धनगढीका दुखीराम एक दिनमा एउटै नदी धेरै पटक तर्छन्, कम्तीमा ९ पटक, कहिले त्यो भन्दा पनि बढी, १२ पटकसम्म। उनीसँगै उनका एक हल राँगा पनि गाडा (डल्लब) तानेर त्यही नदी तर्छन्।
यसरी नदी तर्नु उनका लागि कम्ती दुःखको कुरा होइन तर त्यसबाट उनलाई केही आम्दानी हुन्छ। यसरी आम्दानी गर्नु उनको रूचि होइन, सहयोग हो। बर्खामा मान्छेलाई नदी तारेबापत उनलाई केही आम्दानी हुने हो।
'यस्तो दुख गर्न त केही रहर थिएन। मान्छेलाई बर्खामा दु:ख हुन्छ, मसँग भएको यही डल्लब मान्छेलाई सहज होला भनेर चलाउँछु। पुल नभएकाले यी राँगा र हामी मान्छे सबैलाई दुख भएको छ।'
दुखीरामको घर धनगढी उपमहानगरपालिका–१७, पथरीमा छ। खेत जोत्न, खेतको अनाज घरसम्म पुर्याउन र बिक्रीका बजार आउजाउ उनी डल्लब चलाउँछन्। यही डल्लब तान्न उनले राँगा पालेका हुन्।
धनगढीको मुख्य बजारबाट कैलाली बहुमुखी क्याम्पस र जाखोर ताल हुँदै पथरी पुगिन्छ। पथरीपारि वडा नम्बर १६ का बस्ती र प्रसिद्ध बेहडाबाबा मन्दिर छन्। बाटोमा छ शिवगंगा नदी।
शिवगंगा नदीमा पुल बनाउन संघीय सरकारले बजेट छुट्याएर ठेक्का लगाइको ७ वर्ष भयो तर पुल बनेको छैन। दुखीराम मानिसहरूलाई डल्लबमा चढाएर नदी तार्छन्। उनलाई आम्दानी दिने अरिरिक्त ड्युटी यही हो।
मोटरसाइकल डल्लबमै राखेर तारिदिन्छन्। मोटरसाइकलसहित एक जना मान्छे तारेको सय रूपैयाँ लिन्छन्। पुल भएको बाटो पनि छ तर धेरै घुमाउरो पर्ने भएकाले मानिसहरू दुःखीरामलाई पैसा दिन्छन् र उनको डल्लब चढेर नदी तर्छन्।
वडा नम्बर १६ का बासिन्दा खुसीराम चौधरी दुखीरामको डल्लब चढेर धनगढी आउँदै थिए। उनको घर रामपुर हो। उनी धनगढीमा काम गर्छन्। उनी मोटरसाइकलमा यात्रा गर्छन् तर शिवगंगा नदी गर्न दुखीरामको डल्लब चढे।
‘पुल नबनेर धेरै दुःख भयो। यात्रामा जोखिम छ। बाढीमा नदी तर्न सकिँदैन,’ खुसीराम भन्छन्, ‘एउटा पुल नभएर हाम्रो जीवनमा कति दुःख परेको छ भन्ने हामीलाई मात्र थाहा छ। सरकारका मान्छेलाई के थाहा!’
खुसीराम र दुखीराम प्रतिनिधिपात्र मात्र हुन्। सर्वसाधारण होऊन् कि स्थानीय जनप्रतिनिधि वा सांसद्, सबैको दुःख खुसीराम र दुखीरामको जस्तै छ।
धनगढी बजारबाट प्रसिद्ध धार्मिकस्थल बेहडाडाबाबा र वडानम्बर १६ का केही बस्तीमा पुग्न शिवगंगा नदी तर्नुपर्छ।
२०७४ सालको चुनावमा नेपाली कांग्रेसकी नेता आरजु राणा देउवा कैलालीको क्षेत्र नम्बर पाँचबाट उम्मेदवार थिइन्। उनले पुलको बनाउने कुरा अघि सारेकी थिइन्।
उनी पराजित भइन्। त्यसपछि २०७९ सालको चुनावमा उनी समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भइन्। हाल परराष्ट्र मन्त्री छन्।
अहिले आरजुका भतिजा प्रकाश देउवा कैलाली क्षेत्र नम्बर ५(ख) बाट सुदूरपश्चिम प्रदेशसभामा सदस्य छन्। उनी सुदूरपश्चिम प्रदेश सरकारमा १४ महिना भौतिक पूर्वाधार विकासमन्त्री पनि भए।
केही दिनअघि धनगढीको विकास निर्माणका सम्बन्धमा सरोकारवालाहरूसँग छलफल कार्यक्रम भएको थियो। कार्यक्रममा एक सहभागीले सोधे– आमा (आरजु) ले चुनाव लड्दा बनाउने भनेको पुल छोरा (प्रकाश) ले चुनाव जित्दा पनि किन नबनेको हो?
