राज्यका निकायमा दलित समुदायलाई बेवास्ता गरिएको भन्दै ३२ वर्षीय खगेन्द्र सुनार नेल लगाएर ५ दिनदेखि माइतीघर मण्डलमा धर्ना बसिरहेका छन्।
उनी गत बुधबार (२३ गते) देखि साढे २ किलोको नेल लगाएर धर्नामा बसेका हुन्।
उनी बिहान १० बजेदेखि साँझ ५/६ बजेसम्म माइतीघर र साँझ रत्नपार्क शान्तिबाटिका पार्कमा धर्ना बस्ने गर्छन्।
सरकार निर्माण तथा राजनीति नियुक्तिमा दलित सुमदायलाई बेवास्ता गर्नुका साथै मुद्दामा समेत पन्छाइएकाले धर्नामा बस्नुपरेकाे उनले बताए।
असार ३१ गते संघीय संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा दोस्रो दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने।
त्यही दिन प्रधानमन्त्रीसहित २२ सदस्यीय मन्त्रिपरिषद् गठन भयो। तर त्यसमा दलित समुदायका एक जनालाई पनि समावेश गरिएन।
मन्त्रिपरिषद समावेशी बनाउन ठूला दल नै अनिच्छुक देखिए। एमालेबाट सचिव छविलाल विश्वकर्मा र कांग्रेसका सहमहामन्त्री जीवन परियारको नाम चर्चामा थियो। अन्तिम समयमा उनीहरूकाे नाम काटियो।
यसको व्यापक विरोध भएपछि साउन १८ गते गरेको तीन राज्यमन्त्रीमा कांग्रेस निकट रूप विकलाई वन तथा वातावरण राज्यमन्त्री बनाइएको छ।
संविधानको धारा ४० मा राज्यका सबै निकायमा दलितलाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी गराउनुपर्ने उल्लेख छ। दलितको हकअन्तर्गत यो व्यवस्था गरिएको हो।
राष्ट्रिय जनगणना २०७८ अनुसार दलित समुदायको जनसंख्या ३९ लाखभन्दा बढी छ।
प्रतिनिधि सभामा दलित समुदायका सांसदको प्रतिनिधित्व गराइएको प्रतिनिधि सभामा हाल सत्तारूढ दल कांग्रेस र नेकपा एमालेसहित १६ जना दलित समुदायका सांसद छन्।
तर सरकार गठन हुँदा भने दलित समुदाय छुट्दै आएको छ।
'दलित निषेधित सिंहदरबार बन्यो। प्रदेशको अवस्था पनि उस्तै छ,' उनले भने, 'दलित समुदायलाई राज्यका निकायमा स्थान दिनुपर्छ भन्नेमा यहाँका दलहरू छैनन्। उनीहरूले दलित समुदायलाई उपेक्षा गर्दै आएका छन्।'
सरकार गठनसँगै दलितका मुद्दामासमेत पछाडि पार्न थालिएपछि समुदायलाई जागरूक गराउन धर्ना बस्न बाध्य भएको उनले बताए।
मृत्यु दण्ड नभएको देशमा नेल लगाएर गोलघरभित्र राख्नु सबैभन्दा ठूलो सजाय हो। त्यसैले सत्ताले दलित समुदायलाई यसरी नै बाधिएर राखिएको छ भन्ने सन्देश दिन नेल लगाइएको उनले बताए।
'लोकतन्त्र नै सबैभन्दा सुधारिएको व्यवस्था हो। यसमा पनि १३.८ प्रतिशत जनसंख्या भएको समुदायको प्रतिनिधित्व नगराइएको र दलित समुदायका मुद्दाहरूमा समेत चासो देखाइएको छैन,' उनले भने।
अन्तरजातिय प्रेम सम्बन्धका कारण ज्यान गुमाएका काभ्रे पाँचखाल नगरपालिका-६ का अजित मिजारको शव ८ वर्षदेखि टिचिङ अस्पतालमै छ।
