भूकम्पले घर चर्किएपछि जाजरकोटको कुशे गाउँपालिका–८, दल्लेना निवासी दलसरी थापाले गत वर्षको माघमा अस्थायी टहरो बनाइन्। भूकम्पले चर्किएको घरनजिकै बनेको टहरामा दलसरी र उनका दुई छोरी बस्थे।
गत साताको मंगलबार राति ८ बजेतिर उनको टहरामा माथिबाट पहिरो खस्यो। तत्कालै छिमेकीले उद्धार गर्न सकेकाले सबैको ज्यान बच्यो तर पहिरोले टहरो पुरेर फेरि बस्न नमिल्ने बनाइदियो।
सुर्खेतमा दुई छोरी र आफ्नो उपचार गराइरहेकी दलसरीको मन पोलिरहन्छ– फर्किएर कहाँ जाने! कहाँ बस्ने!
उनको गाउँमा मंगलबार अपराह्न ४ बजेदेखि वर्षा भएको थियो। दलसरीलाई त्यसरी पहिरो आउला भन्ने कल्पना नै थिएन। परिवारका सबै सदस्य टहराभित्र भएका बेला राति ८ बजे एक्कासि पहिरो खस्यो।
पहिरो खस्न थालेको थाहा पाएपछि छिमेकी कमला थापा दलसरीको परिवारलाई बाहिर निकाल्न गएकी थिइन्। उनीहरू बाहिर नआउँदै पहिरोले टहरो भत्कायो।
छिमेकीले दलसरीकी चार वर्षकी छोरीलाई बेहोस अवस्थामा बाहिर निकालेका थिए। दलसरी, उनकी १७ वर्षकी छोरी निरमाया र उद्धारका लागि गएकी कमला घाइते भए।
सबै घाइते उपचारका लागि हेलिकप्टरबाट भोलिपल्ट बुधबार सुर्खेत पुर्याइए। कुशे गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष डिल्लीबहादुर सिंहका अनुसार उनीहरूको अवस्था सुधार भएको छ।
भूकम्पले घर जोखिममा परेपछि रूकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२, झिन्चौरका शेरबहादुर पुनको परिवार पनि अस्थायी टहरामा सरेको थियो। शेर बहादुरका छोरा रोजगारीका लागि भारतमा छन्। यता टहरामा नातिनीहरूका साथ शेरबहादुर बस्थे।
सोमबार मध्यरातमा उर्लिएको खोलाले उनको टहरो बगायो। टहरो मात्र बगाएन, दुई नातिनीलाई पनि सँगै लग्यो। त्यस रात शेरबहादुर नातिनीहरूका साथमा थिएनन्, अर्को टहरामा बसेका थिए।
नजिकैको गिजागाड खोलाले टहरा बगाउँदा १० वर्षकी हितमाया र ८ वर्षकी धनिसा पुनको मृत्यु भयो। उनीहरूसँगै सुतेकी साथी मनीषा सार्कीको पनि मृत्यु भयो।
सोही रातको घटनामा स्थानीयवासी डिल्लीबहादुर बुढाथोकी बेपत्ता भएका छन्। स्थानीयवासी कमल शाहका अनुसार खोलाको पानी घरतिर आएपछि डिल्लीबहादुर भेल काट्न जाँदै थिए। त्यही बेला भेलले बगायो।
भूकम्पबाट घर जोखिममा परेपछि अस्थायी टहरा बनाएर बसेका केही परिवार भेलबाढीको जोखिममा परेको कमलले बताए।
‘जमिन भूकम्पले हल्लिएको छ। त्यसैमाथि लगातार पानी परेर पहिरो जाने जोखिम बढाएको छ,’ उनले भने, ‘भूकम्पले त पीडा दिएकै थियो, बाढीपहिरोले पनि पीडा थपेको छ।’
गत वर्ष जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित जाजरकोट र रूकुम पश्चिमका केही परिवार यस्तो पीडामा परेका छन्।
