बुधबार सर्लाही ईश्वरपुर नगरपालिका-१३ आलेटोलका ५९ वर्षीय जंगलबहादुर बलको हत्या भयो।
प्रहरीले उनको हत्या आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरू अन्जान थिएनन्। जंगलबहादुरकै श्रीमती रीताबल र उनकी २५ वर्षीया छोरी शीतल लामा पक्राउ परिन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनीहरूबीच घरायसी विवाद भएको थियो। त्यही विवादले उग्र रूप लिएपछि घटना हत्यासम्म हुन पुग्यो।
सोही दिन यस्तै आफन्तबाटै हत्याको घटना नवलपरासी पूर्वमा भएको थियो।
कावासोती नगरपालिका-५ ठकुरीचोकका ४३ वर्षीय प्रेम कुमालको हत्या भएको हो। उनकै १८ वर्षीय छोरा निराजन पक्राउ परे।
बाबुछोराबीच घरमा पालेको कुकुरलाई लिएर विवाद भएको थियो।
त्यस दिन प्रेमले कुकुरमाथि नमज्जासँग कुटपिट गरे। कुटाइबाट कुकुर मर्यो।
त्यही विषयलाई लिएर प्रेम र उनका छोराबीच झगडा हुन पुग्यो। विवादकै क्रममा निराजनले ढुंगा टिपेर आफ्नै बुवामाथि प्रहार गरे।
ढुंगा टाउकोमा लागेपछि प्रेमको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसपी वेद पौडेलले जानकारी दिए।
यसो त असार २८ गते मात्रै रूकुम पूर्व भूमे गाउँपालिका-६ तामारी चिरापानीका २७ वर्षीय जीवन ओलीले आफ्नी २५ वर्षीया श्रीमती अप्सरा ओलीको हत्या गरे।
श्रीमान र श्रीमती कागती गोड्न खेत गएका थिए। तर दुई जना बीच विवाद हुन थालेपछि जीवनले खुकुरीले प्रहार गरी अप्सराको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वले जनाएको छ।
हत्या गरेपछि जीवन आफ्ना नाबालक छोरालाई घटनास्थलबाटै भागेका हुन्। जिल्ला प्रहरी कार्यायलका प्रमुख डिएसपी माधवराज खरेलका अनुसार पछि दुबै जना जंगलमा लुकेर बसेको अवस्थामा फेला परेका थिए।
पक्राउ परेपछि जीवनले श्रीमतीको हत्या गरेर भागेको स्वीकार गरेका छन्।
आफन्तबीच हुने विवाद उग्ररूप लिएर हत्या र त्यसपछि आत्महत्या सम्म पनि भएका घटनाहरू थुप्रै छन्।
जेठ १ गते सल्यानमा श्रीमान/श्रीमती नै मृत अवस्थामा फेला परेका थिए। शिद्धकुमाख गाउँपालिका-४ रतनताल टोलका ३१ वर्षीय केशव राना र उनकी श्रीमती २७ वर्षीया श्रीमती केवली राना मृत फेला परेका थिए। केवली १७ दिनअघि सुत्केरी भएकी थिइन्।
सल्यानका प्रहरी निरीक्षक भवानीप्रसाद धमलाका अनुसार उक्त घटनामा सुरूमा श्रीमतीको हत्या र त्यसपछि श्रीमानले आत्महत्या गरेको देखिएको हो।
केशवले श्रीमतीलाई सुत्ने कोठामै धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए। उनी घर नजिकैको झुण्डिएको अवस्थामा फेला परेका थिए। उनीहरूलाई मृत अवस्थामा देखेर उनका जेठो छोराले आफन्तलाई खबर गरेका थिए।
सल्यानमै वैशाख ३० गते यस्तै प्रकृतिको अर्को घटना भएको थियो।
बनगाड कुपिण्डे नगरपालिका-४ देउरालीमा २३ वर्षीय कमला बुढा र उनका ३४ वर्षीय श्रीमान मनोज बुढा मृत फेला परेका थिए।
घटनाको अनुसन्धानपछि कमलाको हत्या गरेपछि मनोजले आत्महत्या गरेको खुलेको थियो।
यसरी हत्याका घटना हुनुमा घरझगडा वा अन्य विभिन्न कारणहरू छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार तीन वर्षमा आफन्तबाटै ७२७ जना आफन्तबाटै मारिएका छन्।
त्यसमा श्रीमानले श्रीमतीको हत्या, श्रीमतीले श्रीमानको, बुबाआमाले छोराछोरीको, छोराले आमा/बुबाको, छोरा बुहारीले आमाबुबाको, छोरीले आमा/बुबा/सासु/ससुराको, सौतनी आमा र बाबुले छोराछोरी लगायत परिवारकै सदस्यबाटै हत्या भएको तथ्यांक समेटिएको छ।
आर्थिक वर्ष २०७९/८० मा २०८ जना, २०७८/७९ मा २५३ को र २०७७/७८ मा २६६ जनाको आफन्तबाटै हत्या भएको केन्द्रीय प्रहरी कार्यालयको तथ्यांक छ।
कार्यालयको तथ्यांक अनुसार २०७९/८० मा श्रीमानले श्रीमतीको हत्याका ९० मुद्दा दर्ता भएका छन्। श्रीमतीले श्रीमानको हत्या गरिएको आरोपमा १६ मुद्दा दर्ता भएका छन्।
