यो घटना विकट गाउँको होइन, राजधानी सहरको हो। जहाँ एक महिलालाई आफूविरूद्ध भएको बलात्कार प्रयासको घटना दर्ता गर्न ५ दिन लाग्यो। अरू धेरै निकायमा धाउनुपर्यो। बल्लबल्ल उजुरी दर्ता भए पनि अहिलेसम्म आरोपीहरूलाई प्रहरीले पक्राउ गरेको छैन।
३० वर्षीया 'जावलाखेल २' (परिवर्तित नाम) आफ्ना पतिसँगै बस्न भनेर असार ३० गते ललितपुर कुपण्डोलस्थित घुसिंगलमा आइपुगेकी थिइन्। उनका श्रीमान डाक्टर हुन्। जावलाखेल २ आफैले पनि पिएचडी गरेकी छन्। पतिसँगै बस्ने र आफूले पनि केही काम गर्ने मनसायका साथ काठमाडौं आइपुगेकी जावलाखेल २ आएको पर्सिपल्टदेखि मुद्दा लिएर प्रहरीकहाँ धाउनुपर्यो।
असार ३१ गते जावलाखेल २ कोठामा बसिरहेकी थिइन्। उनका श्रीमान भने कोठामा थिएनन्। उनका देवर पनि सँगै बस्दै आएका थिए।
'एक्लै थिएँ। म बेडमै निदाएछु। त्यतिबेला मेरो पेटमा कसैले हात राखेको थाहा पाएर झस्किएँ। म झटपट उठ्न लाग्दा देवरका साथी सचिनले कहिले आउनुभयो भनेको थियो। त्यसपछि मेरो देवर र सचिन दुवैले मलाई ओछ्यानमा लडाए। मेरो ज्यानमा हात हाले। कपडा बाहिरैबाट स्तन, पेट लगायतका संवेदनशील अंगमा हात हाले, मैले प्रतिकार गरेँ। तर उनीहरू दुवैको अघि मलाई गाह्रो परिरहेको थियो। म चिच्याएँ त्यही बेला देवरका अर्का साथी विपुल आइपुगे। तर उनले पनि दुवै जनासँग मिलेर मलाई जबरजस्ती गर्न थाले। म कसैगरी फुत्केर एउटा सामान भेटेर उनीहरूलाई त्यसैले हानेँ। र चिच्याएँ,' उनले भनिन्।
प्रतिकार गरेपछि देवर र उनका साथीले आफूमाथि कुटपिट गरेको उनको भनाइ छ।
आफूलाई बचाउन पटक पटक चिच्चाइरहँदा छिमेकीहरूले थाहा पाएपछि जोगिन सकेको जावलाखेल २ ले बताइन्। तर प्रतिकार गर्दा र उनीहरूले जबरजस्ती गर्ने क्रममा आफ्ना शरीरका गोप्य अंगसहित अन्य भागमा चोट लागेको उनको भनाइ छ।
छिमेकी आउन थालेपछि देवरसहित तीनै जना भागेको जावलाखेल २ ले बताएकी छन्।
उनका अनुसार घटनास्थलमा छिमेकी र उनका श्रीमान जम्मा भएसँगै उनी तत्काल नजिककै प्रहरी कार्यालय सानेपा पुगेकी थिइन्।
'श्रीमानले घरायसी कुरा हो। हामी घरमै मिलाउँछौं भनेर प्रहरीलाई बताएपछि त्यहाँका प्रहरीले मान्नुभयो,' उनले भनिन्, 'त्यो दिन आफूमाथि के के भएको भनेर भन्न सक्ने अवस्थामा थिइनँ र त्यसै फर्किएँ।'
श्रीमानले उनलाई पटक-पटक घरायसी कुरा भएकाले पारिवारिक माहोलमै मिलाउन दबाब दिए। तर उनले आफूमाथि बलात्कारको प्रयास भएकाले कानुनी कारबाहीमा जाने निधो गरिन्।
घटनाको भोलिपल्ट साउन १ गते ललितपुर जिल्ला प्रहरी परिसर जावलाखेलमा उजुरी दिन पुगिन्। उनलाई सानेपामा आफ्नो घटनाक्रम बताउन जाँदा कसैले जिल्ला प्रहरी परिसर जावलाखेलमा जानुपर्छ भनेको सुनेकी थिइन्।
घटनाको रात छिमेकीहरूले नै उनलाई यस्ता घटनामा जावलाखेल जानुपर्ने बताएका थिए। छिमेकीहरूले बताए अनुसार नै उनी साउन १ गते जिल्ला प्रहरी परिसर जावलाखेल पुगिन्।
उनी ८ बजे नै कार्यालय आएकी थिइन्। त्यतिबेला कार्यालयका फाट्टफुट्टमात्र मानिसहरू मात्र आएको उनी बताउँछिन्।
'दुई घन्टा कार्यालय अगाडि रूदै बसेँ,' उनले भनिन्, 'साढे १० भएपछि गेटमा प्रवेश गरेर भित्र पसेँ।'