धनगढी उपमहानगरका मेयर गोपाल हमाल र प्रदेशसभा सदस्य देउवाले ठेकेदार कम्पनी र सडक डिभिजन कार्यालय महेन्द्रनगरलाई पुल निर्माण अघि बढाउन भनेका थिए। उनीहरूले निर्माण सुरू गराउन वा सम्झौता रद्द गर्न जोड दिए।
सडक डिभिजन कार्यालयले निर्माण कार्य अघि बढाउने भने पनि बर्खाको समय भएकाले काम सुरू भएको छैन।
सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी रहेका इन्जिनियर तारानाथ सिग्देलका अनुसार पप्पु एड्भेन्चर जेभीलाई उपमहानगरका वडा नम्बर १६ को पथरी र वडा नम्बर १७ को रामपुर जोड्ने पुल निर्माणको ठेक्का दिइएको थियो।
कुल १४ करोड २६ लाख रूपैयाँमा तीन वर्षभित्र काम सक्ने गरी सडक डिभिजन कार्यालय, महेन्द्रनगर र उक्त कम्पनीबीच २०७४ असार २७ गते ठेक्का सम्झौता भएको थियो।
सिग्देलका अनुसार केही पायल बनेपछि निर्माणको काम रोकिएको छ तर निर्माण कम्पनीले ३० प्रतिशत काम सकिएको भनेर कुल लागतको २२ प्रतिशत, ३ कारोड १३ लाख ७२ हजार रूपैयाँ, भुक्तानी लिएको छ।
ठेक्का सम्झौताअनुसार २०७७ असार २५ गतेभित्र काम सकिनुपर्ने थियो। हालै सडक डिभिजन कार्यालयले २०८२ साल भदौसम्म म्याद थपेको छ। कम्पनीले साढे दुई वर्ष थप्न माग गरेको थियो।
इन्जिनियर सिग्देलका अनुसार निर्माण कम्पनीले बनाएका पायल मध्ये एउटाको परीक्षण गर्दा त्रूटि भेटिएको थियो।
सडक डिभिजन कार्यालयले सबै पायलको परीक्षण रिपोर्ट तयार गरेर डिजाइन रिभ्युका लागि फाइल पठाउन भनेको थियो तर कम्पनीले फाइल पठाउन धेरै ढिलो गरेपछि काम रोकियो।
तीन करोड रूपैयाँभन्दा बढी भुक्तानी दिइसकेको अवस्थामा सडक डिभिजन कार्यालयले ठेक्का सम्झौता रद्द गर्ने निर्णय गर्न सकेन।
हालै निर्माण कम्पनीले सबै पायलको परीक्षण रिपोर्ट बुझाएको छ। सडक डिभिजन कार्यालयले उक्त रिपोर्टको फाइल सडक विभागमा पेस गरेको छ।
‘ठेकेदारबाट कुनै पनि हालतमा काम हुँदैन भन्ने भएको भए हामी रद्द पनि गर्थ्यौं तर अहिले काम हुने संकेत देखापरेको छ,’ सिग्देलले भने, ‘माथि (सडक विभाग) बाट स्वीकृति आएपछि थप काम सुरू हुन्छ।’
शिवगंगा नदीमा धनगढीका बासिन्दाले बर्खामा मात्रै होइन हिउँदमा पनि दुःख पाउँछन्।
हिउँदमा काठको पुलबाट आवतजावत हुन्छ तर सवारी साधन काठेपुलबाट तार्न मिल्दैन। पानीमै ठेल्नुपर्छ।
वडा नम्बर १७ का लालवीर चौधरी बाख्रा चराउन दैनिक शिवगंगा नदी किनारमा पुग्छन्। उनी दिनभरिमा धेरै मान्छेले नदी वारपार गरेको र तिनका सवारीसाधन फसेको देख्छन्। ।
उनी भन्छन्, ‘हिउँदमा धकेलेर पनि मोटरसाइकल र अटोरिक्सा तार्छन्। बर्खामा डल्लब नभई हुँदैन। बाढीमा त डल्लब पनि चल्दैन।’
शिवगंगापारिका बासिन्दा रोजगारी, पढाइ, व्यवसाय र अन्य कामका लागि धनगढी बजारमा नपुगी हुँदैन।
धनगढीको पर्यटकीय स्थल बेहडाबाबा जाने पर्यटकहरू पनि समस्यामा पर्ने गरेका छन्। भारतको पलियाबाट बेहडाबाबा दर्शन गर्न भारतीयहरू आउने गरेका छन्। साउनमा बेहडाबाबाको दर्शनका लागि जानेहरू धेरै हुन्छन्। तर पुल नहुँदा स्थानीयदेखि पर्यटकसम्मलाई सास्ती भएको छ।
सबै तस्बिरः सविता बुढा/सेतोपाटी।