चितवनको सिमलतालमा पहिरो खसेर बेपत्ता बनाएको दुई वटा बस र यात्रु खोज्न आएको भारतीय उद्धारकर्मीको टोली देवघाटमा खोजी थालेको छ।
आइतबार बिहान उनीहरूले सिमलतालदेखि ५ किलोमिटरसम्म खोजी गर्ने लक्ष्य लिएका थिए। तर गएरातिदेखि परेको अविरल वर्षाका कारण त्रिशूली नदीको बहाव र वेग (करेन्ट) दुबै बढेको छ। जसकारण खोजीकार्यमा समस्या उत्पन्न भएको हो।
भारतको ‘राष्ट्रिय आपदा मोचन बल’ (एनडीआरइफ) का १२ जनाको प्राविधिक टोली शनिबार आइपुगेको हो। उक्त टोलीमा चार जना गोताखोर छन्। उनीहरूले तीन वटा सोनार क्यामरा लिएर आएका छन्। जसको मद्दतबाट बस र यात्रुको खोजी गर्ने तयारी गरेका थिए।
आइतबारदेखि खोजी गर्ने योजनासाथ आइपुगेका उनीहरूले शनिबार नदीको निरीक्षण गरी योजना बनाएका थिए। पाँच किलोमिटरसम्म खोजी गर्ने उनीहरूको लक्ष्य थियो। तर सिमलतालस्थित नदीको बहाव र वेका कारण त्यहाँ खोजी कार्य स्थगित गरी देवघाटमा सुरू गरिएको हो।
सशस्त्र प्रहरी बलका एसपी जनक पुरीका अनुसार अहिले देवघाटमा खोजी गर्ने काम सुरू भएको छ। देवघाट घटनास्थलदेखि अन्दाजी १८ किलोमिटर छ। देवघाटबाट शिवघाटसम्म खोजी गर्ने तयारी गरिएको एसपी पुरीले बताए। त्यस क्षेत्रको नदी फराकिलो भएकाले भारतीयसहितको टोली त्यहाँ पुगेको हो।
एक भारतीय उद्धारकर्मीका अनुसार नदी प्रविधिमैत्री नभइदिँदा सिमलतालमा खोज्न सम्भव नभएको बताए।
‘हामी यहाँ खोजी गर्न चाहन्थ्यौं। तर अहिले पानीको बहाव प्रविधिमैत्री छैन। जुन मेसिन ल्याएका थियौं त्यही ड्यामेज हुने सम्भावना छ। हिजो अपराह्नमा हामीले नदीको निरीक्षण गर्दाको अवस्था भइदिएको भए खोजीका लागि उपयुक्त हुन्थ्यो,’ ती उद्धारकर्मीले भने, ‘तर गएरातिदेखि पानी परेकाले नदीमा करेन्ट पनि बढ्दै गइरहेको छ र बहाव पनि बढिरहेको छ। त्यसैले जुन क्षेत्रमा हामीले प्रविधिको प्रयोग गरी खोजी गर्न चाहेका थियौं त्यहाँ चाहेअनुसार खोज्न सकेका छैनौं।’
सशस्त्र प्रहरी बलले पनि सोनार क्यामेराकै प्रयोग गरी खोजी गरिरहेको छ। यद्यपि उक्त सोनार क्यामराले पनि प्रष्टसँग नदेखाउने र खोजीमा समस्या भएको थियो। भारतीय टोलीले पनि सोनार क्यामरा नै ल्याएको र एड्भान्स भएको भारतीय सुरक्षाकर्मीले बताए। यद्यपि प्रविधिको पनि सीमितताका कारण खोजी गर्न कठिन भएको उनी बताउँछन्।
‘सशस्त्र प्रहरीसँग भएको सोनार वेभबेस छ। इमेज अलि कम दिन्छ। हाम्रो अलि एड्भान्स छ। तर फेरि यसको पनि केही सीमितता छ। यसलाई स्थिर पानी चाहिन्छ। ताकि पानीसँगै बहन सक्ने खाली। हिजोको अवस्था यस मेसिनको लागि उपयुक्त थियो। अहिले करेन्ट चार देखि पाँच मिटर पर सेकेन्डको छ। इमेज त राम्रै दिन्छ। तर पानी भित्र जानु त पर्यो। बोट नै जान सकिएको छैन,’ उनले भने।
उनका अनुसार खोजी गर्न बोटको क्षमता, पानीको बहाव/वेग र प्रविधिको समिश्रण मिल्नुपर्नेछ।
‘गाह्रो त हुन्छ नै खोजी गर्न। किनभने प्राविधिक रूपमा खोजी गर्न गाह्रो भइरहेको हो। प्रविधिको प्रयोग गर्नको लागि स्थिर पानी चाहिन्छ। अनि त्यसपछि बोट जान सक्ने हुनुपर्यो। बोटको पनि फेरि सीमितता हुन्छ। बोट २ मिटर पर सेकेन्डको लागि बनेको छ भने ५ मिटर पर सेकेन्डको करेन्ट छ भने बोट त्यहाँ रोक्न सकिन्न। बोट पनि पानीको करेन्ट अनुसार अडिन सक्ने हुनुपर्यो। फेरि पानीमा बोटमात्रै अडिएर पनि भएन। मेसिन पनि अडिन सक्ने हुनुपर्यो। तीनै वटा पानी, बोट र प्रविधिको मिश्रण मिल्ने अवस्था भएपछि मात्रै खोज्न सकिन्छ,’ उनले भने।
तीन वटै सोनार क्यामेरा ल्याएर प्रयोग गर्ने लक्ष्य लिएपनि नदीमा प्रयोग गर्ने सक्ने अवस्था नरहेको उनी बताउँछन्।
यो टोलीले भारतको उत्तराखण्ड, हिमाचलमा ९ देखि १० दिनसम्म खोजी गरेको अनुभव छ।
‘भारतमा हामीले उत्तराखण्ड, हिमाचलमा ९-१० दिनसम्म खोजेका छौं। कोशिस गरिरहेका छौं। नेपाल प्रशासनको सहयोग छ। बोट यहीँको छ। यहाँका सुरक्षाकर्मीहरूलाई यहाँको नदीबारे हामीलाई भन्दा धेरै थाहा छ। उनीहरू बिना यो काम सम्भव छैन। संयुक्त रूपमा काम गरिनेछ,’ उनले भने।