उनका अनुसार प्रवेश गर्नेबेलामा आफूमाथि भएका घटनाबारे विस्तृतमा बताइन्। त्यहाँका प्रहरीले उनलाई महिला सेलको कक्षमा पुर्याइदिए।
उनले महिला सेलमा आफ्ना कुरा राख्न डेढ दुई घन्टा कुर्नुपर्यो।
उनले बताए अनुसार उनलाई महिला प्रहरीको नाम थाहा छैन। तर दुई घन्टापछि ती महिला प्रहरीलाई आफूमाथि भएको सारा घटना सुनाइन्। प्रहरीले घटना सुनेपछि चोटको फोटो पनि खिचेकी थिइन्।
'लगभग एक घन्टा कुराकानी भएपछि एसएसपी शेखर खनाल वा अन्य प्रहरीसँग कुराकानी गर्नुपर्ने भनेर पर्खाउनु भयो,' उनले भनिन्, 'मिटिङमा हुनुहुन्छ, व्यस्त हुनुहुन्छ, एकछिन अझै पर्खिनुपर्ने भयो भन्दाभन्दै पहिलो दिन त्यसै बित्यो।'
उनी बिहान ८ बजे प्रहरी परिसरको कार्यालय पुगेकी थिइन्। साँझ ८ बजे श्रीमानकै डेरामा पुगिन्। श्रीमानले फोन नउठाएको र कोठामा नभएकाले त्यहाँ एक्लै बस्न डराएर भाइको डेरा पुगेको उनले बताइन्।
उनको भाइ शंखमूलस्थित डेरा बस्थे। भाइलाई जानकारी गराएर उनी त्यही गइन्।
उनी दोस्रो दिन पनि महिला सेलमा आएर दिनभर बसेर फर्किइन्। तेस्रो दिन पनि त्यही त्यस्तै भयो।
'तपाईंको श्रीमानले घरायसी झगडामा कुटपिट मात्र भएको छ भन्नुभएको छ, तपाईंहरूको कुरा बाझियो भनेर आलटाल गर्यो,' उनले भनिन्, 'प्रहरीले पीडितको भन्दा पनि श्रीमानको कुरा सुन्नुभयो, मेरो श्रीमानले त्यहाँ प्रहरीलाई घरायसी झगडा भनेर फोन गरेका रहेछन्।'
उनले थपिन्, 'त्यसैले प्रहरीले बेवास्ता गरेको भन्ने लाग्यो, पीडितको कुरा पनि सुनिदिनुपर्यो भनेर त्यहाँ कर्मचारीलाई आग्रह गरेँ।'
तेस्रो दिन पनि कसैले वास्ता नगरेपछि चौथो दिन साथीहरू र अभियन्ताहरूलाई लिएर गएको थिइन्। त्यो दिन पनि प्रहरीले चासो नदेखाएको उनको आरोप छ।
चौथो दिन भने शरीरमा चोटपटक लागेकाले आफन्तहरूले मेडिकल चेकअप गर्न सल्लाह दिए। उनले बताएअनुसार यौनांगमा औंला हालेकाले चोट लागेको थियो। त्यसैले पनि उनी आफन्तको सल्लाह मानेर पाटन अस्पतालमा गएर स्वास्थ्य परीक्षण गर्न तयार भइन्।
पाटन अस्पतालमा आफ्नो पीडा सुनाएपछि ओसीएन्सीले नि:शुल्क स्वास्थ्य परीक्षण गरिदिएको उनले बताइन्। स्वास्थ्य परीक्षण गरेर आफन्तहरूको साथमा सिडिओ कार्यालय र सरकारी वकिलसम्म पुगिन्।
सिडिओ कार्यालयमा पनि त्यहाँका कर्मचारीले उनका कुरा सुने तर कुनै सहयोग गरेनन्। सरकारी वकिल कार्यालयबाट भने उनलाई केन्द्रीय प्रहरी कार्यालयको कर्मचारी नम्बर दिए।
त्यहाँ पनि उनले आफ्नो पीडा सुनाइन्। सरकारी कार्यालयले पनि प्रहरीमा खबर गरिदिने भनेर त्यहाँबाट फर्काइदिएको उनी बताउँछिन्।
'पाँचौँ दिन शनिबार भए पनि प्रहरी कार्यालय आएको थिएँ, आएर त्यसै फर्किएँ,' उनले भनिन्, 'छैटौँ दिन भने मेरो जाहेरी दर्ता भयो।'
उनले थपिन्- 'त्यो दिन एसएसपी सरसँग पनि कुरा भयो। उहाँले पनि श्रीमानले घरायसी झगडा परेको हो भनेर यहाँ रिपोर्ट गरेको कुरा मलाई सुनाउनु भयो। तर मेरो कुरा पनि सुन्नुभयो।'
उनको जाहेरी दर्ता भएसँगै प्रहरीले पाटन अस्पतालमा मेडिकलको लागि पठायो।
यसरी उनका अनुसार जावलाखेल २ लाई बलात्कारको प्रयास भएको भनेर उजुरी लिन प्रहरीलाई ५ दिन समय लाग्यो।