बलात्कारपछि हत्या भएका दलित बालिका र महिलाहरूको मुद्दा अदालतमा त्यसै थन्किएको छ। दलित समुदायलाई हरेक कुरामा पछाडि पारिएको प्रष्ट पार्न यी दृष्टान्त काफी भएको उनले बताए।
उनको धर्नामा विभिन्न अगुवाहरूले साथ दिइरहेका छन्। उनीहरूले पनि सुनारकै जस्तो 'दलित खै' भनिएको प्लाकार्ड बोकेर प्रदर्शन गरिरहेका छन्।
सुनारको यो धर्नामा डिजिटल र प्रत्यक्ष उपस्थित भएर सयौं जोडिएका छन्। यसले दलित समुदायमाथि गरेको बेवास्ताबारे सबैलाई ज्ञात हुने उनको अपेक्षा छ।
उनले सरकारसँग ५ बुँदे माग पनि राखेका छन्।
पहिलो, संंघ तथा प्रदेश सरकार र राजनीतिक नियुक्तिमा १३.८ प्रतिशत दलित अनिवार्य गर्नुपर्ने, संवैधानिक रूपमा व्यवस्था गरिएको आरक्षण, समानुपातिक समावेशी व्यवस्था कार्यान्वयन तथा दलितका संवैधानिक हक कार्यान्वयनका लागि तत्काल कानुन निर्माण गर्नुपर्ने।
त्यस्तै १३.८ प्रतिशत दलित प्रत्यक्षतर्फ नै निर्वाचन हुनेगरी निर्वाचन कानुन निर्माण गर्नुपर्ने, दलित समुदायमाथि भएका घटनाको न्याय निरूपणका लागि छानबिन आयोग गठन गर्नुपर्ने, बजेट तथा राज्यका स्रोत–शक्तिको बाँडफाट दलितमैत्री हुनुपर्ने उनको माग छ।
आफ्ना मागबारे सरकार र जनता जागरूक नभएसम्म निरन्तर धर्ना दिइरहने उनको भनाइ छ।
दलित समुदायलाई पुन एकपल्ट जागरूक गराउन संविधान दिवस अर्थात 'असोज ३ आफ्नो लागि एक दिन' भन्ने नाराका साथ दलित समुदायलाई सडकमा उतार्ने योजना रहेको उनले सुनाए।
'हामी माग्न आन्दोलन गर्न लागेका होइनौं, आफ्नो अधिकार लिन हो,' उनले भने, 'पुर्खाले बुझेका थिएनन्, सहेका थिए। अब हामी सहदैनौं।'
धर्नामा बसेको ५ दिनसम्म कुनै पनि निकायले चासो देखाएका छैनन्। यसमा सरकारले बेवास्ता गरे पनि सातै प्रदेशका कार्यालयमा नेल लगाएर प्रर्दशन गर्ने र देशभरका दलित समुदायको मुद्दा संकलन गर्ने उनले बताए।
उनका अनुसार प्रत्येक जिल्ला अदालतमा दलितसमुदायका मुद्दाको चाङ छ। उनीहरू कसैको साथ सहयोग नपाएर आवाज उठाउन सकेका छैनन्। उनीहरूलाई दलित आन्दोलनको साथसहयोग आवश्यक छ।
दलित समुदाय एकजुट हुन नसकेरै मुद्दाहरू ओझेलमा पारिएको छ। चार वर्षको अवलोकन र अध्ययनपछि आफू यो निचोडमा पुगेको उनले बताए।
दैलेखमा जन्मिएका उनी पत्रकारिता पेसामा थिए। रूकुम सोतीमा मारिएको नवराज विकसहित ६ जनाको हत्याले आफूलाई जन्माएको उनी बताउँछन्।
'जातीयताकै कारण यसरी ६/६ जनाको ज्यान गुमाउनुपरेको कुराले मन छोयो, त्यसपछि समाज सुधारका निम्ति लागि परेको हुँ,' उनले भने, 'इतिहासका दलित आन्दोलनहरू ओझेलमा परे। एकपल्ट पुन: जगाउनुपर्छ।'
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी