मानव बेचबिखन अनुसन्धान ब्युरोले बेचबिखनको आरोप लागेका ५४ वर्षीय बुद्धिराज न्यौपानेलाई पक्राउ गरेर साउन २८ गते सार्वजनिक गर्यो।
झापा कमल गाउँपालिका वडा नम्बर १ का न्यौपानेलाई ब्युरोको टोलीले काठमाडौं महानगरपालिका वडा-७ गौरीघाटबाट सोही दिन पक्राउ गरेर सार्वजनिक गरेको हो।
न्यौपानेविरूद्ध ४० वर्षीय अन्नपूर्ण (नाम परिवर्तन) ले ग्रीन कार्ड प्रलोभनमा मरिसस पुर्याएर बेचेको भन्दै २०८१ असार २० गते ब्युरोमा जाहेरी दिएकी थिइन्।
उनले दिएको जाहेरीअनुसार नै न्यौपानलाई पक्राउ गरिएको ब्युरोका एसपी एवं प्रवक्ता गौतम मिश्रले जानकारी दिए।
अन्नपूर्ण आफू फर्किएलगत्तै ब्युरोमा जाहेरी दिएकी थिइन्। एक साताअघि उनी आफूले दिएको जाहेरी बुझ्न ब्युरोमा आएकी थिइन्। सोही क्रममा कसरी प्रलोभनमा परेँ र फर्किन सफल भएँ भनेर आफ्ना पीडा सेतोपाटीसँग सुनाएकी छन्।
एक वर्ष अगाडिको कुरा हो।
अन्नपूर्ण आफ्नो घरमा बसिरहेकी थिइन्। गण्डकी प्रदेशमा पर्छ उनको घर। बुद्धिराज उनको छिमेकी साथी राम (नाम परिवर्तन) को घरमा आएका थिए।
छिमेकी साथी रामले बुद्धिराजले वैदेशिक रोजगारीमा पठाउने काम गर्ने गरेको अन्नपूर्णलाई सुनाएका थिए। यसअघि पनि झण्डै डेढ दशक कुवेतमा आफ्ना नङ्ग्रा खियाएर आएकी अन्नपूर्णलाई आफूले काम गर्न सक्ने उमेरमा दुई-चार पैसा बचत गर्ने इच्छा थियो।
यसअघि १५ वर्ष कुवेतमा नङ्ग्रा खियाएको पैसा भने तीन सन्तानको शिक्षा, स्वास्थ्य, घर बनाउन र श्रीमानको उपचारको लागि खर्च गरेको उनले बताइन्।
उनको विदेशको कमाइले परिवार चल्यो तर बचत भने गर्न सकेकी थिइनन्।
२७ वर्षअघि उनी १३ वर्षको हुँदा आफूभन्दा दुई वर्ष जेठासँग विवाह गरेकी थिइन्। कलिलै उमेरमा विवाह गरेकी अन्नपूर्णले लगालग तीन सन्तानलाई जन्म दिइन्।
उनको दुई छोरी र एक छोरा छन्।
जब छोराछोरी स-सानै थिए। उनको श्रीमानको कमाइले परिवार दुईछाक टरेकै थियो। छोराछोरी हुर्किंदै गर्दा उनीहरूको आवश्यकता बढ्दै गयो।
श्रीमानको कमाइले घरव्यवहार चलाउन धौ-धौ भयो। हजारौं महिलाहरू विदेशिएको देखेर उनको मनमा पनि रहर जाग्यो। आफूले पढेलेखेको नभए पनि दुई चार पैसा कमाउने आशमा विदेशिने सपना बुनिन्।
सीप, शिक्षासमेत नभएकी उनलाई वैदेशिक रोजगारीका लागि कुन देश जाने, के गर्ने भन्नेसमेत थाहा थिएन। गाउँघरका दाजुभाइसँग सल्लाह गरेर गाउँकै दलालको सहयोगमा कुवेत जाने पक्का भयो।
योजना बनेको तीन/चार महिनामा कुवेत उडिन्।
घरायसी काममा सहज थिएन। तर पनि छोराछोरीलाई पढाउने, घर बनाउने सपनाले उनलाई हिम्मत हार्न दिएन। धेरै चुनौती र समस्याको बाबजुद काम गरिरहिन्।
उनी विदेशमै हुँदा १४ वर्षअगाडि श्रीमानको उपचार क्रममा मृत्यु भयो। श्रीमानको मृत्यु हुँदा स्वदेश आए पनि छोराछोरीलाई माइतीको सहयोगमा छोडेर पुन: फर्किइन्।
'श्रीमानको उपचारमा कसैसामु हात फैलाउनु परेन, उता कमाएको पैसाले खर्च गरेँ,' उनले भनिन्, 'श्रीमानको मृत्युपश्चात जिम्मेवारी थपिएकाले फर्किन बाध्य भएँ।'
श्रीमानको मृत्युपश्चात उनी तीन महिनामै कुवेत गएकी थिइन्।
त्यहाँ कमाएको पैसाले अन्नपूर्णको छोराछोरी पढाउने र पक्की घर बनाउने सपना पूरा भयो। अलि-अलि बुढेसकालका लागि कमाएर मात्र स्वदेश फर्किने रहर थियो उनको। तर २०७६ मा विश्वभर कोरोना भाइरस फैलिँदा कुवेत पनि प्रभावित भयो।
नेपालमा छोराछोरी एक्लै भइरहेको पिर र कोरोनाले पुन: भेट नहुने डरले त्यहाँ टिकिरहन सकिनन्।
'बाँचे पैसा कमाउन फेरि आउँला भनेर फर्किएँ,' उनले भनिन्, '४ वर्ष छोराछोरीसँगै बसेँ।'
उनका अनुसार विदेशिनेबारे अलमलमा थिइन्। उमेर छँदै दुई चार पैसा कमाउने रहर भने मरेको थिएन। २०८० को सुरूआतीमा छिमेकी साथी रामले विदेश पठाउने बुद्धिराजको बारेमा भनेपछि उनको विदेशिने रहर पुन: जाग्यो।
रामका कुरा सुनेर उनले विदेशिने मनसाय बनाइन्।
सोच बनेसँगै रामको सहयोगमा बुद्धिराजको सम्पर्कमा पुगिन्। बुद्धिराजलाई पनि जालीमा माछा परेझैं भयो। मरिससमा घरेलु काममा राम्रो अवसर छ भनेर अन्नपूर्णलाई विभिन्न प्रलोभनमा पारे।
गाउँघरकै चिनजानको मान्छे भएकाले अन्नपूर्णले बुद्धिराजको कुरामा विश्वास गरिन्।
बुद्धिराजले पनि विश्वास दिलाउनका लागि मरिससका काम गर्ने मालिक भनेर सामाजिक सञ्जालमै कुरा गराएको अन्नपूर्णले सेतोपाटीलाई जानकारी दिइन्।
'मरिससका मानिससँगै कुराकानी गराएपछि साँचो बोलेको होला भन्ने लाग्यो,' अन्नपूर्णले भनिन्, 'मालिकसँग कुराकानी गराए पनि जाने कि नजाने भनेर दोधारमा परेको थिएँ, उहाँले अनेकै सल्लाह सुझाव दिएपछि जाने निधो गरेँ।'
बुद्धिराजले अन्नपूर्णलाई जालमा पारिछाडे।
मासिक ५ सय डलर (नेपाली ७० हजार) कमाइ हुने, घरमालिक धनीमानी भएकाले विभिन्न देशमा घुमाउन लैजाने र केही वर्षमा ग्रीन कार्डसमेत बनाउने भनेपछि अन्नपूर्ण मरिसस जान राजी भइन्।
'ग्रीन कार्ड नै पाउने भएपछि छोराछोरीको भविष्य बन्ने आश पलायो,' उनले भनिन्, 'दुई चार पैसा कमाउने रहर कसलाई हुँदैन र?'
