सोलुखुम्बुको चर्चित पर्यटकीय केन्द्र मानिने खुम्बु क्षेत्र जाने बाटैमा पर्ने थामे बजारलाई शुक्रबार दिउँसो हिमताल विष्फोट भएर उर्लेको भेलबाढीले तहसनहस पारेपछि हिमालीक्षेत्रको जोखिमबारे चर्चा हुन थालेको छ।
हिमालमा रहेका पाँचमध्ये दुईटा हिमताल विष्फोट भएपछिको भेलमा मिसिएका भीमकाय ढुंगा, गेग्रान र लेदोले सुन्दर थामेलाई एकैछिनमा उराठलाग्दो बगर बनाइदिएको छ।
हिमताल विष्फोट भएर निम्तिएको यस्तो विकराल विपद थामेमा मात्रै थामिएर रहने अवस्था भने छैन।
नेपालको पूर्व–पश्चिम वारपार फैलिएको हिमाली क्षेत्र र चिनियाँ भूभागतिर रहेका धेरै हिमतालहरू जुनसुकै बेला विष्फोट हुने जोखिमपूर्ण अवस्थामा छन्।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले चार वर्षअघि नेपाल सरकारसँगको सहकार्यमा गरेको अध्ययनले नेपाल, चीन र भारत गरी ४७ वटा हिमताल उच्च जोखिमयुक्त रहेको र तीनले नेपालमा असर पुर्याउने देखाएको थियो।
नेपालका २१ वटा हिमताल जुनसुकै बेला विष्फोट हुनसक्ने उच्च जोखिममा रहेको औंल्याएको थियो। उच्च जोखिममा रहेका २१ मध्ये कोशी नदीको जलाधार क्षेत्रमा १८ वटा, गण्डकी नदीको जलाधार क्षेत्रमा २ वटा र कर्णाली नदीको जलाधार क्षेत्रमा एउटा हिमताल विष्फोटको जोखिममा रहेको अध्ययन प्रतिवेदनको निष्कर्ष थियो।
इसिमोडमा कार्यरत वरिष्ठ जलवायु परिवर्तन विशेषज्ञ डा.अरूणभक्त श्रेष्ठका अनुसार सन् २०२० मा सार्वजनिक भएको उक्त अध्ययन प्रतिवेदनले चीनतर्फका २५ वटा हिमताल पनि एकदमै जोखिममा रहेको र ती विष्फोट भए नेपाललाई झनै ठूलो असर गर्नसक्ने सम्भावना औंल्याएको थियो।
‘त्यसबेला हामीले नेपाल, चीन र भारतका हिमतालहरूको अध्ययन गरेका थियौं, चीन र भारतका पनि त्यस्ता हिमताल जसले नेपालतिर असर गर्नसक्थे’, उनले भने ‘त्यसबेलाको अध्ययनको निष्कर्ष अनुसार नेपाल प्रभावित हुनसक्ने क्षेत्रमा ४७ वटा हिमताल जोखिममा रहेको पाएका थियौं। जसमध्ये २१ वटा नेपालका, चीनका २५ र भारतको एउटा ताल उच्च जोखिमयुक्त पाएका थियौं।’
चीनका २५ वटा जोखिमपूर्ण हिमतालमध्ये २४ वटा तालले नेपालको कोशी जलाधार क्षेत्रमा जोखिम बढाउने ठहर गरेको प्रतिवेदनमा एउटा हिमतालले गण्डकी जलाधार क्षेत्रमा प्रभाव पार्ने उल्लेख थियो। भारतीय भूमिमा रहेको एउटा हिमताल पनि उच्च जोखिममा रहेको र त्यसले कर्णाली जलाधार क्षेत्रलाई जोखिममा पार्ने सम्भावना रहेको देखिएको थियो।
हिमतालहरूको विष्फोटको जोखिम आकलन गर्न विभिन्न मापदण्डलाई आधार बनाइएको श्रेष्ठले बताए।
‘हामीले धेरैवटा क्राइटेरिया बनाएर जोखिमको आकलन गरेका थियौं,' उनले भने ‘हिमतालको आकार, त्यसको आकारमा आएको परिवर्तन र बढ्ने क्रम, त्यसको वरिपरिको अवस्थिति तथा हिमतालको पानी रोकेर राख्ने प्राकृतिक बाँध बलियो छ कि छैन भन्ने आधार लिएका थियौं। यस्ता थुप्रै मापदण्डका आधारमा जोखिम आकलन गरिएको थियो।'
विपद् क्षेत्रका विज्ञहरूका अनुसार पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मै फैलिएको नेपालको हिमाली क्षेत्र अनि चीनको स्वशासित क्षेत्र तिब्बतसहति गरेर साढे तीन हजारभन्दा बढी संख्यामा सानाठूला हिमतालहरू छन्।
तिनैमध्येका ४७ वटालाई चार वर्षअघिको अध्ययनले जोखिमपूर्ण भनेको हो। शुक्रबार सोलुमा विष्फोट भएका दुईटा ताल तिनै जोखिमयुक्त ४७ वटा भित्रैका हुन् कि बेग्लै भन्ने यकिन नभइसकेको विज्ञहरू बताउँछन्।
कोशी प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिका विज्ञ सदस्य रामकुमार दाहालले सन् २०२० पछि हिमतालहरूबारे नेपालमा अध्ययन नभएको बताए।
त्यसबेला नेपाल संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को ‘ग्लोबल क्लाइमेट फेसिलिटी’ नामक फन्डिङ एजेन्सीमा प्रवेश गर्न लागेको थियो। त्यसका लागि हिमतालहरूको नयाँ तथ्यांक र अवस्था चाहिने भएपछि सरकारकै आग्रह र सहकार्यमा इसिमोडले अध्ययन गरेको थियो।
इसिमोडका जलवायु परिवर्तन विशेषज्ञ श्रेष्ठले उक्त अध्ययन सरकारसमेतको सहभागितामा भएको र सरकारलाई मात्रै नभइ आम रूपमा पनि प्रतिवेदन सार्वजनिक गरिएको बताउँछन्।
तर, सरकारी निकायहरू भने चार वर्ष अघिको अध्ययनबारे धेरै उल्लेख गर्दैनन्। यो अध्ययनलाई आधार मानेर सरकारी निकायले थप अध्ययन तथा जोखिम न्यूनिकरण, विपदको पूर्वव्यवस्थापन गरेको पनि देखिन्न।
राष्ट्रिय विपद् व्यवस्थापन तथा न्यूनीकरण प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले यसबारे सरकारी तवरमा कुनै जानकारी नभएको बताए।
थामेभन्दा माथिल्लो क्षेत्रमा पाँच वटा हिमतालहरू छन् भन्ने कुरा नै यसैपटक मात्रै थाहा पाएको प्राधिकरणले ती तालहरू विष्फोटको जोखिममा छन् भन्ने थाहा पाउने कुरै भएन।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले पनि अनुमान मात्रै गरेका छन्। प्रतिवेदनबारे कतै उल्लेख गरेका छैनन्।
‘हाम्रा हिमालमुनि थुप्रै हिमताल, तलैया छन्। त्यस्ता ताल फुट्ने अवस्थामा पुगेका हुन सक्छन्’, विपद् विज्ञ पोखरेलले सेतोपाटीसँगको कुराकानीमा भनेका छन् ‘ती तालहरूको अध्ययन गर्नुपर्छ। जोखिम आकलन र विश्लेषण गर्नुपर्छ। जोखिम न्यूनीकरणमा लागिहाल्नु पर्नेछ।’
