बुढेसकाल लागेपछि कपाल फुल्नु स्वाभाविक हो। कतिपयको भने युवावस्था वा कम उमेरमै कपाल तिल-चामले हुन थाल्छ र चिन्ताको कारण पनि बन्छ।
असमयमै कपाल फुल्नुका पछाडि अनेकौं कारण हुन सक्छन्।
अमेरिकाको शिकागो विश्वविद्यालयकी छालाविज्ञान सह-प्राध्यापक डा. भिक्टोरिया बारबोसाका अनुसार प्रायः मानिसको कपाल फुल्ने मुख्य कारण आनुवांशिकी हो। आमाबाबुमध्ये एक जना वा दुवैको युवावस्थामै कपाल फुलेको थियो भने, छोराछोरीको पनि कम उमेरमै कपाल फुल्न सक्छ।
एलोपिसिया एरिआटा नामक कपाल झर्ने रोग र दुबी जस्ता समस्याका कारण पनि कपाल चाँडै फुल्न सक्ने उनी बताउँछिन्।
त्यस्तै मिनेसोटास्थित मेयो क्लिनिककी छालारोग विशेषज्ञ डा. सिन्धुजा सोमिनिदी दामोदरनका अनुसार सामान्यभन्दा धेरै वा थोरै सक्रिय थाइरोइड, किमोथेरापी, मोटोपन, धूमपानका साथै आइरन, क्याल्सियम, भिटामिन-डी र बी-१२ को कमीले पनि असमयमै कपाल फुल्न सक्छ।
कपाल फुल्ने एक कारण तनाव पनि हो भन्ने कतिको सोचाइ छ। हुन पनि तनाव झेल्नुपर्ने महत्त्वपूर्ण पद वा जिम्मेवारी सम्हालेका व्यक्तिहरू छोटो समयमै सेतै फुलेका थुप्रै उदाहरण भेटिन्छन्।
त्यसो भए के साँच्चै तनावका कारण कपाल फुल्छ त? यससम्बन्धी अध्ययनले के भन्छन्?
आउनुस् यसबारे चर्चा गरौं।
यस विषयका बारेमा खोज्ने हो भने कमै मात्र अध्ययन भएको पाइन्छ। र, कुनै पनि अध्ययनले तनाव र असमयमा कपाल फुल्नेबीच सम्बन्ध छ भनेर स्पष्ट रूपमा प्रमाणित गर्न सकेका छैनन्।
विगतका अध्ययनमा सहभागीहरूलाई उनीहरूको कपालको रङ र तनावको स्तरका बारेमा सोधिन्थ्यो। त्यसपछि उनीहरूका उत्तरका आधारमा वैज्ञानिकहरू तनाव र कपाल फुल्ने समस्याबीच कुनै सम्बन्ध छ कि छैन भनेर पत्ता लगाउने प्रयास गर्थे।
उदाहरणका लागि, सन् २०१५ को फेब्रुअरीदेखि जुलाइसम्म वैज्ञानिकहरूले टर्कीका १,११९ वयस्क महिला र पुरूषमा एउटा सर्वेक्षण गरेका थिए। तीमध्ये ३१५ जनाको कपाल फुलेको थियो भने बाँकीको फुलेको थिएन। सहभागीहरूलाई उनीहरूको फुलेको कपालको संख्या, कपाल फुल्न थालेको उमेर, परिवारमा अरू कसैको कपाल फुलेको छ कि छैन आदि विभिन्न प्रश्न सोधिएको थियो।
अध्ययनले के देखायो भने असमयमै कपाल फुलेका सहभागीहरूमा तनावको स्तर बढी थियो। उनीहरूका बाबुआमाको कपाल पनि कम उमेरमै फुलेको थियो। त्यस्तै, विगतमा उनीहरूले मद्यपान गर्ने गरेको र उनीहरूलाई दीर्घरोग लागेको पाइयो।
सन् २०२० मा प्रकाशित एउटा अध्ययन भने मुसामाथि गरिएको थियो। यसमा शोधकर्ताहरूले खोर्सानी जस्तो रसायन भएको सुई दिने लगायतका विभिन्न तरिकाबाट मुसाहरूमा तनाव उत्पन्न गराएका थिए। यसको प्रतिक्रिया स्वरूप मुसाको शरीरले 'नोरेपिनेफ्रिन' नामक तनाव सम्बन्धी हर्मोन निकाल्यो। यो हर्मोनका कारण मुसाहरूको रौंलाई रङ प्रदान गर्ने 'स्टेम सेल' को संख्या कम भयो र तिनीहरूको रौं सेतो भयो।
डा. या-ची सु हार्वर्ड विश्वविद्यालयका प्राध्यापक र यस अध्ययनका एक लेखक हुन्। उनका अनुसार शोधकर्ताहरूले अधिक मात्रामा नोरेपिनेफ्रिन निस्किँदा मानिसहरूको स्टेम सेलमा पनि त्यस्तै असर पर्छ भन्ने प्रयोगशालामा देखाए। यसले मानिसहरूको कपाल फुल्ने र उक्त हर्मोनबीच सम्बन्ध छ भन्ने धारणालाई बल प्रदान गर्यो।
शोधकर्ताहरूले जनावर वा कोषहरूमा कृत्रिम रूपमा उच्च तनावजन्य प्रतिक्रिया उत्पन्न गराउन सक्छन्। तर नैतिक कारणले मानिसहरूमा त्यसो गर्न मिल्दैन। त्यसकारण मानिसहरूमा यो विषयसम्बन्धी अध्ययन गर्नु चुनौतीपूर्ण भएको डा. सु बताउँछन्।
सन् २०२१ मा धेरै वा थोरै कपाल फुलेका १४ जना मानिसहरूमा एउटा सानो अध्ययन गरिएको थियो। शोधकर्ताहरूले ती मानिसहरूबाट रौंका विभिन्न त्यान्द्रा तानेर निकाले। तीमध्ये कतिपय पूरै फुलेका थिए भने कुनै आंशिक रूपमा फुलेका थिए। कुनै फुलेकै थिएनन्। त्यसपछि शोधकर्ताहरूले ती रौंहरूका 'हाइ रिजुलोसन' तस्बिर निकाले र रौं कति छिटो बढ्छ भन्ने अनुमानका आधारमा प्रत्येक त्यान्द्रो फुलेको समयको हिसाब गरे।
अध्ययनमा सहभागीहरूलाई गएको एक वर्षमा कुन कुन समयमा तनावपूर्ण अनुभव भएका थिए भन्ने देखाउन लगाइएको थियो। साथै, ती अनुभवहरूलाई सबैभन्दा कमदेखि सबैभन्दा बढी तनावपूर्णका रूपमा सूचीबद्ध गर्न भनिएको थियो। शोधकर्ताहरूले के पत्ता लगाए भने कुनै सहभागीको रौं फुलेको समय उसको सबैभन्दा तनावपूर्ण क्षणसँग प्राय: मेल खान्थ्यो।
यस अध्ययनका अर्का लेखक मार्टिन पिकार्डका अनुसार कपाल फुल्न सुरू भएको समय र कुनै तनावपूर्ण घटनाबीच सम्बन्ध रहेको यसै अध्ययनले पहिलोपटक देखाएको थियो।
डा. बारबोसाका अनुसार यस अध्ययनले केही मानिसको कपाल फुल्नमा तनावले साँच्चै भूमिका खेल्छ भन्ने वास्तविक प्रमाण दिएको छ।
छाला रोग विशेषज्ञ डा. पराडी मिरमिरानी भन्छिन्, 'यस्ता प्रारम्भिक अध्ययनले कपाल फुल्नुका पछाडि रहेका तनावसँग सम्बन्धित परिवर्तनको पहिचान गर्दै जाने हो भने यसबाट कुनै दिन फुलेको कपाल पुरानै स्वरूपमा फर्काउने उपचार सम्भव छ।'
तर तनाव र कपाल फुल्ने समस्याबीच सम्बन्ध पुष्टि गर्न अझै धेरै मानिसहरूमा ठूलो अध्ययन गर्न आवश्यक रहेको डा. बारबोसा बताउँछिन्।
डा. दामोदरनका अनुसार भविष्यमा गरिने अनुसन्धानले तनावका कारण किन कुनै मानिसको कपाल फुल्छ तर अरूको फुल्दैन भन्ने प्रश्नको उत्तर पनि दिन सक्नेछन्।
तनाव कम गरेमा असमयमै कपाल फुल्ने गति सुस्त बनाउन वा यो प्रक्रिया उल्ट्याउन सकिन्छ वा सकिँदैन?
यो पनि अहिल्यै भन्न सम्भव नभएको शोधकर्ताहरूले जनाएका छन्।