लुम्बिनी प्रदेशमा सवारी साधनको दुर्घटनामा परेर ज्यान गुमाउने मानिसहरूको संख्या हरेक वर्ष थपिँदै गएको छ।
सवारी दुर्घटनालाई न्यूनीकरण गर्न ट्राफिक प्रहरीले विभिन्न सचेतनाका कार्यक्रम गर्दै आएको बताए पनि दुर्घटनाको संख्यामा भने कमी आउन सकेको छैन।
पछिल्ला वर्षमा दुर्घटना घट्नुको साटो बढ्दै गएको ट्राफिक प्रहरीको तथ्यांकले देखाएको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलकाअनुसार पछिल्लो ६ वर्षमा ३ हजार १ सय १० जनाले दुर्घटनामा परेर ज्यान गुमाएका छन्।
आर्थिक वर्ष २०७५/७६ देखि २०८०/८१ सम्म भएका ५ हजार ४ सय १९ वटा सवारी दुर्घटनामा उक्त संख्यामा मानिसको मृत्यु भएको हो। अघिल्लो आर्थिक वर्ष २०७९/८० मा भन्दा गत आर्थिक वर्ष २०८०/८१ मा सवारी साधनको दुर्घटना र मानिसको मृत्यु संख्या दुबै बढेको छ।
ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० मा ८ सय ९२ वटा सवारी दुर्घटनामा परी ४ सय ६२ जनाको मृत्यु भएको थियो। गत आर्थिक वर्षमा बढेर दुर्घटना संख्या १ हजार १ सय २० र मृतक संख्या ४ सय ९५ पुगेको छ।
कार्यालयकाअनुसार ६ वर्षमा सबभन्दा बढी आर्थिक वर्ष २०७५/७६ मा सवारी दुर्घटनाबाट ५ सय ९२ जनाको मृत्यु भएको थियो। उक्त वर्ष १ हजार २९ वटा सवारी साधन दुर्घटनामा परेका थिए।
त्यस्तै, आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी १ हजार २ सय १२ वटा सवारी साधन दुर्घटनामा परेका थिए। त्यस वर्ष दुर्घटनामा परी ५ सय २७ जनाको मृत्यु भएको थियो।
सवारी दुर्घटनाबाटै पछिल्लो ६ वर्षमा ६ हजार ९ जना गम्भीर र ३ हजार ८ सय जना मानिस सामान्य घाइते भएका छन्। गत आर्थिक वर्षमा मात्रै १ हजार १७ जना गम्भीर घाइते भएका छन्।
ट्राफिक प्रहरीको तथ्यांकअनुसार लुम्बिनी प्रदेशका १२ वटा जिल्लामध्ये रूपन्देहीमा सबैभन्दा धेरै सवारी दुर्घटना र मानिसको मृत्यु हुने गरेको छ। रूपन्देहीमा ६ वर्षमा भएका १ हजार ४ सय ५७ सवारी दुर्घटनामा परेर ७ सय १२ जनाको मृत्यु भएको छ।
रूपन्देहीमा गत आर्थिक वर्षमा भएका २ सय ५० वटा सवारी दुर्घटनामा १ सय ७ जनाको मृत्यु भएको छ। रूपन्देहीपछि दाङमा २ सय ३ वटा सवारी दुर्घटनामा ९९ जनाको मृत्यु भएको छ। त्यस्तै, कपिलवस्तुमा ७५, बाँकेमा ६६, पाल्पामा ३६, पश्चिम नवलपरासीमा ३०, बर्दियामा २६, रोल्पामा २०, प्यूठान र अर्घाखाँचीमा समान १३, गुल्मीमा ९ र सबैभन्दा कम पूर्वी रूकुममा १ जनाको मृत्यु भएको छ।
लुम्बिनी प्रदेशमा ट्राफिक प्रहरीसँगै यातायात व्यवसायीले समेत सुरक्षित रूपमा सवारी कसरी सञ्चालन गर्ने भन्ने विषयमा सचेतनामूलक अभियान सञ्चालन गर्दै आएका छन्। ट्राफिक प्रहरीले लापरबाही गरी सवारी चलाउने चालकहरूलाई दैनिकजसो कारबाही गर्दै आएको छ। तर, यात्रुहरूले भने ढुक्कसँग यात्रा गर्न पाएका छैनन्।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले गत आर्थिक वर्षमा मात्रै लापरबाही गरी चलाउने २ लाख ३३ हजार २ सय ९४ वटा सवारी साधनलाई कारबाही गरेको छ। यो कारबाहीबाट १७ करोड ४२ लाख २८ हजार ५ सय ३ राजस्व संकलन भएको छ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख एसपी श्याम खत्री ट्राफिक प्रहरीले दैनिकजसो लापरबाही गरी सवारी चालकलाई कारबाही गरे पनि सवारी साधनहरूको संख्या थपिँदै जाँदा दुर्घटनाको संख्या पनि थपिँदै गएको बताउँछन्।
‘हरेक वर्ष सवारी साधनको संख्या थपिँदै गएको छ। गाउँ/गाउँमा सडक सञ्जाल थपिएको छ। सवारी चालक अनुमति पत्र लिनेहरूको संख्या पनि हरेक वर्ष बढिरहेको छ। सडक, सवारी र चालक सबै थपिँदै गएपछि दुर्घटनाको संख्या पनि थपिएको छ,’ एसपी खत्री भन्छन्।
एसपी खत्री फराकिला र स्तरीय सडक निर्माणसँगै दुर्घटनाको जोखिम पनि थपिएको बताउँछन्। कच्ची सडकमा कम गतिमा सवारी हाँक्ने चालकले पक्की सडकमा तीव्र गतिमा हाँक्दा धेरै दुर्घटना हुने गरेको उनले बताए।
