सर्वसाधारणलाई झुक्याएर अनुचित लाभ लिएको अभियोगमा दाङ प्रहरीले सात जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँच महिला र दुई पुरूष छन्। उनीहरूमध्ये एक पुरूष र एक महिला श्रीमानश्रीमती हुन्।
जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार अनुचित लेनदेनको मुख्य योजनाकार ५७ वर्षीया माधवा बस्नेत हुन्। तुलसीपुर उपमहानगरपालिका- १८ बिजौरी घर भएकी उनी पछिल्लो समय घोराही उपमहानगरपालिका– १५ बिपी चोकमा बस्दै आएकी थिइन्।
बस्नेतले करिब दुई दर्जन मानिसबाट अनुचित लाभ लिएको र झन्डै एक करोड रूपैयाँ हाराहारी ठगी गरेको एसपी केसीले बताए।
'आरोपितले ऋण दिने र मिटरब्याजमा असुल्ने, खाली चेकमा हस्ताक्षर गराई आफूखुसी रकम भर्ने गरेको देखिएको छ,' एसपी केसीले भने, 'खाली चेक आफ्ना श्रीमान र अन्य चिनजानका मानिसका नाममा काटेर बाउन्स गर्न लगाउँथिन् र मुद्दा हाल्थिन्। चेकमा आफूखुसी रकम भरेर घरबाससमेत लिएको जोहरी पनि परेको छ।'
जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद तिमल्सिनाका अनुसार बस्नेतले साँवाब्याज असुलिसकेपछि ऋणीले चेक वा तमसुक माग्दा हराएको वा आफूले च्यातिदिएको भन्थिन्। तर ती खाली चेक आफूखुसी भर्थिन्। चेक बाउन्स भएपछि आफू वा श्रीमानमार्फत जिल्ला अदालतमा चेक अनादर सम्बन्धी मुद्दा दायर पनि गर्थिन्।
'आफ्ना नजिकका नातेदारलाई लोभलालच देखाई केही तमसुक उनीहरूको नाममा गराएको देखिएको छ,' डिएसपी तिमिल्सिनाले भने।
जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय घोराहीले माधवा बस्नेत र उनका श्रीमान ५८ वर्षीय धर्मबहादुर बस्नेतसित घोराही-१५ कै यामाकुमारी बस्नेत, ५३ वर्षीया पार्वता केसी, ३४ वर्षीया ममता केसी डिसी, ३७ वर्षीया ऋषा बोहरा र घोराही-८ का तिलकबहादुर महरा क्षेत्रीलाई पक्राउ गरेको हो।
उनीहरूविरूद्ध अदालतबाट म्याद थप भई अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ।