बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले चिनियाँ परम्परागत उपचारसहितको फिजियोथेरापी सेवा विस्तार गरेको छ। चीन सरकारको सहयोगमा अस्पतालले पुरानो फिजियोथेरापी शाखा विस्तार गरेको हो।
चीनको परम्परागत उपचार पद्धतिमार्फत सेवा दिन आधुनिक उपकरणहरू भित्र्याइएको अस्पतालका निर्देशक डा. शिवजी पौडेलले बताए।
चीन सरकारले ७० लाख रूपैयाँ पर्ने थेरापी उपकरणहरू सहयोग गरेको उनले जानकारी दिए। यी उपकरणहरू राखेर सेवा सञ्चालन गर्न २५ लाख रूपैयाँ खर्च गरेर संरचना तयार पारिएको हो।
बिहीबार स्वास्थ्य मन्त्री र नेपालका लागि चीनका राजदूतको उपस्थितिमा यो सेवा सुरू गर्ने तयारी अस्पतालको छ।
क्यान्सर अस्पतालमा कार्यरत फिजियोथेरापिस्ट एवं परम्परागत चिनियाँ उपचार विशेषज्ञ डा. च्या सोङ्ग थाओका अनुसार यहाँ अब फिजियोथेरापीसँगै एक्युपन्चर, कपिङ, स्क्रप मसाज थेरापी, बोन सेटिङ, फ्युमेजिकेसन लगायत परम्परागत चिनियाँ उपचार सुरू हुनेछ।
यी सेवा दिन मिडियम फ्रिक्वेन्सी थेरापी डिभाइस, लो फ्रिक्वेन्सी थेरापी डिभाइस, लिम्ब लिंकेज मेडिकल डिभाइस, ट्रेड मिल, मोटराइज मुभमेन्ट थेरापी डिभाइस, स्ट्यान्डिङ फ्रेम, ब्यालेन्सिङ बार लगायत ३० वटा आधुनिक उपकरण भित्रिएको उनले बताए।
यसअघि थोरै उपकरणमार्फत सेवा दिइँदै आएकोमा अब आधुनिक उपकरणमार्फत धेरै सेवा दिन सकिने अर्का फिजियोथेरापिस्ट एवं परम्परागत चिनियाँ उपचार विशेषज्ञ डा. लिउ च्यान चिर्रले बताए। अबदेखि यहाँ नसा, दीर्घकालीन दुखाइ व्यवस्थापन, हड्डीको समस्याको उपचार गर्न सहज हुने उनको भनाइ छ।
'क्रोनिक पेन, न्यूरोलजिकल डिसअर्डर, ट्रमा इन्जुरीको हामी चिनियाँ परम्परागत पद्धतिबाट उपचार गर्न सक्छौं,' उनले भने, 'क्यान्सर रोगका बिरामीले मात्रै नभएर अरू बिरामीले पनि यो सेवा लिन सक्छन्। आशा छ यसले बिरामीहरूलाई राम्रो सेवा मिल्नेछ।’
क्यान्सर अस्पताल भरतपुरको फिजियोथेरापी सेन्टरमा अहिले पनि करिब ९० प्रतिशत क्यान्सर बाहेकका बिरामीले सेवा लिइरहेका छन्। अस्पतालका उप-निर्देशक डा. उमेश नेपालले मासिक ५ सयभन्दा बढीले सेवा लिइरहेको बताए।
'नयाँ उपकरण भित्रिएर सेवा विस्तार भएपछि आगामी दिनमा बिरामीको चाप अझै बढ्छ होला,' उनले भने, 'सेकाइपछि मुख सुक्ने, नसा लाटो हुने, मुख बांगिने, मुख नखुल्ने, ढाड र पछाडि दुख्ने, अपरेसनपछि हर नचल्ने जस्ता समस्या भएका बिरामीका लागि यो पद्धतिले राम्रो काम गरिरहेको छ। क्यान्सरका बिरामी बाहेकले पनि यो सेवा लिन सक्छन्।'
अस्पतालका निर्देशक डा. पौडेलले नेपालमा चिनियाँ उपचार पद्धतिमा आधारित भएर यो स्तरको सेवा यहीँ मात्रै रहेको दाबी गरे।
'अन्य सेवा त क्यान्सर अस्पताल सञ्चालन भएबाटै सुरू गरिएको हो। चिनियाँ विशेषज्ञ डाक्टर र नेपालका फिजियोथेरापिस्टहरूले सेवा दिँदै आएका थिए,' उनले भने, 'अब आधुनिक उपकरणमार्फत अझै राम्रो सेवा बिरामीले पाउने भएका छन्।'
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चिनियाँ सरकारको सहयोगमा २०५७ सालमा स्थापना भएको थियो। स्थापना भएबाटै यहाँ चिनियाँ चिकित्सकहरूले पनि क्यान्सर उपचार सेवा दिँदै आएका छन्।