२०८० माघ १३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँ दिल्लीका लागि उडिन्। उनी विमानस्थलभित्र छिर्ने बेलामा बुद्धिराजले अन्नपूर्णलाई 'मरिसस लेखेको क्याप' लगाउन लगाए।
उनले उक्त क्याप दिँदै भनेका थिए- 'यो क्यापसहितको फोटो काम गर्ने ठाउँमा पठाउने हो। यही क्यापले तपाईंलाई चिन्छन्।'
बुद्धिराजले भनेझैं भारतको विमानस्थलमा उनलाई क्यापकै आधारमा पहिचान भयो। उनले त्यहाँ तीनचार घन्टा पर्खिनुपर्यो।
आफूजस्तै क्याप लगाएकी महिला आएपछि ४/५ घन्टापछि मरिससका लागि उडेको उनी बताउँछिन्।
मरिससमा पनि आफूलाई क्यापबाट पहिचान गरेको उनले सेतोपाटीलाई जानकारी दिइन्। मरिससको विमानस्थलमा अन्दाजी ५० वर्षीय पुरूष उनलाई लिन आएका थिए।
विमानस्थलबाट दुवैलाई ती ५० वर्षीय पुरूषले एक घरमा लिएर गए। त्यहाँ गएर बसेको एकदिनमै अन्नपूर्णलाई एक महिला लिन आएकी थिइन्। उनले आफूलाई घर मालिकको बुहारी भएको बताएकी थिइन्। उनी ती महिलासँगै उनको घरमा पुगिन्।
उनीसँगै गएकी महिला कहाँ पुगिन् भन्ने कुरा अन्नपूर्णलाई थाहा छैन। त्यो दिनदेखि उनीसँग सम्पर्क भएको छैन।
उनले काम गर्ने घरमा ५५/६० वर्षीय मालिक, उनकी श्रीमती, एक छोरी र दुई छोरा उनका श्रीमती गरेर ७ जना सदस्य थिए। त्यो घरको छोराबुहारी भने जागिरे भएकाले बिदाको बेलामा मात्र त्यहाँ आउने गर्थे।
धेरैजसो उनी काम गर्ने घरमा मालिक, उनकी श्रीमती र जवान छोरी मात्रै बस्थे। घरको साहुहरू भनिएका श्रीमान-श्रीमतीबीच एकआपसमा कुराकानी भएको भने अन्नपूर्णले कहिले देखिनन्, सुनिनन् पनि।
अन्नपूर्णले उक्त घरमा खाना बनाउने बाहेक सरसफाइ, भाँडा माझ्ने, कपडा धुने सबै काम गर्नुपर्थ्यो। त्यसका लागि उनी बिहान ५ देखि १२ बजेसम्म खटिनुपर्थ्यो।
'रातको १२ बजेभन्दा अघि सुतेको याद छैन,' उनले भनिन्, 'दु:ख सुख गरेर एक महिना बित्यो। तलब आउने दिन छक्क परेँ,' उनले भनिन्, 'नेपाली १५ हजार रूपैयाँ मात्र दिए।'
उनका अनुसार बुद्धिराजले ७० हजार रूपैयाँ मासिक तलब हुने कागजात देखाएको थिए। त्यहाँ पुग्दा उनी अचम्मित भइन्।
उनले नेपालमा आफूलाई ७० हजार रूपैयाँ तलब दिने भनिएको कुरा सुनाइन्। त्यसमा उनले घरधनीले कार्यालयमा काम गर्नेले त ७० हजार रूपैयाँ दिँदैनन्, घरको काम गर्नेले त्यति तलब पाउँछन् भनेर थर्काए।
त्यसपश्चात उनले नेपालबाट जाँदा बुद्धिराजले ७० हजार रूपैयाँ तलब पाउने भनेर दिएको कागजात देखाइन्। त्यसमा नेपाली १७ हजार रूपैयाँ नै लेखिएको रहेछ। तर बुद्धिराजले मरिससको १७ हजार नेपाली ७० हजार रूपैयाँ हुने भनेर झुक्काएको रहेछन्।
उनलाई यो कुरा त्यहाँ पुगेको एक महिनापछि मात्र थाहा भयो।
अन्नपूर्णलाई बुद्धिराजमाथि विश्वास गरेकोमा पछुतो लाग्यो। त्यति थोरै तलबमा भए पनि तत्काल फर्किन सक्ने अवस्था उनको थिएन। साढे दुई लाख रूपैयाँ खर्च गरेर गएकी थिइन्। त्यसैले पनि उनले त्यहाँबाट यसै फर्किएर आउने कल्पना गर्न सकिनन्। बाध्यताले चेपिएर मासिक १५ हजार रूपैयाँमा दैनिक १८ घन्टा काम गरेको उनी बताउँछिन्।
चौथो महिनापछि उनलाई त्यही १५ हजार रूपैयाँ पनि दिएनन्। तलब नदिएपछि साहुलाई सोधिन्। उनको जबाफ सुनेर उनी आफै छक्क परिन्।
'तलब किन चाहियो नेपालको मान्छेले हामीलाई गिफ्ट स्वरूप तँलाई पठाएको हो, मन भुलाउनका लागि मात्र हामीले थोरै रकम दिएका हौं,' उनले भनिन्, 'साहुले त्यति भनेपछि मात्र आफू बेचिएछु भन्ने थाहा पाएँ।'
उनले थपिन्- 'त्यसपछि उनीहरूले कुटपिट गर्ने, यौन शोषण गर्ने गरे।'
उनका अनुसार एउटा बन्द कोठामा थुनेर राखियो। कुटपिट गर्ने, बाहिरको व्यक्तिसँग बोल्न नदिइने, भोक भोकै राख्ने गरे।
'त्यतिमात्र होइन, साहुले पटक पटक बलात्कार गरे,' उनले भनिन्।
उनले जाहेरीमा भनेअनुसार 'सुत्नका लागि दिएको साँघुरो कोठामा चुकुल थिएन, रातको समयमा आएर साहुले बलात्कार गर्ने गरेका थिए,' उनले लेखेकी छन्, 'साहुबाट आफूलाई बचाउन उनले ढोका खोलेको चाल पाउनसाथ शौचालयमा गएर लुकेर बस्ने र गएको चाल पाएपछि बाहिर निस्कने गरेँ।'
यसरी कति दिन कटाउने होला भनेर हिम्मत गरेर रातिको समयमा मालिक आफ्नो कोठामा आउने गरेको कुरा साहुनीलाई र उनकी छोरीलाई बताइन्। तर उनीहरूले अन्नपूर्णले आफ्नो बुबामाथि गलत आरोप लगाएको भन्दै थर्काएको उनी बताउँछिन्।
'गलत आरोप लगाएर होहल्ला गरेमा ज्यानमार्ने धम्की दिएपछि बाँच्दिनँ कि भन्ने डर लग्यो र भाग्ने निर्णय गरेँ,' उनले भनिन्।
उनलाई त्यहाँ बस्न मुस्किल भइरहँदा बुद्धिराजलाई फोन, म्यासेज गरिरहेकी थिइन्। तर उनले कुनै पनि म्यासेजको जबाफ अन्नपूर्णलाई दिएनन्।
बुद्धिराजले म्यासेजको जबाफ नफर्काएपछि उनले सामाजिक सञ्जालदेखि चिनेजानेको सबैलाई आफूलाई उद्धार गरिदिन आग्रह गरिन् तर कसैले सहयोग नगरेको उनको भनाइ छ।
दुई चार दिन उनले के गरी निस्किने भनेर सोच्दै बित्यो।
अन्तत: उनले घरबाट भाग्ने निर्णय गरिन्।
झरी परिरहेको थियो। उनी बस्ने कोठाबाट अगाडिपट्टिको कोठामा झ्यालमा ग्रिल थिएन। त्यहीँबाट आफूले लगाउने सारीलाई गाठो पारेर लामो डोरी बनाएर दुई तलामुनि फालिन्। झ्यालमा सारीको एक भाग बाँधेर त्यहाँबाट तल झरिन्।
उनी काम गर्ने घरमा चारैतिर सिसिक्यामरा जडान गरिएको थियो। उनी क्यामरामा कैद भइन् कि भइनन् भन्ने उनलाई थाहा छैन। भागेर कहाँ जानेसम्म सोचेकी थिइनन्। मध्यरातमा कहाँ जाने भनेर एकैछिन अलमलमा परेको उनले बताइन्।
'मैले काम गर्ने घरमा एक जना दिदी आउने गरेकी थिइन्, उनले कुनैदिन काम पर्यो भने फोन गर्नु भनेर नम्बर दिएर गएकी थिइन्, मध्यराति उनलाई नै फोन गरेँ,' उनले भनिन्, 'साहुको डरले उनको घरमा राख्न मानिनन्। उनले साथीको घरमा पुर्याइदिइन्।'
अन्नपूर्ण ३ दिनसम्म त्यही घरमा लुकेर बसिन्।
कसरी स्वदेश फर्किने भन्ने बाटो उनले पहिल्याउनै सकिनन्। नेपालमै हुँदा सामाजिक सञ्जाल टिकटकमा आफ्ना समस्या बताएपछि उद्धार गरिएको भिडिओहरू उनले देखेको थिइन्। त्यसैले उनले पनि आफू टिकटकमा जोडिने प्रयास गरिन्।
त्यहीको दिदीले एउटा मोबाइल दिएर टिकटक खोलिदिइन्। जसोतसो गरेर टिकटकमा जोडिइन्। लाइभमा धेरैलाई आफ्ना कुरा सुनाउने प्रयास गरिन्। तर कतै मौका मिलेन भने कतिले उनको कुरा सुनेनन्।
तर असारको पहिलो सातातिर पोर्चुगलमा रहेका एक नेपाली युवकको लाइभमा आफ्ना कुरा राख्ने उनले मौका पाइन्।
उनले आफू प्रलोभनमा परेर बेचिएको कुरा ती युवकको लाइभमा राखिन्। ती युवकले मरिससमा भएका साथीहरूको माध्यमबाट उनलाई बिरामी हेरचाहको काम उपलब्ध गराइदिए।
उनले त्यहाँ काम गरेको २२ दिन भएको थियो। अन्नपूर्ण भागेर आएको थाहा भयो र उनीहरूले कामबाट निकालिदिएको उनी बताउँछिन्।
उनीहरूले पुलिस केस भएमा आफू फस्ने डरले निकालिदिएको उनको भनाइ छ।
त्यहाँबाट निकालिदिएपछि पुन: सामाजिक सञ्जालमा हारगुहार गरिन्। त्यही बीच पुन: नेपाली पुरूष जोडिए।
'खान र बस्न दिने तर त्यसको बदलामा आफूसँग यौनसम्बन्ध राख्नुपर्ने सर्त राखे,' उनले भनिन्, 'सर्त नमान्दा सहयोग गरेनन्।'
उनी पुन: पोर्चुगलका युवकसँग जोडिइन्। उनलाई आफू स्वदेश फर्किन चाहेको कुरा राखिन्। उनीमार्फत् जोडिएका नेपाली युवाहरूले सहयोग संकलन गरिदिए।
केही दिनमै ८३ हजार रूपैयाँ संकलन भयो।
त्यही सहयोगमा उनी असार २० गते नेपाल फर्किन सफल भइन्। उनी नेपाल आउनेबित्तिकै घरै नगई ब्युरोमा उजुरी दिन आएको बताउँछिन्।
'नेपालमा पाइला टेकेको दिन पुनर्जन्म भएझैं लाग्यो,आफूजसरी नै अरू बेचबिखनमा नपरून् भनेर कानूनी लडाइँ लड्ने प्रयास गरेकी हुँ,' उनले भनिन्, 'आफूले जेजस्तो भोगे। यी कुरा अरूले भोग्नु नपरोस् भनेर प्रहरीकोमा आएँ।'
उनले यी कुराहरू आफ्ना सन्तानलाई पनि सुनाउन सकेकी छैनन्, यी कुरा सुने भने समाज र परिवारले स्वीकार गर्दैनन् कि भन्ने डर उनमा छ।
उनले प्रहरीमा पनि आफ्ना परिचय गोप्य राख्न अनुरोध गरेकी छन्।
उनले उजुरी दिएको एक महिनापछि बुद्धिराज पक्राउ परेका हुन्। उनले अन्नपूर्णलाई कसरी मरिससमा पुर्याउन सके, अन्य व्यक्तिहरू पनि जोडिएका छन् कि छैनन् भनेर मानव बेचबिखन अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।
ब्युरोका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रका अनुसार बुद्धिराजविरूद्ध अहिलेसम्म अन्नपूर्णलेमात्र जाहेरी दिएकी छन्। उनलाई पक्राउ गरेर सार्वजनिक गरे पनि अहिलेसम्म अन्य व्यक्तिहरू प्रहरी सम्पर्कमा आइपुगेका छैनन्।
'बुद्धिराजले आफूले पठाएकोमा अन्नपूर्ण एक्ली महिला भएको बयान दिएका छन्,' एसपी मिश्रले भने, 'उनले भनेका कुरा सत्य हुन् कि होइन अनुसन्धान भइरहेको छ।'
रोजगारीको प्रलोभनमा पारेर मरिससमात्र होइन पछिल्लो समय विभिन्न युरोपियन देशहरूमा समेत नेपाली महिलाहरू बेचबिखन हुने गरेको उनको भनाइ छ।