रूकुम पश्चिमका एक व्यक्तिको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीले त्रिवेणी गाउँपालिका-४ दम्दुका ४३ वर्षीय डिलबहादुर बुढाको हत्या आरोपमा एकै घरका तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सोही वडाको कल्टाकुराका ६१ वर्षीय मोहवीर खत्री, उनका छोरा २६ वर्षीय सन्तोष केसी र बुहारी २४ वर्षीया मिना बुढाथोकी छन्।
सोमबार बिहान स्थानीयको सूचनाका आधारमा पुगेको प्रहरीले डिलबहादुरको हत्या भएको अवस्थामा मोहवीरको घरमा शव फेला पारेको थियो।
डिलबहादुरको घर मोहवीरको घरभन्दा दुई-अढाई किलोमिटर टाढा पर्छ। आइतबार बेलुकीपख डिलबहादुर गाउँ घर घुम्दै गर्दा मोहवीरसँग भेट भएको थियो। त्यसपछि उनीहरू आपसमा सल्लाह गरी मोहवीरको घरमा पुगे।
त्यहाँ उनीहरूले मदिरा सेवन गरे। केही बेरपछि मोहवीर सुत्न गए। डिलबहादुर भने भान्सामा बसेर एक्लै मदिरा सेवन गरिरहेका थिए। भान्सामा मोहवीरकी कान्छी बुहारी मिना पनि थिइन्। मदिरा पिएका डिलबहादुरले मिनालाई अश्लील र अपशब्द प्रयोग गरे। उनीहरूबीच केहीबेर वादविवाद भयो।
मिनाले प्रहरीलाई दिएको बयान अनुसार डिलबहादुरका कुरा सुनेर उनी आवेगमा आइन् र चिर्पट टिपेर टाउकोमा हिर्काइन्। त्यतिखेर हल्लाखल्ला भयो। मिनाका श्रीमान सन्तोष छिमेकीको घरमा मोबाइल चार्ज गर्न गएका थिए। मिना चिच्याएको सुनेर दौडिएर घर आए र मिनालाई सोधे। मिनाले आफूलाई अपशब्द भनेकाले चिर्पटले हानेको भनिन्।
त्यो सुनेर आवेगमा आएका सन्तोषले फेरि त्यही चिर्पटले डिलबहादुरको टाउकोमा प्रहार गरेको बयान प्रहरी समक्ष गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज पोख्रेलले बताए।
आइतबार बेलुका साढे ७ बजेतिर नै डिलबहादुरको हत्या भएको अनुमान छ। घटना अनुसन्धान गरिरहेका जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बखतबहादुर शाहीका अनुसार केसी दम्पतीले आफूहरूको आक्रमणबाट डिलबहादुरको हत्या हुन गएको बयान गरेका छन्।
उनीहरूका बुबा मोहवीरलाई पनि प्रहरीले पक्राउ गरेको छ। घटनामा उनको संलग्नता भएको वा नभएको भन्नेबारे थप अनुसन्धान जारी छ।
'अपशब्द बोलेको सहन नसकेर चिर्पटले टाउकोमा हानेकी हुँ भन्ने बयान मिनाले गरेकी छन्,' प्रहरी निरीक्षक शाहीले भने, ‘सन्तोष आएपछि उनले पनि सोही चिर्पटले टाउकोमा प्रहार गर्दा डिलबहादुरको मृत्यु हुन गएको भनेकी छन्।'
डिलबहादुरको शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल सल्लेमा पुर्याइएको शाहीले बताए।
घटनाबारे थप अनुसन्धान बाँकी रहेको प्रहरीले जनाएको छ।