गत आर्थिक वर्षमा २०७८/७९ मा श्रीमानले श्रीमतीको हत्या गरिएको भन्दै दर्ता भएका ९७ घटना छन्। श्रीमतीले श्रीमानको हत्या गरेको भनिएको २९ वटा घटना छन्।
त्यस्तै, २०७७/७८ मा श्रीमानले श्रीमतीको हत्या गरिएको ११४ छन् भने श्रीमतीले श्रीमानको हत्या गरेको २० वटा घटना दर्ता भएका छन्।
त्यस्तै, कर्तव्य ज्यानमा भने तीन वर्षमा एक हजार ९१ जनाको मुद्दा दर्ता भएको छ। जसमा २०७९/८० मा ५०१, २०७८/७९ मा ५९० र २०७७/७८ मा ६९७ जनाको कर्तव्य ज्यानको मुद्दा दर्ता भएका छन्।
प्रहरीको तथ्यांकको अनुसार श्रीमानले श्रीमतीको हत्यापछि श्रीमतीले श्रीमानको हत्या गर्ने दोस्रो नम्बरमा छ। त्यसपछि बाबु आमाले छोराछोरी/छोराछोरीले आमाबुबाको हत्यादेखि आमाले नवजात शिशुको हत्या, सौतनी आमा र बाबुले छोराछोरीको हत्या, मामाले भान्जा/भान्जी लगायतले हत्या गरेको देखिन्छ।
केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) दानबहादुर कार्कीका अनुसार कानुनी सिद्धान्तले आर्थिक पाटो नै अपराधको मुख्य माध्यम मानेको छ। आर्थिक अपचलन, ठगी, सम्पति बाँडफाट, दाइजोको कुरा जोडिने, अंशबण्डका कुराका कारण धेरै अपराध भएको देखिन्छ।
'यी विषयले नै एकआसपमा मनमुटाब हुने र त्यसले बृहत रूप लिने गर्छ,' डिआइजी कार्कीले भने, 'अर्को पाटो सामाजिक सञ्जाल तथा इन्टरनेटबाट हुने खराबीहरू पनि हुन्।'
व्यक्ति-व्यक्तिको सम्बन्धको विषयबाट पनि यस्ता घटना हुने गरेका छन्। नचिनेका व्यक्तिहरूमा मनमुटाव वा त्यस्ता गतिविधि हुँदैनन्। उनले उदाहरण दिँदै भने- 'यौन हिंसाका घटना सबैभन्दा धेरै चिनेकै मान्छेबाट हुन्छन्। ७९ प्रति बलात्कारका घटना आफन्त र चिनेका मान्छेबाट हुने तथ्यांक छ।'
आफन्तबाटै अपराधिक क्रियाकलाप हुने भएकाले हत्यामा पनि आफन्तबाटै धेरै हुने गरेको देखिन्छ। आर्थिक र व्यक्तिगत सम्बन्ध मुख्यविषय भएपनि यीसँग अरूपनि कारणहरू जोडिएका हुन्छन्। नजिककै मान्छेलाई आफन्तको क्षमताबारे थाहा हुन्छ।
'आपराधिक क्षमता भएकाले पनि आफूभन्दा कमजोर व्यक्तिको मात्र हत्या गर्ने हो,' उनले भने, 'पछिल्लो समय स-सानो कुरामा आवेगमा आइ यस्ता घटना हुने गरेको देखिन्छ।'
यस्ता हत्या गर्ने व्यक्तिहरू प्राय लागुपदार्य वा मादक पर्दाथ सेवन गर्ने खालका हुन्छन्।
'त्यसका लागि पैसा आवश्यक पर्छ। लागुपदार्थधका तलतलमा लागेपछि आफन्तहरू नचिन्ने हुन्छन्। त्यस्तो अवस्थामा बा-आमा आफन्तले रोक्न खोजेमा उनीहरूमाथि नै जाइलाग्छन्,' डिआइजी कार्कीले भने।
पछिल्लो समयमा गैर सम्बन्धका कारणले धेरैजसो आफन्तले हत्या भएको देखिन्छ। स-साना कुराहरूमा पनि छिट्टै रिसाउँदा वा एक अर्काको कुरा नसुन्दा यस्ता घटनाहरू घट्ने गरेको छन्।
समाजशास्त्री सुरेश ढकालका अनुसार पहिला परिवारको सदस्यहरू एकै ठाउँमा बस्थे। उनीहरू एकआसपमा मानसिक र भावनात्मक रूपमा जोडिएका हुन्थे। एकअर्को दु:ख सुखमा जोडिनुको साथसाथै परिवारमा आ-आफ्नो जिम्मेवारी निभाउनुपर्छ भन्ने भावना देखिन्थ्यो।
'पछिल्लो समय एउटै परिवारको सदस्यपनि चार तिर बस्न थालेका छन्। उनीहरू एकआसपमा जोडिएकै हुँदैनन्,' उनले भने, 'परिवारमा घुलमिल घट्दै गइरहेको छ यसलाई अझै मोबाइल इन्टरनेटले मनोबल बढाइरहेको छ।'
परिवारमा घुलमिल हुने, पारिवारिक मूल्यमान्यताहरू छोडेर एक्लाएक्लै रमाउने प्रवृति बढ्दो छ, भने सम्पत्तिको मोह बढ्दो छ। यसले पनि आफन्तबाटै आफन्तको हत्या हुने गरेको उनको बुझाइ छ।
झगडा हुने, विवाद हुने भनेको चिनेजानेको मान्छेबाटै हो। यसलाई न्यूनिकरण गर्नका लागि कानुनी पाटो छँदैछ।
मुख्यकुरा परिवारको सदस्य र आफन्तसँगको संवाद नै हो। सँगसँगै आर्थिक पाटोपनि पारदर्शी गराउन थालियो भने यस्ता घटना कम हुन सक्ने उनले बताए।