प्युठानको माण्डवी गाउँपालिका–५ छापका ठाकुर घर्तीमगरलाई चैतेधान भित्र्याउने चटारो छ।
ठाकुरले ४ रोपनी जमिनमा धान खेती गरेका छन्। वर्षमा तीन बाली खेती गर्छन्। धान पाक्ने बित्तिकै त्यसलाई भित्र्याइहाल्ने र अर्को बालीको सुरसार गर्नुपर्ने भएकाले ठाकुरलाई अहिले चटारो छ।
‘तीन बाली लगाउँदा अन्न वर्ष दिन पुग्छ। केही बीउ बिक्री पनि हुन्छ। त्यसो हुँदा एउटै खेतबाट आम्दानीको स्रोत थपिएको छ,’ ठाकुरले भने।
परम्परागत धानको बीउलाई त्यागेर उन्नत जातको धान रोप्दा उत्पादन वृद्धि भएपछि आम्दानी पनि बढेको उनले बताए।
ठाकुरजस्तै माण्डवी गाउँपालिका-५ का ९४ जना किसानले ६५० रोपनीभन्दा बढी जमिनमा चैतेधान खेती गरेका छन्।
तीमध्ये कतिपय किसानले धान भित्र्याइसकेका छन् भने कोही भित्र्याउने तयारीमा छन्।
धान भित्र्याएका खेतमा बर्खेधान रोप्न बेर्ना तयार भइसकेको छ। जिल्लामा प्युठान नगरपालिकाको झिमरुक फाँट, ऐरावती गाउँपालिकाको गोठिवाङ, सरङबेँसी, डाबरा फाँट, माण्डवी गाउँपालिकाको रुद्रपुर फाँट, मल्लरानी गाउँपालिका छापेखोलाका फाँट र स्वर्गद्धारी नगरपालिका केही स्थानमा चैतेधान हुँदै आएको छ।
धानको उत्पादन र उत्पादकत्व बढाउन काम गर्दै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ प्युठानले चैते धानखेतीको प्रवर्द्धन गर्दै आएको छ।
चैते धान रोप्ने किसानलाई बीउमा ५० प्रतिशत अनुदान, कुलो निर्माणमा ८५ प्रतिशत, मलमा ५० प्रतिशत र विषादी र प्राविधिक सहयोगमा निःशुल्क प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले उपलब्ध गराएको छ ।
किसानलाई जमिन बाँझो नराख्न प्रोत्साहन गरी उत्पादनमा जोड दिइएको परियोजनाका प्रमुख चुमान गिरीले बताए।
गत वर्ष १ हजार ३५० रोपनीमा चैतेधान लगाइएको थियोभने यो वर्ष २ हजार ६०० रोपनीमा खेती भएको छ।
परियोजनाप्रमुख गिरीका अनुसार जिल्लामा परम्परागत रूपमा धेरै फाँटमा चैतेधान रोपिए पनि पछिल्लो समय यो ४ सय रोपनीमा सीमित थियो।
प्युठानको २२ हजार हेक्टर खेतीयोग्य भूमिमध्ये ६ हजार ५७५ हेक्टरमा धानखेती हुँदै आएको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका प्रमुख उमेश श्रेष्ठले जानकारी दिए।
गत वर्ष जिल्लामा २१ हजार ९६७ मेट्रिक टन धान उत्पादन भएको थियो।