प्राधिकरणका प्रवक्ता भट्टराईलाई थामे क्षेत्रमा जोखिमबारे केही पूर्व तयारी वा म्यापिङहरू भएको थियो भनेर पनि हामीले सोधेका छौं।
‘नेपालमा हिमतालहरू फुट्ने जोखिम उच्च छ भन्ने अनुमान थियो। तर थामे नै जोखिममा छ भन्ने जानकारी थिएन। त्यसैले त्यहाँ म्यापिङ लगायतका पूर्वतयारी भएको थिएन,’ उनले भने।
इसिमोडले दिएको जानकारी अनुसार थामेमै पनि यसअघि हिमताल फुटेर बाढी आइसकेको छ। सन् १९८५ मा दिच्छो नामक हिमताल विष्फोट हुँदा काम सकिन लागेको हाइड्रोपावरसहितका संरचनामा ठूलो क्षति पुर्याएको श्रेष्ठले बताए। दिच्छो हिमताल एकदमै ठूलो रहेको उनले जानकारी दिए।
प्रदेश सरकारको स्थापनाकालदेखि नै कोशीमा विज्ञका रूपमा सरकारसँग जोडिएर काम गरिरहेका रामकुमार दाहालको भनाइमा नेपालभरी नै हिमताल विष्फोटको जोखिम उच्च छ। त्यसमध्ये पनि सबैभन्दा धेरै जोखिम कोशी प्रदेशमा देखिन्छ।
‘हिमतालहरू लामो समयदेखि जमेर बसेका हुन्छन्। त्यसक्रममा केही सुकेर जान्छन् भने केही नयाँ पनि थपिनसक्ने हुन्छ’, दाहालले भने ‘पहिलेका धेरै हिमतालहरू सुक्दै गएका पनि हुनसक्छन्। तलतलका हिउँको मात्रा घट्दै जाँदा माथि नयाँ तालहरू बन्दै गएको हुनसक्छ। अहिले जति हिमताल छन् पहिले त्यतिधेरै संख्यामा थिएनन्। यसपटक थामे मास्तिर दुईटा ताल विष्फोट भए। ती साना तालहरू हुन्। यदि ठूलो तालहरू विष्फोट भएको भए क्षति यत्तिमै सिमित नहुनसक्थ्यो।’
कोशी प्रदेशमा तीन वटा हिमाली जिल्लाहरू छन्, सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङ। यी तीन हिमाली जिल्लाको शिरमा ठ्याक्कै कति हिमताल छन् भन्ने यकिन तथ्यांक सरकारसँग छैन। विपद् क्षेत्रमै अध्ययन र काम गरिरहेकाहरूसँग पनि यसको जानकारी छैन।
हिमतालहरू कुनै पनि नदीको जलाधार क्षेत्रमा हुन्छन्। जस अनुसार कोशीका हिमाली नदीहरूको जलाधार क्षेत्रमा सबैभन्दा धेरै जोखिमयुक्त हिमतालहरू रहेको दाहालले बताए।
‘नेपाल र चीनका सबै हिमतालहरूलाई एकैठाउँ राखेर हेर्ने हो भने सुनकोशी नदीको जलाधार क्षेत्रमा सबैभन्दा धेरै जोखिममा रहेका २१ हिमतालहरू छन्, सोलुमा विष्फोट भएका दुई ताल यही जलाधार क्षेत्रका हुन्’ दाहालले भने ‘तमोर नदीको जलाधार क्षेत्रमा ४ वटा जोखिमयुक्त हिमताल छन् भने अरूण नदीको जलाधार क्षेत्रमा १७ वटा हिमतालहरू उच्च जोखिममा रहेको भन्न सकिन्छ।’
