१५ दिनअघिदेखि त्रिशूलीमा हराइरहेका बस खोज्ने प्रयास निरन्तर चलिरहेको छ।
सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले नारायणघाट–मुग्लिन सडकको सिमलतालमबाट बस खसेकै दिनदेखि उपलब्ध स्रोत साधनको प्रयोग गरेर बस तथा यात्रुहरुको खोजी सुरु गरेका थिए।
पछि सरकारले हराएका बस र यात्रु खोज्न भनेर भारतसँग सहयोग मागेको थियो। भारतबाट साउन ५ गते चितवन आइपुगेको उद्धार टोली ‘एनडिआरएफ’ले नेपालको सशस्त्र प्रहरी बलसँग मिलेर भोलिपल्टदेखि नदीमा खोजी सुरु गरेको थियो।
भारतीय टोलीले ३ वटा सोनार क्यामेरा ल्याएका थिए। त्यसअघि सशस्त्र प्रहरी र नेपाली सेनाले पनि सोनार क्यामेराकै प्रयोग गरेर खोजी गरिरहेका थिए। तर उनीहरुसँग त्यसको रेकर्ड प्रणाली थिएन। भारतीय टोलीसँग क्यामेरासँगै त्यसले देखाएका तस्वीर रेकर्ड गर्ने प्रविधि पनि छ।
४ जना गोताखोर र एक्पर्टसहितको टोलीले सशस्त्र प्रहरी बलसँग सहकार्य गरेर सिमलतालदेखि करिब ३० किलोमिटर पर काभ्रेघाटसम्म सोनार क्यामेरा डुबाएर बस र यात्रुहरुको खोजी गरिरहेको छ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सोनार क्यामेराले खोजी गर्दा केही स्थानमा शंकास्पद बस्तु हुनसक्ने आँकलन गरिएको बताए।
‘क्यामेराले खोजी गर्दा सिमलताल नजिकै, घुमाउने र केराबारी क्षेत्रका केही स्थानमा शंकास्पद बस्तु हुनसक्ने आँकलन गरिएको छ,’ उनले भने, ‘शनिबार दिउँसो सो क्षेत्रमा विशेष खोजी गर्दैछौं।’
प्रमुख जिल्ला अधिकारी यादवकाअनुसार संभावित स्थानमा बस रहे नरहेको पत्ता लगाउन भारतीय टोलीले ‘म्याग्नेटिक डिभाइस’ (ठूलो चुम्बक) मगाएको छ।
‘भारतबाट दुई वटा ठूला चुम्बक आइपुगेको छ। आज १० बजेपछि त्यो चुम्बक लगेर नदीका संभावित स्थान खसालिनेछ। बस रहेछ भने त चुम्बक टाँसिइहाल्छ,’ उनले भने, ‘चुम्बकमार्फत फलाम रहेको थाहा भएमा गोताखोरलाई पानीभित्र पठाइनेछ।’ उनका अनुसार भारतबाट एउटा १९ र अर्को १४ किलोको चुम्बक ल्याइएको हो।*
उनले शनिबार हराएका बस खोजीका लागि अन्तिम प्रयास हुन लागेको बताए।
‘आज दिनभरको प्रयासपछिमात्रै भोलीदेखि खोज्ने कि नखोज्ने भन्ने निर्णय गर्नेछौं,’ यादवले भने, ‘भारतबाट आएको टोलीलेसकेको प्रयास गरिरहेको छ। उहाँहरु आएको पनि एक हप्ता भइसक्यो। अन्तिम प्रयास पनि सफल भएन भने आगामी दिनमा के गर्ने भन्ने निर्णय गर्नुपर्छ।’
सशस्त्र प्रहरीको कुरिनटारस्थित विपद व्यवस्थापन तालिम शिक्षालयका एसपी जनक पुरीले मोटरबोटमार्फत सोनार क्यामेरा डुबाएर खोजी गर्दा केही ठाउँमा संभावित आकृति जस्तो देखिएको बताए। सोही आधारमा संभावित ठाउँमा चुम्बक डुबाएर खोजी गर्न लागिएको उनले बताए।
‘मोटर बोटमा गएर खोजी गर्दा सोनार क्यामेराले एउटै स्थानमा पनि कहिले संभावित आकृति जस्तो देखाएको छ, कहिले देखाएको छैन। त्यो ढुंगा पनि हुनसक्छ। बस नै पनि हुनसक्छ,’ उनी भन्छन्, ‘भारतबाट चुम्बक आइपुगेको जानकारी पाएका छौं। क्यामेराबाट देखिएको के रहेछ भनेर यकिन गर्न चुम्बक खसाल्न खोजिएको हो। बस रहेछ भने त चुम्बकले प्रतिकृया देखाइहाल्छ। अनि गोताखोर पठाउन सकिन्छ।’
तर शंकास्पद स्थानमा चुम्बक पठाउन सहज भने छैन। ‘चुम्बकलाई शंकास्पद ठाउँमा सिधै खसाल्न सकिँदैन। एंगल मिलाएर पठाउनुपर्छ। खोलाको बहाबलाई मेजरमेन्ट गरेर पठाउनुपर्छ,’ उनले भने, ‘नदीको बहाबले चुम्बकलाई ठाउँमा पुग्न दिन्छ कि दिँदैन भन्न सकिँदैन। सक्दो मेहनत लगाएर काम गर्ने हो। उहाँहरुले पनि सुरुबाटै सक्दो गरिरहनुभएको छ। तर खोलाको अवस्थाले गर्दा धेरै गाह्रो भइरहेको छ।’
घुमाउने क्षेत्रमा नदीको छेउमै २५ मिटर जति गहिराइ रहेको र पानी धमिलो पनि रहेकाले खोजीमा समस्या भइरहेको एसपी पुरीले बताए।
असार २८ गते बिहान साढे ३ बजेतिर भरतपुर–२९ स्थित नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जान आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स त्रिशूली नदीमा खसेका थिए।
गणपतिमा ३८ जना र एन्सल्समा २७ जना यात्रू रहेको अनुमान गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी भावेष रिमालकाअनुसार अहिलेसम्म १९ जना यात्रुको शव भेटिएको छ। सनाखत भएका शवमध्ये ५ जना भारतीयका हुन्।
*यसअघि अन्यथा पर्न गएकोले सच्याइएको छ। -सम्पादक