आइतबार तेस्रो दिन पनि त्रिशूली नदीमा खसेका बस र यात्रुहरु खोज्ने काम चलिरहेको छ।
आइतबार शुक्रबार र शनिबारभन्दा केही मिटर तल खोजी भइरहेको छ। नेपाली सेना र सशस्त्र प्रहरीका तालिमप्राप्त जनशक्ति खोजीमा खटिरहेका छन्।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवकाअनुसार र्याफ्टिङ बोट, कायक, गोताखोर, वाटर ड्रोन, फलामे हुक प्रयोग गरिएको छ।
खोज तथा उद्धारमा म्याग्नेटको प्रयोग पनि गर्न थालिएको उनले बताए। साथै नारायणी नदीको तटीय क्षेत्रमा पैदल, एयर ड्रोन र मोटरबोटको प्रयोग गरेर खोजतलास सुरु गरिएको यादवले बताए।
यती गर्दा पनि हराएका बस कता छ भन्ने संकेतसम्म देखिएको छैन। शुक्रबार बिहान साढे ३ बजेतिर भरतपुर–२९ स्थित नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जान आउँदै गरेको बागमती प्रदेश ०३ २४९५ ख ००१ नम्बरको गणपति डिलक्स त्रिशूली नदीमा खसेका थिए।
गणपतिमा ३८ जना र एन्सल्समा २७ जना यात्रु रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी भावेष रिमालले बताए। गणपति डिलक्स बसमा सवार तीन जना यात्रु पौडी खेलेर बाँचेका थिए। उनीहरुबाहेक गणपति डिलक्समा सवार २ जना र एन्जल्स डिलक्समा सवार १ जनाको शव गोलाघाट र गैंडाकोट क्षेत्रमा भेटिएको रिमालले बताए। ‘अन्य २ वटा शवहरु भेटिएका छन्। ती शवको सनाखत हुन बाँकी छ,’ उनले भने।
त्रिशूलीमा सुरक्षाकर्मीले खोजीको काम गरिरहँदा यात्रुका आफन्तहरु सडक छेउमा बसेर आफ्ना मान्छे भेटिन्छन् कि भनेर पर्खिरहेका छन्।
‘हराएको बस र मान्छे यति लामो समयसम्म पनि भेट्न नसक्नु त बिडम्बना भयो,’ रौतहटका रोहित जैसवालले भने, ‘हामीलाई यहाँ भइरहेको काम नै चित्त बुझेको छैन।’ खोजी भएको देखाउनका लागिमात्रै काम भएको उनको बुझाइ छ।
रौतहटकै मोहनप्रसाद जैसवाल नेपालका जनशक्तिले नसक्ने भए विदेशबाट विज्ञहरु मगाएर भए पनि खोजी प्रभावकारी बनाउनुपर्ने बताउँछन्। ‘नेताका मान्छे बसमा भएको भए जसरी पनि विदेशबाट मान्छे झिकाएर पत्ता लगाइसक्थे। जनताका छोराछोरी भएर कसैलाई चासो छैन। दुई दिनदेखि एकै ठाउँमा खोजी भइरहेको छ,’ उनले भने, ‘यही तरिकाले त हाम्रा मान्छे भेटिन्छन् जस्तो लाग्दैन।’
हराइरहेका यात्रुका आफन्तले शनिबार केही समय नारायणघाट–मुग्लिन सडकमा यातायातका साधन चल्न नदिएर सरकारको विरोध गरेका थिए।
प्रमुख जिल्ला अधिकारी यादवकाअनुसार बस र यात्रुको खोजीका लागि सशस्त्र प्रहरीका ११ र नेपाली सेनाका ८ जना गोताखोर परिचालन गरिएको छ। उनीहरुबाहेक पानीमा हुने विपदमा उद्धार गर्न सक्ने तालिम लिएका जनशक्ति ठूलो संख्यामा परिचालन गरिएको यादवले बताए।
सशस्त्र प्रहरीको विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका एसपी जनक पुरी नेपालका ठूला नदीहरुमा आइपर्ने विपदमा उद्धार गर्न स्वदेशी जनशक्ति नै दक्ष रहेको बताउँछन्।
‘हाम्रा जनशक्ति कोशी, त्रिशूलीजस्ता ठूला नदीमा अभ्यास गरेर पोख्त भएका छन्। विदेशीले बगेको नदीमा कम अभ्यास गरेका हुन्छन्,’ उनले भने, ‘त्यसैले विदेशी जनशक्ति ल्याउने कुरातिर लाग्नु आवश्यक छैन।’
८ वर्षअघि पृथ्वी राजमार्गको घोप्टेभिरबाट पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे सवार जिप त्रिशूली नदीमा खसेपछि उद्धारका लागि भनेर बंगलादेशबाट ५ जना गोताखोर मगाइएको थियो। तर उनीहरुले असोजको बेलामा पनि नदीभित्र पस्ने आँट गरेनन्। नेपाली गोताखोरले धेरै प्रयास गरेपनि घिमिरेको शव भेटिएन।
‘अहिले त नदी बढेको समय भयो। पानीको बहाव उच्च छ। पानी धमिलो पनि छ। यो अवस्थामा विदेशी गोताखोर मगाएर के गर्ने। उनीहरु यो पानीमा पस्न सक्दैनन,’ एसपी पुरीले भने, ‘हाम्रा गोताखोरहरु नदीमा पसेर खोजिरहेका छन्। तर अहिलेसम्म बस र यात्रु भेट्न सकिएको छैन।’
गोताखोरहरु नदीको १५ मिटर गहिराइसम्म पुगेर खोजी गरिरहेका छन्। नदीको गहिराइ कति छ भन्ने पत्ता लगाउन नसकेको र १५ मिटरभन्दा तल जान नसकेको पानी भित्र पसेर निस्किएका एक जना गोताखोरले सेतोपाटीलाई बताए।
प्रमुख जिल्ला अधिकारी यादवले नदी धेरै गहिरो, गती बढी र धमिलो पानी भएकाले तलैसम्म गएर खोज्न मुस्किल भइरहेको बताए।
‘हामीले उपलब्ध सबै उपाय लगाएर खोजी गरिरहेका छौं। विगतमा बंगलादेशका गोताखोर ल्याइएको थियो। तर उनीहरु बगेको ठूलो नदीमा पसेर उद्धार गर्ने अवस्थाका छैनन्,’ उनले भने, ‘नदीमा पानीको सतह घटिरहेको छ। आशा गरौं अबका दिनमा उद्धार गर्न सहज हुँदै जान्छ।’