‘पछिल्लो समय रूपन्देहीमा त्यस्ता दुर्घटना बढेका छन्, बुटवल-बेलहिया सडकमा तीव्र गतिका कारण स्कुटर र मोटरसाइकल मात्र होइन यात्रुबाहक बस समेत अनियन्त्रित भएर दुर्घटनामा परेका छन्,’ उनले राडार गनको प्रयोग गरेर तीव्र गतिमा गुड्ने सवारी साधनलाई कारबाही गर्ने गरिएको बताए।
त्यस्तै, सवारी चलाउँदा प्रविधिको प्रयोग गर्दा पनि दुर्घटना हुने गरेको उनले बताए।
‘साना होस् वा ठूला जुनसुकै सवारी साधन चलाउँदा पनि मोबाइलको प्रयोग गर्नुहुँदैन तर, कतिपय स्कुटर र मोटरसाइकलको दुर्घटनापछि घाइतेको उद्धार गर्दा हेलमेटभित्र मोबाइल भेटिएको हुन्छ, मोबाइलमा कुरा गर्दै जाँदा दुर्घटनामा परेका हुन्छन्,’ उनले भने।
त्यस्तै पैदल यात्रीले पनि ट्राफिक नियमको पालना नगरी जेब्रा क्रसिङको बेवास्ता गरी जथाभावी बाटो काट्ने, छाडा चौपाया, जीर्ण, साँघुरा र चिप्ला सडक तथा सवारी साधनको अवस्थाका कारणले पनि दुर्घटना हुने गरेको दुर्घटनापछिको अनुसन्धानले देखिन्छ।
ढिलो गतिमा सवारी साधन चलाउँदा दुर्घटनापछिको क्षति कम हुने भए पनि भर्खरका युवाहरूले सवारी साधनको गतिलाई नियन्त्रण गर्न नसक्ने गरी धेरै तीव्र गतिमा सवारी साधन चलाउँदा मानवीय क्षति धेरै हुने गरेको उनको भनाइ छ।
सडकमा पैदल हिँड्ने यात्रीदेखि सवारी साधनका यात्रु, चालक र व्यवसायी समेत सडक र सवारीप्रति इमानदार नबन्दासम्म ट्राफिक प्रहरी लागेर मात्र दुर्घटनाको संख्या कम गर्न नसकिने एसपी खत्रीले बताए।
यातायात व्यवसायीहरू पनि चालकको लापरबाही सवारी दुर्घटना हुनुको मुख्य कारण रहेको बताउँछन्।
पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल सवारी दुर्घटना हुनुका पछाडि यात्रु, अन्य सडक प्रयोगकर्ता, सवारी साधन, भौगोलिक तथा सडकको अवस्था, छाडा चौपाया, मौसम, यातायात सम्बन्धी ऐन, नियम लगायत धेरै कारण हुने भए पनि सवारी साधनको चाबी चालकको हातमा हुने भएकोले जिम्मेवारी पनि धेरै चालककै हुने बताए।
‘सवारी साधनको चाबी जसको हातमा हुन्छ जिम्मेवारी पनि बढी उसकै हुनुपर्छ, व्यवसायीहरूले पछिल्लो समय अधिकांश पुराना सवारी साधन हटाएर नयाँ ल्याएका छन्, सवारी साधनको अवस्था कस्तो छ, कहिले चेकजाँच गर्नुपर्छ, कस्तो बाटोमा कुन गति र कसरी चलाउनुपर्छ भन्ने चालकहरूले हेक्का राख्नुपर्छ,’ खरेल भन्छन्।
उनले सार्वजनिक सवारी साधनको स्टेयरिङमा बसेपछि यात्रा गर्ने सबै यात्रुहरू मेरै आफन्तहरू हुन् र उनीहरूलाई सकुशल गन्तव्यमा पुर्याउने जिम्मेवारी मेरो हो भन्ने बुझेर सवारी साधन चलाउने हो भने दुर्घटना कम गर्न सकिने बताए।
खरेलले वर्षौंसम्म निर्माण सम्पन्न नहुने र सम्पन्न नहुँदै भत्किने सडक, जसरी पनि पैसा कमाउने भन्ने व्यवसायीहरूको मानसिकता र प्रहरी प्रशासनको फितलो निगरानीले पनि दुर्घटनाको संख्या बढिरहेको बताए।
‘दुर्घटनाको सबै दोष चालकलाई थोपरेर अरू निकाय उम्किन पनि सकिँदैन। यात्रुको चापलाई हेरेर मात्र परमिट दिने भन्ने सवारी ऐनमा व्यवस्था छ तर, आफ्नै आँखा अगाडि क्षमताभन्दा बढी यात्रु बोकेर सवारी साधन गए पनि प्रहरी प्रशासनले आँखा चिम्लिन्छ। अर्कातिर जसरी हुन्छ धेरै पैसा उठाउनुपर्छ भन्ने व्यवसायीहरूमा पनि लोभ हुन्छ, दुर्घटना हुनुमा यी सबै कारक हुन्,’ खरेलले भने।
खरेलले दुर्घटना न्यूनीकरणका लागि प्रालिले आन्तरिक सवारी व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण तथा प्रशिक्षण समिति गठन गरी २०६६ सालदेखि नियमित रूपमा चालक केन्द्रित प्रशिक्षण सञ्चालन गर्दै आएको जानकारी दिए।
खरेलका अनुसार प्रालिले पछिल्लो दुई वर्षमा तीन हजारभन्दा बढी चालक र सहचालकलाई प्रशिक्षण दिइसकेको छ।