राप्ती नदीमा माछा मार्दै गरेका व्यक्तिहरूलाई गस्तीमा हिँडेका नेपाली सेनाले यौनजन्य हिंसा गरेको आरोप लागेको छ।
चितवन राष्ट्रिय निकुञ्जमा कार्यरत नेपाली सेनाले माछा मार्नेहरूलाई कानूनअनुसार कारबाही गर्नुपर्नेमा शारीरिक यातना र यौनजन्य हिंसा गरेको आरोप मेघौलीका बासिन्दाले लगाएका छन्।
शनिबार दिउँसो झुल प्रयोग गरेर माछा मारिरहेका ६ जनालाई सेनाको गस्ती टोलीले नियन्त्रणमा लिएको थियो। भरतपुर-२७ मेघौलीकी रमिला (नाम परिवर्तन) ले सुरूमा सेनाको टोलीले अश्लील शब्दले गाली गर्दै कुटपिट गरेका थिए। त्यसपछि सबैको माथिल्लो भागको कपडा फुकाल्न लगाई बयरको काँडा भएको ठाउँमा लडिबडी खेल्न लगाएको उनले बताइन्।
‘त्यसपछि उनीहरूले हामीलाई १ किलोमिटर जति दौडिन लगाए। उठबस गराए,’ उनले भनिन्, ‘उनीहरू मनलाग्दी गाली गर्दै पिटिरहेका थिए।’
उनकाअनुसार सेनाको समूहमा रहेका मध्ये एक जनाले उनी र श्रीमान रमेश (नाम परिवर्तन) लाई ढुंगा बोक्न लगाएर जंगलतर्फ लगे। अरू तीन जनाले माछा मार्ने बाँकी चार जनालाई लिएर अर्कोतिर गए।
‘जंगलको बीचमा लगेपछि तिमीहरूको सम्बन्ध के हो भनेर सोधे। हामीले श्रीमान-श्रीमती हौं, एउटा बच्चा पनि छ भन्यौं। उनले श्रीमान-श्रीमती हौं भने कपडा फुकाल भने। सुरूमा हामी दुबैले मानेनौं। खुरुक्क कपडा खोल नत्र गोली हान्छु भनेपछि बुढाले कट्टु खोले। टिसर्ट त पहिले नै खोलेका थिए। कट्टु पनि खोलेपछि नांगै भए। मलाई साह्रै अप्ठेरो लाग्यो। म उभिराखेको थिएँ। ओए केटी तँ पनि कपडा फुकाल भनेर कराए। म थ्याच्चै बसें। म खोल्दै खोल्दिनँ कपडा भनें,’ उनले भनिन्, ‘गोली हान्छु भनेर धम्काइरहेका थिए। तर मैले जे सुकै गर्नु, बरू जतासुकै जान तयार छु म कपडा खोल्दिनँ भनें।’
सेनाले डर देखाउँदै कहिले श्रीमान-श्रीमती हो भने शारीरिक सम्पर्क गरेर देखा भन्ने, कहिले किस गर भनेको, कहिले गित गाएर नाच्न लगाएको बताइन्।
श्रीमान रमेशले तँ नाइके होस् भन्दै भाटा, बुटले हानेको बताए। यति सब गरेपछि अन्तिममा कसैलाई भनिस् भने घरमै आएर गोली ठोकिदिन्छु भनेर धम्काएको दाबी उनले गरे।
माछा मार्न जाँदा नेपाली सेनाबाट विभिन्न किसिमको यातना भोग्न बाध्य भन्दै उनीहरूले साँझ टोल विकास समितिसँग गुहार मागेका थिए। टोल विकास समितिले मेघौली क्षेत्रका अगुवाहरूलाई खबर गरेपछि ४०-५० जनाको समूह मेघौली विमानस्थल नजिकै रहेको सेनाको व्यारेक (गुल्म) मा पुगेको थियो। त्यहाँ उनीहरूले स्थानीयबासीलाई यातना दिने सैनिकहरूलाई कारबाही गर्न माग गरे।
गुल्मका मेजर कोकिल प्रजाले घटनाको छानविन, अनुसन्धान गर्ने र दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाएपछि उनीहरू फर्किएका थिए।
‘हामी त्यति प्रतिवद्धताले मान्नेवाला थिएनौं। हामीले कानुन विपरीत यातना दिने सेनाहरूलाई अगाडि ल्याएर माफी माग्नुपर्ने माग राखेका थियौं। उहाँहरू मान्नुभएन। यहाँका विपन्न समुदायले धेरै वर्षदेखि सेनाको यस्तो ज्यादती भोगिरहेका छन्। घरमा एक जना पाहुना आए भने पनि दुःख दिन आइहाल्छन्,’ मेघौली सिसौघारी सुकुम्बासी टोल विकास समितिका अध्यक्ष श्याम विकले भने, ‘सुन्नुपर्नेले कहिल्यै हाम्रो कुरा सुन्दैन। यहाँ तपाईंसँग कुरा गरेर पनि कसैले सुन्ला जस्तो लाग्दैन। बरू समाचार आयो भने किन बोलिस् भनेर झन् दुःख दिने होलान् हामीलाई।’
