पाँच वर्ष पहिलेका तुलनामा धादिङमा सवारी दुर्घटनाको संख्या ५७ प्रतिशतले घटेको छ।
पृथ्वी राजमार्गसहित ग्रामीण सडकहरूमा गुड्ने सवारीको चाप दिनप्रतिदिन बढ्ने क्रममा रहे पनि दुर्घटनाको संख्यामा भने कमी आएको हो।
आर्थिक वर्ष २०७६/७७ मा एक वर्षमा ४५८ दुर्घटना भएकामा गत आर्थिक वर्ष २०८०/८१ मा १९८ वटा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङको तथ्याङ्कमा देखिएको छ।
पाँच वर्ष पहिलेको दुर्घटना संख्याको तुलनामा गत आर्थिक वर्षमा करिब ५७ प्रतिशतले कमी आएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए।
आर्थिक वर्ष २०७६/७७ मा २७ दुर्घटनाको मुद्दा दर्ता भएको र ४३१ दुर्घटना मिलापत्रबाट टुङ्ग्याइएको तथ्याङ्कले देखाए पनि मृतक र घाइतेको संख्या प्रहरीसँग छैन। आर्थिक वर्ष २०७७/७८ मा भन्दा गत आर्थिक वर्षमा मृत्यु हुनेको संख्या २५ प्रतिशतले कमी आएको देखिएको छ।
पछिल्लो दुई वर्षमा भने मृत्यु हुनेको संख्या उस्तै छ। सडक दुर्घटनामा आर्थिक वर्ष २०७७/७८ मा ५९ जना, २०७८/७९ मा ७९ जना, २०७९/८० मा ४३ जना र २०८०/८१ मा ४४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ।
दुर्घटनामा संलग्न ठूला तथा मझौला सवारीको संख्यामा पनि कमी आएको छ। तर दुर्घटनामा संलग्न हुने साना सवारीको संख्या भने पाँच वर्षयताको तुलनामा खासै घटेको छैन।
आर्थिक वर्ष २०७६/७७ मा ३३७ वटा ठूला सवारी, १८३ मझौला सवारी र २२८ साना सवारी दुर्घटनामा संलग्न भएकामा गत आर्थिक वर्ष २०८०/८१ मा ८५ वटा ठूला सवारी, ७५ वटा मझौला सवारी र २१७ वटा साना सवारी दुर्घटनामा भएको छ। ठूला सवारीको दाँजोमा साना सवारी तीव्रगतिमा हुँइकिने र बढी दुर्घटनामा पर्ने गरेको प्रहरीको भनाइ छ।
तथ्याङ्कानुसार पछिल्लो एक वर्षमा दुर्घटनामा परेर जिल्लामा पुरुष ३५, महिला तीन र बालबालिका छ गरी ४४ जनाको मृत्यु भएको छ।
दुर्घटनामा परी ४३६ जना घाइते भएका छन्। मृत्यु हुने र घाइते हुने दुवैमा पुरुषको संख्या बढी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी दिए।
आर्थिक वर्ष २०७७/७८ देखि चार वर्षमा भएको एक हजार ४०१ दुर्घटनाबाट मृत्यु हुनेको संख्या २२५ जना पुगेको छ। ती दुर्घटनाबाट दुई हजार ५०७ जना घाइते भएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङका प्रमुख, प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठका अनुसार सवारीसाधनको चाप दिनानुदिन बढ्दो क्रममा रहे पनि सडक सुरक्षामा प्रहरीको सक्रियता बढेकै कारण दुर्घटनाको संख्यामा उल्लेख्य रूपले कमी आएको हो।
‘पछिल्ला वर्षहरूमा सवारीसाधनको चाप अद्यावधिक बढेको छ तर दुर्घटना संख्या घटेको छ। यसलाई हामीले उपलब्धिका रूपमा लिएका छौँ,’ प्रहरी निरीक्षक श्रेष्ठले भने, ‘सवारीको चाप बढेसँगै बढ्न सक्ने सम्भावित दुर्घटनालाई कम गराउन सक्नु ट्राफिक प्रहरीसहित तीनै तहका प्रहरीको उपलब्धि हो।’
जिल्लामा गत फागुन २३ गते गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको यात्रुबस दुर्घटनामा १२ र भदौ ६ गते गजुरीकै घहरामा भएको यात्रु बस दुर्घटनामा नौजना गरी दुई दुर्घटनामा मात्रै २१ जनाको मृत्यु थियो।
यो नै मानवीय क्षति बढी भएको गत वर्षको सबैभन्दा ठूला दुर्घटना हुन्।