'श्रीमानले घरायसी समस्या आफैले मिलाउने भनेर प्रहरीलाई बताएको र प्रहरीले उहाँको कुरा पत्याएकाले समय लागेको हो,' उनले भनिन्, 'ढिलै भए पनि कानुनी कारबाही अघि बढेको भनेर म ढुक्क भएकी थिएँ। तर प्रहरीले मलाई बलात्कार गर्न खोज्नेलाई अहिलेसम्म पक्राउ गरेको छैन।'
उनले जबरजस्ती करणी उद्योग कसुरमा तीन जनालाई कानुनी कारबाहीको माग गर्दै जाहेरी दिएकी छन्।
उनले देवरसँगै रौतहट विश्रामपुर नगरपालिका- ४ स्थायी घर भई हाल ललितपुर महानगरपालिका-२ बस्ने ३५ वर्षीय सचिन यादव, परोहा नगरपालिका-४ घर भई ललितपुर महानगरपालिका वडा नम्बर २ बस्ने २३ वर्षीय विपुल यादवलाई कानुनी कारबाही गर्न माग गरेकी छन्।
'उनीहरूले जबरजस्ती गर्ने नियतले नै त्यस्तो कार्य गरेका थिए, त्यसैले पनि कानुनी कारबाही हुनुपर्छ,' उनले भनिन्, 'यस्तो केसमा माफी दिने भन्ने हुँदैन।'
मुलुकी अपराध संहिता २०७४ अनुसार अठार वर्ष वा अठार वर्षभन्दा बढी उमेरकी महिलालाई जबरजस्ती करणी गरेको भए सात वर्षदेखि दश वर्षसम्म सजायको व्यवस्था गरिएको छ। बलात्कारको प्रयासमात्रै गरेकोमा त्यसको आधा सजाय हुने व्यवस्था छ। जस अनुसार उक्त सजाय अवधि साढे ३ वर्ष देखि ५ वर्षसम्म हुन आउँछ।
सोही कानुनी प्रावधान अनुसार कारबाही हुनुपर्ने उनको माग छ। तर अहिलेसम्म आरोपित व्यक्तिहरू पक्राउ भने परेका छैनन्।
यसबारे हामीले जिल्ला प्रहरी परिसर ललितपुरलाई पनि सोध्यौं।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार उनी जाहेरी दिन आएपछि प्रक्रिया पूरा गरेर दर्ता गरिएको हो।
'जाहेरी आएपछि स्वास्थ्य परीक्षण गरेर, प्रक्रिया अनुसार नै अगाडि बढेका हौं, त्यसमा ढिला चाँडो भन्ने कुरा नै हुँदैन,' उनले भने, 'प्रक्रिया अनुसार नै अगाडि बढेका छौं।'
उनका अनुसार यस घटनाबारे अनुसन्धान भइरहेको छ।
'आरोपित व्यक्तिलाई पक्राउ गर्ने पनि अनुसन्धानकै पाटो हो। प्रहरीले स्थानीय प्रहरी र छिमेकीसँग घटनाबारे सोधपुछ गरिरहेको छ। यस घटनामा धेरै बोल्न मिल्दैन,' एसपी सुवेदीले भने।
यस घटनाका आरोपित तीनै जनाविरूद्ध पक्राउ पुर्जी जारी भइसकेको स्रोतले जानकारी दिएको छ। प्रहरीले उनीहरूलाई खोजिरहेको छ।
उनको यो कानुनी लडाइँमा भने उनका परिवारले साथ दिएका छैनन्।
‘आफ्नै घरभित्रको घटना हो त्यसैले प्रहरीमा जान हुँदैन भनिरहेका छन्। ममाथि देवर र उनका साथीहरूले जे गरे, त्यो घरभित्रको घटना होइन ममाथि भएको अपराध हो भनेर म मुद्दामा गएकी हुँ,’ जावलाखेल २ ले भनिन्, 'यस्ता बेला श्रीमानको साथ पाउने अपेक्षा गरेकी थिएँ। उहाँ आफ्नो भाइलाई बचाउन लाग्नुभयो।'
उनका अनुसार पतिले पारिवारिक घटना भएकाले मेलमिलाप गर्न दबाब दिइरहेका छन्। उनलाई जाहेरी फिर्ता लिएमा घर परिवारमा भित्र्याउने बाचा गरेका छन्। तर उनी अपराध गर्नेलाई त्यसै छाड्न नहुने भन्दै कानुनी लडाइँमा उत्रिएकी छन्।
यस घटनामा अनुसन्धान गरिरहेका प्रहरी अनुसन्धान अधिकृतका अनुसार प्रक्रिया अनुसार नै अध्ययन भइरहेको छ। अनुसन्धानमा कुनै पनि बाधा तथा रोकावट नभएको उनले बताए।