लामो समयदेखि जंगलको निउरो र खोलाको माछामा निर्भर रहँदै आएको यहाँका सुकुम्बासी समुदायलाई नयाँ विकल्प दिने काम कहिल्यै नगरी एकोतारो दबाउने काममात्रै गरिएको गुनासो उनको छ।
५० वर्षीया सोममाया (नाम परिवर्तन) ले यस्तो घटनामा पनि समाजले कुरा उठाएन भने अरूले पनि यस्तै यातना भोग्नुपर्ने दिन आउनसक्ने बताउँछिन्।
‘यती बोल्यो भने आएर केही गरिहाल्ने हुन् कि भन्ने डर पनि छ। तर बोल्न त परिहाल्यो। नबोले त गाउँका छोरी चेली जोगाउन पनि गाह्रो होला जस्तो भइसक्यो,’ उनले भनिन्।
मेघौली उपभोक्ता समितिका अध्यक्ष मायाराम महतो माछा मार्न गएकाहरूले भनेजस्तै हो भने सेनाले असाध्यै नराम्रो काम गरेको बताउँछन्।
नेपाली सेनाको नयाँ गोरख गणका गणपति दीपक टण्डन क्षेत्रीले (सोमबारमात्रै सरूवा भएका छन्) राप्ती नदीमा माछा मार्न गएका केही व्यक्तीले सेनाले यातना दियो भनेर आरोप लगाएपछि आन्तरिक छानविन सुरू भएको बताए।
‘मलाई सेनाले उनीहरूले आरोप लगाएजस्तो यातना दिए भन्ने लाग्दैन। कसैले पनि गर्न नहुने काम अनुशासनमा बस्ने सेनाले गर्छ भन्ने मलाई लाग्दैन। तर पनि आरोप आइसकेपछि हामीले अनुसन्धान सुरू गरेका छौं,’ उनले भने, ‘यदी गलत गरेका रहेछन् भने सैनिक ऐनअनुसार कारबाही हुन्छ। अहिलेका लागि त्यो आरोपमात्रै हो। उनीहरूले आरोप लगाए झैं गरिएको कुनै प्रमाण देखिएको छैन।’
उनले मेघौली क्षेत्रका बासिन्दाले जंगल, खोलामा जान पाउनुपर्छ भनेर धेरै नै दबाब दिने गरेको र त्यसैका लागि यो आरोप लगाएको हुनसक्ने दाबी पनि गरे।
‘एउटा कुरा चाहिँ हाम्रो टोलीले पनि गल्ती गरे। उनीहरूले नियन्त्रणमा लिएर निकुञ्ज प्रशासनलाई बुझाउनुपर्थ्यो। पैसा छैन जरिवाना तिर्ने भनेपछि टोलीको दया, माया पलाएछ। दौडाउने, उठ-बस गराउने गरेछन्। त्यो त गर्न पाइँदैन, नगरेको भए हुनेथियो। आगामी दिनमा यस्ता कमजोरी नगर्न हामी सचेत रहन्छौं,’ टण्डनले भने।
छानविनको क्रममा कसुरदार भेटिए बचाउने काम सेनाले नगर्ने उनले बताए।
चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले राप्ती नदीमा माछा मार्नु निकुञ्ज ऐन विपरीत रहेको र सेनाले समातेर कारबाही गर्नु पनि गलत भएको बताए।
‘यो विषयमा सेनाले पनि अनुसन्धान गर्दै रहेछ। अनुसन्धानले के भन्छ त्यो हेरौं,’ उनले भने, ‘हामीले पनि आफ्नो तरिकाले बुझिरहेका छौं। कोही पनि कानुन भन्दा बाहिर जान मिल्दैन।’
संरक्षण अधिकृत तिवारीले बिना लाइसेन्स नदीमा माछा मार्नेलाई सचेत गराउने देखि नियन्त्रणमा लिएर तोकिएको जरिवाना गराउने गरिएको बताए। सेनाले निकुञ्ज ऐनविरूद्धको गतिविधि भएको अवस्थामा नियन्त्रणमा लिएर प्रशासनमा बुझाउनमात्रै मिल्ने टिओआर भएको उनले बताए।
‘आरोप आएको छ। त्यो सत्य देखियो भने कारबाहीको दायरामा जसरी पनि आउँछ,’ उनले भने, ‘कारबाहीका क्रममा मानवअधिकार हननका घटना नहुन् भन्नेमा हामी सधैं सचेत छौं। विगतमा गलत गरेको भेटिएपछि सेनालाई नै कारबाही भएका घटना पनि छन्। यो घटना पनि पुष्टि भयो भने कारबाही हुन्छ।’