संखुवासभाको शिरमा रहेको वरूण हिमताल यो जलाधार क्षेत्रको सबैभन्दा ठूलो र खतरामा रहेको हिमताल हो। दुई किलोमिटर लम्बाई र डेढ किलोमिटर चौडाइमा फैलिएको यसको गहिराइ अहिलेसम्म नाप्नै नसकिएको दाहालको भनाइ छ।
सरकारी निकायले म्यापिङसमेत नगरेको थामे क्षेत्रमा हिमताल फुटेर बाढी पसेको दिन त्यहाँको अधिकतम तापक्रम १५ दशमलव ९ डिग्री सेल्सियस थियो।
गतवर्ष नाम्चे बजारमा १२ डिग्री सेल्सियस तापक्रम पुग्दा ठूलो हल्लाखल्ला भएको थियो। ‘तापक्रम तीव्र रूपमा बढेकै कारणले हिमताल फुटेको हो अरू मानवीय कुनै कारणले होइन’, प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले भने ‘त्यहाँको प्राकृतिक अवस्था खल्बल्याउने गरी कुनै पनि मानवीय गतिविधि भएको देखिएन। यो नितान्त जलवायु परिवर्तनको परिणाम थियो।’
विज्ञहरूका अनुसार तापक्रम अधिक रूपमा बढ्ने वैशाखदेखि असोजसम्मको अवधिमा हिमतालहरू विष्फोट हुने जोखिम उच्च हुन्छ। ‘जाडोमा हिमाली क्षेत्रलाई नै केन्द्रविन्दू बनाएर भूकम्प गयो भने बेग्लै कुरा नत्र जाडोमा हिमताल फुट्दैन’, दाहालले भने ‘जाडोमा हिमपहिरो खस्नसक्छ। तर, हिमताल भने गर्मीमा मात्रै विष्फोट हुने हो। गर्मीमा तीव्र हिमस्खलन हुन्छ, हिउँ पग्लिन्छन्। हिउँ पग्लेपछि ठूला हिमताल बन्छन्।’
यसरी गर्मीमा हिमताल बन्ने क्रम जसरी बढ्छ, त्यसलाई रोकेर–छेकेर राखेको तल्लो भागमा चाप अधिक हुन थाल्छ।
‘अत्यधिक चाप धान्न तल्लो भागले नसकेपछि विष्फोट हुन्छ। हिउँले माटो पक्रेपछि त्यो ज्यादै खुकुलो हुने र फुट्ने प्रक्रिया झनै तीव्र हुने दाहालले जानकारी दिए।
नेपालमा अहिलेसम्म २४ वटा हिमताल फुटेको अभिलेख छ। इसिमोडका श्रेष्ठले दिएको जानकारी अनुसार हिमताल फुट्ने क्रम सानो ठूलो रूपमा नियमित जसो नै जारी छ।।
‘तिब्बतमा २०१६ मा हिमताल फुटेर भोटेकोशीमा ठूलो बाढी आएको थियो। त्यसले थुप्रै क्षति भयो’, उनले भने ‘ हुम्लातिर पनि सानो सानो ताल फुटेको छ विगतमा।’
सोलुका पछिल्ला दुई हिमताल विष्फोटको घटना थपिएपछि यो संख्या २६ पुगेको छ।
थामेमा ठूलो धनमालको क्षति हुने गरी पसेको हिमतालबाट निस्केको बाढीले विपद्का क्षेत्रमा नयाँ पाठ सिकाएको विज्ञहरू बताउँछन्। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले यो घटनालाई पाठका रूपमा लिनुपर्ने बताएका छन्।
कोशीका विज्ञ दाहालले यसअघिका २४ वटा हिमताल विष्फोटका घटनापछि पनि सरकारी तहबाट आवश्यक पूर्व तयारी नभएको बताउँदै यो शैलीले ठूलो त्रासदी निम्त्याउने खतरा रहेको बताए।