‘यहाँका सुरक्षित मानिएका बस्तीमा पनि भूकम्पका कारण यस वर्ष पहिरोको जोखिम धेरै छ। भूकम्पले हल्लिएकाले होला कान्ला र भिरका भाग खसिरहेका छन्,’ कुशे गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष सिंहले भने, ‘मान्छेहरू टहरामा बसेका छन्। पहिरोले घरलाई भन्दा टहरालाई बढी क्षति गर्दो रहेछ। यसपालि मानवीय क्षति धेरै होला भन्ने भयो।’
उनले यस वर्ष मनसुन सुरू भएयता आफ्नो वडामा मात्र डेढ सयभन्दा बढी ठाउँमा सानाठूला पहिरो खसेको बताए।
‘पानी पर्ने समय अझ बाँकी छ। तत्काल बस्ती सार्न पनि सकिँदैन,’ उनले भने, ‘पहिले नै भूकम्पविदबाट अध्ययन गराएर जोखिममा रहेका बस्ती सार्न सिफारिस भएको भए केही व्यवस्था गर्न सकिन्थ्यो।’
भूकम्पपछि पहिरोको जोखिममा रहेको जाजरकोटको एउटा गाउँ केही दिनअघि सुरक्षित स्थानमा सारिएको छ।
भेरी नगरपालिका–१, च्याउपानीका ९ घरपरिवार नेपाल प्रहरीसँगको सहकार्यमा नजिकैको सुरक्षित स्थानमा सारिएको हो। भिरालो बस्तीमा माटो भासिन थालेपछि बस्ती सारिएको जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) पुरूषोत्तमप्रसाद पाण्डेले बताए।
‘हामीले मनसुन सक्रिय भएपछि ती परिवारलाई सारेका हौं। सुरूमा उहाँहरू मान्नुभएको थिएन, पछि प्रहरी र वडाबाट प्रतिनिधि गएर परामर्श गरेपछि सहमत हुनुभयो,’ डिएसपी पाण्डेले भने, ‘अहिले पानी नपरेको दिउँसोको समयमा घरमा आउनुहुन्छ। रातको समयमा हामीले सारेकै सुरक्षित स्थानमा बस्नुहुन्छ।’
यो वर्षको मनसुनका घटनाबाट हालसम्ममा जाजरकोट र रूकुम पश्चिममा गरी ६ जनाको मृत्यु भएको छ।
मनसुनबाट हुन सक्ने विपद् प्रतिकार्यका लागि कर्णाली प्रदेशमा तीनवटै सुरक्षा निकायका २४५ जना तालिमप्राप्त खोज–उद्धार जनशक्ति तैनाथ राखिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।
सुरक्षा निकायसँग समन्वय गरी खोज–उद्धारको संयन्त्र बनाइएको पनि मन्त्रालयले जनाएको छ।
प्रदेशका १० वटै जिल्लामा हुन सक्ने सम्भावित विपद् व्यवस्थापनका लागि मानवरहित हवाई यन्त्रको प्रयोग सम्बन्धी तालिमप्राप्त १७ जनालाई तयार राखिएको छ। प्रादेशिक मानवीय सहायतास्थल सुर्खेत र जुम्ला केन्द्र तथा गोदामघरमा बन्दोबस्तीका सामग्री राखिएको छ।
भूकम्पका कारण यस वर्ष मनसुनी विपदको जोखिम बढी हुन सक्ने भएकाले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजनाको प्रभावकारी कार्यान्वयन, समन्वय र सहकार्य गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयले ‘कमान्ड टोली’ बनाएको छ।
मन्त्रालयको व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा रहेको उक्त टोलीमा प्रदेशका अन्य मन्त्रालय, सुरक्षा निकाय, जल तथा मौसम विज्ञान कार्यालय र सडक डिभिजन कार्यालयका प्रतिनिधिहरू सहभागी छन्।