छोराहरूले जिल्ला प्रशासन कार्यालयमा छोडेर भागेपछि १०२ वर्षीया सावित्रा गौतमलाई मानवसेवा आश्रमले आश्रय दिएको छ।
रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १ की सावित्रा र त्रिलोचन गौतमका ५ छोरा र ४ छोरी छन्। तर जीवनको उत्तरार्द्धमा कुनै पनि छोराछोरीले पालनपोषण नगरेपछि अहिले मणिग्रामस्थित मानवसेवा आश्रममा छिन्।
त्रिलोचन र सावित्राले पाँचै भाइ छोराहरूलाई २०५० सालमै अंशबण्डा गरी छुट्टाभिन्न गरिदिएका थिए। २०५८ सालमा बुवा त्रिलोचनको मृत्यु भएपछि साइँलो छोरा मीनराज गौतमले आमाको अंशसहित स्याहारसुसार र पालनपोषणको सम्पूर्ण जिम्मेवारी लिएका थिए।
कान्छा छोरा कमलराज गौतम पनि मानसिक रोगी थिए भने माइलो रामप्रसाद गौतम सुस्त श्रवणका रहेकाले उनको रेखदेख र जिम्मेवारीसमेत मीनराजले नै लिएका थिए। छोरीहरू चारैजनाको विवाह भइसकेको छ।
आमा र दाइको राम्रोसँग पालनपोषण र स्याहारसुसार गर्ने भन्दै मीनराजले दुवै जनाको अंश समेत लिएका थिए। तर अहिले नपाल्ने भन्दै जिल्ला प्रशासन कार्यालयमा छोडेर भागेपछि साबित्रालाई मानवसेवा आश्रमको जिम्मा लगाइएको हो।
आफ्नो अंश समेत काइँलो छोरा मीनराजले आफ्नो नाममा गराएपछि दुःख दिन थालेको भन्दै सावित्राले गत जेठ १६ गते जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा न्यायका लागि निवेदन दिएकी थिइन्।
आफू र माइलो छोरा रामप्रसादको राम्रोसँग लालनपालन गर्ने भन्दै अंशसमेत लिएर मीनराजले आफ्नो नाममा गराएपछि दुःख दिएकाले २०७८ साल साउन २३ गते छलफल गर्दा सम्पत्ति फिर्ता गर्ने सहमति गरे पनि सम्पत्ती फिर्ता नगरेको सावित्राले बताइन्।
आफ्नो लालनपालन समेत नगरेको सावित्राले दिएको निवेदनमा उल्लेख छ।
छलफलमा मीनराजले आफूहरूको सम्पत्ती फिर्ता गर्ने सहमति गरी मालपोत कार्यालयमा गएर त्यहीँबाट भागेकोले अब आफूहरूको लालनपालन र रेखदेखको ज्ञारेन्टी मीनराजले नै गर्नुपर्ने सावित्राले दिएको निवेदनमा उल्लेख छ।
सावित्राले दिएको निवेदनपछि प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले छलफलका लागि तत्काल आमासहित छोराहरुलाई उपस्थित गराउन निर्देशन दिएका थिए। तर जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन पटकपटक आग्रह गरे पनि छोराहरूले अटेर गर्दै आएका थिए।
गत बिहीबार आमा सावित्रासहित साइँलो छोरा खेमप्रसाद र काइँलो छोरा मीनराजलाई प्रहरीमार्फत् जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइएको थियो। कार्यालयका अनुसार भरतपुर वडा नम्बर ११ चितवनमा रहेका जेठो छोरा हरिप्रसाद बिरामी रहेको भन्दै उपस्थित भएनन्। माइलो र कान्छो भने अपांगता र मानसिक रोगी छन्।
जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा आफूहरूको सबै सम्पत्ती मीनराजले लिएकाले पालनपोषण पनि उसैले गर्नुपर्ने सावित्राको जोड थियो। साइँलो खेमप्रसाद पनि आमा र दाइको अंश सबै भाइ मीनराजले लिएकाले उसैले पालनपोषण गर्नुपर्ने भन्दै आमाको जिम्मेवारीबाट उम्किएका छन्।
जेठो हरि गौतमले आमालाई यसअघि पनि काइँलो भाइले दुःख दिँदै आएको र मानवसेवा आश्रममा लगेर छोडेपछि आफूले ल्याएर राखे पनि पछि उसैले लिएर गएको बताए। उनले साइँलो र काइँलो भाइको बीचमा सम्पत्तिको लागि भएको विवादका कारण आमाले दुःख पाएको बताए।
‘भाइहरूले धेरै पटक मानवसेवा आश्रममा लगेर छोड्ने गर्दै आएका थिए, गतवर्ष आश्रमबाट मैले लिएर आए पनि म दुर्घटनामा परेपछि आमा भाइहरूसँग बस्ने भन्दै जानुभएको थियो,’ हरिले भने।
काइँलो मीनराजले नेपाल प्रहरीको जागिर छाडेका हुन्। जेठो हरि अदालतबाट सेवानिवृत कर्मचारी हुन्।
तर मीनराज भने आफू विरामी भएको र उपचारको लागि भारत जान लागेकोले आमाको पालनपोषण गर्न नसक्ने भन्दै जिल्ला प्रशासन कार्यालयबाट निस्किएका थिए।
छलफलको लागि आमालाई लिएर गएका दुवै जनाले घर नलगी जिल्ला प्रशासन कार्यालयमै छोडेर हिँडेपछि मानवसेवा आश्रममा लगिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए।
‘बिहीबार दिनभर छलफल गर्दा कुनै पनि छोरा आमालाई लिएर जान तयार भएनन्, अन्तिममा कार्यालयमै छोडेर हिँडेपछि बाध्य भएर मानवसेवा आश्रमलाई अनुरोध गरेर तत्कालको लागि आश्रममा पठाएका छौं,’ अर्यालले भने।
जिल्ला प्रशासन कार्यालयमा विभिन्न विषयका विवाद आउने गरे पनि वृद्ध आमाको लालनपालनको लागि कुनै पनि छोरा तयार नभएको र जिल्ला प्रशासन कार्यालयमा छोडेर हिँड्नेसम्मको घटना पहिलो भएको अर्यालले बताए।
‘यसप्रकारको घटना मैले अहिलेसम्म देखेको थिइनँ’ उनले भने।
अर्यालले वृद्ध आमाको पालनपोषणको जिम्मेवारीबाट पन्छिने छोराहरूलाई कानुनी कारवाहीको प्रक्रिया अगाडी बढाउने बताए।
‘वृद्ध आमालाई पालनपोषणको जिम्मेवारीबाट पन्छिने यस्ता सन्तानलाई निर्मम भएर कानुनी कारबाहीसँगै सामाजिक रूपमा पनि कारवाही गरिनुपर्छ, तबमात्र बुवाआमाले वृद्ध अवस्थामा अपहेलना सहन नपरोस्,’ उनले भने।
समाजमा सन्देश दिनको लागि भए पनि यो विषयलाई गम्भीर रूपमा लिएको र छोराहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउने र स्थानीय तहलाई त्यहाँबाट प्रदान गरिने सिफारिस, सेवा, सुविधा सबै रोक्काका लागि सिफारिस गर्ने अर्यालले बताए।
वृद्ध–वृद्धाको हकअधिकार संरक्षणका लागि बनेको जेष्ठ नागरिक ऐन २०६३ ले सम्पत्ति लिने बदनीयत राखी वृद्धवृद्धालाई हेला गर्नुलाई फौजदारी कसुर मानेको छ।
ज्येष्ठ नागरिक ऐनको दफा २६ मा यस्तो कसुर गर्नेलाई दण्ड–सजाय व्यवस्था छ। बाबुआमाको सम्पत्ति बदनियतपूर्वक हडप्ने मात्र होइन, उनीहरूलाई पालनपोषण नगर्ने छोराछोरीलाई सजाय हुन्छ। उचित पालनपोषण नगरेमा स्थानीय तहले दिने सिफारिस पाइने छैन भने परित्याग गरेमा कैदसम्म हुने कानुनी व्यवस्था छ।
२०७५ साल अघिसम्म आमाबाबुलाई हेर्ने जिम्मेवारी छोराको मात्र भएकोमा २०७५ सालमा लागू भएको नयाँ मुलुकी संहिताले छोरीले पनि बाबुआमाको जिम्मेवारी उठाउनुपर्ने व्यवस्था गरेको छ। मुलुकी देवानी संहितामा वृद्ध भएका आमाबाबु जोसँग बस्न चाह्यो, उसैले राख्न पर्ने व्यवस्था गरेको छ।
वृद्ध आमाबाबुलाई परित्याग गर्यो भने त्यो फौजदारी अपराध हुने र त्यस्ता छोराछोरीलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।