियजन नभेटिएपछि उनीहरूको बेचैनी बढेको छ।
भतिजा चढेको बस खसेको खबर पाएपछि रौतहटका मनोजप्रसाद जैसवाल शुक्रबार नै गाडी रिजर्भ गरेर सिमलताल आएका रहेछन्।
३६ घन्टासम्म पनि आफ्नो भतिजासहित अन्य यात्रुको अवस्था थाहा नहुनुमा सरकारले ध्यान नदिनु कारक बताउँछन् उनी।
‘नेताहरू परेको भए धेरै ध्यान दिन्थे होला। जनतालाई राम्ररी हेरेनन्। चितवनकै गृहमन्त्री छन् रे खोइ आएको के भएको छ भनेर हेर्न?,’ उनले प्रश्न गरे।
नरेश साह साथीको भाइको खबर बुझ्न साथीसँगै सिमलताल आएका रहेछन्। हिजोदेखि हराएको भाइ नभेटिनुमा खोजी बृहत् नभएको उनी बताउँछन्।
‘सरकार छ कि छैन? यस्तो तेज पानीमा यति सामान्य खोजीले कहाँ भेटिन्छ? यो तरिकाले त १० दिनमा पनि भेटिँदैन,’ उनले भने।
यात्रुकै अर्का आफन्त रोहित जैसवाल दुइटा बस र ६० जना मान्छे हराउँदा पनि सरकार गम्भीर नबनेको बताउँछन्।
‘जहाज खस्दा उच्चस्तरीय छानबिन समिति बन्छ, दुइटा बस नदीमा हराएर ६० जना मान्छे बेपत्ता हुँदा सरकार किन गम्भीर बन्दैन। बसमा चढ्ने नेपाली जनता होइन,’ उनले भने।
तस्बिरमा हेर्नुस् त्रिशूली किनारमा प्रियजन पर्खेर बसेकाहरूः