‘हामीले यसअघिका घटनाबाट पाठ सिकेर पर्याप्त अध्ययन, अनुसन्धान र पूर्वतयारी गर्नुपर्थ्यो’, उनले भने ‘अहिलेसम्म गर्न सकिएन। तर, थामे घटना ठूलो पाठ बन्नसक्छ। तत्कालै जोखिम अध्ययन र न्यूनीकरणमा लाग्नुको विकल्प छैन।’
बाह्रै महिना हिउँको साम्राज्य फैलिने हिमाली क्षेत्रमा रहेका साना र कतिपय ठूला हिमतालहरूलाई मानवीय प्रयासले जोखिमरहित बनाउन सम्भव हुने विज्ञहरू बताउँछन्।
‘हिमतालहरूको जोखिम मानवीय प्रयासले टार्न सकिन्छ। च्छो रोल्पा यस्तै एउटा प्रमाण हो’, दाहालले थपे ‘नेपाली सेनाले साइफन लगाएर त्यहाँको पानी बाहिर पठायो। हुन त उच्च पर्वतीय क्षेत्रमा यस्तो काम गर्न धेरै जोखिम छ। तर, यही । चुनौतीपूर्ण काम गर्न चाहिँ सकिन्छ।’
उनका अनुसार अहिले जाम भएर बसेको ताललाई विस्तारै खोलेर त्यहाँ जमेको पानीलाई बाहिर पठाउन सकिन्छ।
‘हिउँमा काम गर्नुपर्ने भएकाले जाडो याममा गर्न सकिन्न’, दाहालले भने ‘काम गर्ने भए यही बेलामा गर्नुपर्छ। तालबाट निरन्तर सानो पानी बाहिर पठाउँदै जाने ताकि त्यहाँ जम्मा भएर रहन नपाओस्। अति महँगो र चुनौतीपूर्ण यो काम गर्नुको अर्को विकल्प पनि छैन।’
विपद् प्राधिकरणका प्रमुख कार्यकारी पोखरेल पनि मानवीय प्रयासबाट हिमतालको जोखिम कम गर्न सकिने बताउँछन्।
‘दक्षिण एसियामै हेर्ने हो भने पहिलोपटक तामाकोसीमाथिको च्छोराल्पा र सोलुखुम्बुकै इम्जा हिमतालको जोखिम कम गरेको राम्रो अनुभव हामीसँग छ’, उनले भने ‘हाम्रो अनुभवबाट प्रभावित भएर भारतको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण ले हामीसँग अन्तक्रिया गरिराखेको हुन्छ। अघिल्लो वर्ष मात्र हामीले त्यस्तो अन्तक्रिया गरेका थियौं।’
उनका अनुसार कर्णाली, कोसी लगायतका जलाधार क्षेत्रका हिमतालको जोखिम घटाउन खर्चिलो छ। एउटै हिमतालको जोखिम न्यूनीकरण गर्न २० देखि ५० लाख डलर खर्च हुन्छ। हिमतालको आकार, भूअवस्थिति हेरेर कति खर्च लाग्छ अनुमान गर्न सकिने उनले बताए। ‘हामीसँग भएको स्रोत मात्र अपुग हुन्छ। हिमतालको जोखिम जलवायु परिवर्तनसँग जोडिएर आएको छ। हिमतालहरूको जोखिम न्यूनीकरण गर्ने, उपकरण राखेर ट्र्याकिङ गर्ने र निरन्तर नियमन गर्न सकेमात्र यस्ता विपत्तिबाट हुने जनधनको क्षति कम गर्न सकिन्छ।’
यो पनि:
हेलिकप्टरबाट देखिएको हिमताल विस्फोटपछिको दृश्य, अनिल पोखरेलको विश्लेषण (भिडिओ)
थामे पुग्दा जे देखियो
कुरूवा मात्रै थिए लेदोसहितको बाढीले बगाएको थामेका घर र होटलमा
प्रहरी तीन दिनदेखि खोजेको खोज्यै, थामे बाढीमा 'बेपत्ता' व्यक्ति घरमा थुनिएको थुनियै
थामे बाढीले मितेरी पुल भत्काउँदा सोलुका दुई पालिकाको सडक सम्पर्क टुट्यो