उदयपुरको कटारी नगरपालिका–३ राजावासस्थित फोहोर विर्सजनस्थल (डम्पिङ साइट) मा बुधबार बिहान एक व्यक्ति मृत फेला परेका छन्।
इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक सुवास राईका अनुसार उक्त शव जिल्लाकै ताप्लि गाउँपालिका–१ का ५० वर्षीय कृष्णबहादुर दमाईको हो।
दमाईको नाति पर्ने ३४ वर्षीय मिनबहादुर परियारले शवको बुधबार साँझ पहिचान गरेका हुन्।
'विगत १५ वर्षदेखि घर छोडेर हिँडेका रहेछन्। काठमाडौं हुँदै कटारी आइपुगेका छन्,' उपरीक्षक राईले भने, 'कटारी बजार आसपासमा पुराना खाली बोतल टिपेर हिँड्ने गरेका रहेछन्।'
बेवारिसे शव प्रहरीले कटारी अस्पतालमा परीक्षणका लागि राखेको थियो।
कटारी–३ राजावासका स्थानीय देव ढुंगेलका अनुसार डम्पिङ साइटमा काम काम गर्ने स्थानीय पुग्दा शव देखेका थिए।
'गाउँको मान्छेले डम्पिङ साइटमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए,' ढुंगेलले भने, 'कबाडी टिप्न यहाँ आउने गरेका रहेछन्।'
मदिरा सेवन गरी फोहोरमा सुतेकै अवस्थामा कृष्णबहादुरको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ।
परीक्षणपछि शव परिवारको जिम्मा लगाउने तयारी गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।