काठमाडौं महानगरपालिकाले कोर-सिटीका विभिन्न टोलको नाम चिनाउन राखेका बोर्ड विवादमा परेपछि वडा नम्बर २४ ले संशोधन गरेर नयाँ हालेको छ।
उक्त वडाले 'इन्द्रचोक' लेखिएको बोर्ड हटाएर त्यसको ठाउँमा प्राचीन मौलिक नाम 'वंघ' लेखिएको नयाँ बोर्ड राखेको हो। नयाँ बोर्डमा नेपाली, रञ्जना लिपि र अंग्रेजीमा वंघ लेखिएको छ।
यसअघि नेपाली र अंग्रेजीमा 'इन्द्रचोक' लेखेर रञ्जना लिपिमा मात्र 'वंघ' लेखिएको थियो। सबैले पढ्न सक्ने अक्षरमा इन्द्रचोक लेख्ने, अनि कमैले मात्र उच्चारण गर्न सक्ने रञ्जना लिपिमा वंघ: लेख्दा वास्तविक नाम लोप भएर जाने भन्दै स्थानीयहरूले विरोध गरेपछि वडा कार्यालयले संशोधन गरेको हो।
हामीले यसबारे वडा नम्बर २४ का अध्यक्ष विनोदकुमार राजभण्डारीसँग कुरा गर्दा उनले पुरानो बोर्डको चौतर्फी विरोध भएपछि सच्याएर नयाँ राखिएको बताए।
'स्थानीयहरूले रञ्जना लिपिमा लेखेको शब्द नै नेपाली र अंग्रेजीमा लेखिनुपर्छ भन्ने सुझाव दिएका थिए। त्यही सुझावअनुसार हामीले वंघ:को बोर्ड परिवर्तन गरेर नयाँ राखेका छौं,' उनले शनिबार सेतोपाटीसँग भने, 'अन्य टोलमा पनि यस्तै सुझाव आयो भने त्यसैअनुसार परिवर्तन गर्नेछौं।'
उनका अनुसार २४ वडाका १२ वटा मूल चोकमा तामाको पातामा लेखेर टोलको नाम राखिएको छ। बाँकी रहेका भित्री चोकमा पनि बिस्तारै नाम राख्दै जाने तयारी रहेको उनले बताए।
अहिले इन्द्रचोक भनेर प्रख्यात ठाउँलाई वंघः भन्नुका पछाडि सांस्कृतिक कारण छ। काठमाडौं सभ्यतासँग जोडिएका दुई महत्त्वपूर्ण नदी बागमती र विष्णुमती प्राचीन कालमा यही ठाउँमा आएर जोडिने र एउटै नदी भएर बग्ने विवरण विभिन्न वंशावलीमा पाइन्छ। त्यसैले यो ठाउँलाई सुरूमा 'ह्वंगः' भनिन्थ्यो। नेपाल भाषामा ह्वंगःको अर्थ दोभान हो। ह्वंगः नै अपभ्रंस भएर वंघः बनेको हो।
इन्द्रचोकमा बागमती र विष्णुमती दोभानको कुनै पनि अवशेष वा प्रमाण भने अहिलेसम्म भेटिएको छैन।
काठमाडौंका स्थानीय बूढापाका अझै पनि यो ठाउँलाई वंघः भनेर चिन्छन्। इन्द्रचोक भन्दा उनीहरू अलमलिन्छन्। नयाँ पुस्ताका धेरैलाई भने वंघः भनेको कता भन्ने थाहा छैन। स्थान-नामको बोर्डमै नेपाली र अंग्रेजी अक्षरमा वंघ: लेख्यो भने सबैले पढ्न सक्ने र हराउँदै गएको पुरानो नाम फेरि जीवित हुन्छ भन्ने स्थानीयको भनाइ छ।
हामीले शुक्रबार कोर-सिटीका २५ जनासँग महानगरले राखेको स्थान-नामको बोर्डबारे कुराकानी गरेका थियौं। धेरैले मौलिक नाम लेखिनुपर्छ भनेका थिए।
'पुरानो नाम पढ्दा केही समय नयाँ पुस्ता अलमलिएलान्। बिस्तारै बानी पर्दै जान्छ,' काठमाडौं कोर-सिटीका स्थानीय एञ्जिललाल महर्जनले भने, 'थाहा नपाउने वा नबुझेकाहरूले सोधखोज गर्छन्। हामीले नसुधार्ने हो भने यो कुरा कहिल्यै सुध्रिन्न।'
यो पनि पढ्नुहोस्: