विहीबार बिहान भैंसीले हानेर बाघ मरेको खबर एकाएक फैलियो।
चितवन राष्ट्रिय निकुञ्जको टोलीले मनहरी–६ स्थित घटनास्थल (बलबहादुर राईको गोठ) मा पुगेर मुचुल्का उठायो। बाघलाई लिएर चितवन फर्कियो।
भैंसीले बाघ मारेको विषय दिनभर सामाजिक सञ्जालहरूमा छाइराख्यो। बाघभन्दा भैंसी शक्तिशाली रहेछ भन्दै मान्छेहरूले विभिन्न टिप्पणी गरे। तर, बाघसँग लडेको भैंसीको स्वास्थ्य अवस्थातिर प्रायःको ध्यान पुगेन।
रातको समयमा आफूमाथि आक्रमण गर्ने बाघसँग लडेको भैंसीको स्वास्थ्य बिग्रिँदै गएको छ। आफ्नो गर्धनमा आक्रमण गरेको बाघमाथि भैंसी पनि जाइलागेको थियो। पोष्टमर्टमका क्रममा बाघको पछाडिको भाग र टाउकोमा आलो चोट देखिएको थियो। शरीरका विभिन्न भागहरूमा करिब २ हप्ताअघिको जस्तो देखिने गहिरा घाउहरू थिए। त्यसको आधारमा पोष्टमर्टममा संलग्न चिकित्सकहरूले लामो समयदेखि घाइते भएर सिकार गर्न नसकेको भोको र दुब्लो बाघले गर्धनमा झम्टिएपछि भैंसीले प्रतिकार गरेको अनुमान लगाएका छन्।
५६ वर्षीय बलबहादुर राईकाअनुसार घटनापछि भैंसी उठ्न सकेको छैन। चोट लागेको गर्धनको भाग सुन्निएको छ। ‘घटना भएको थाहा पाएपछि निकुञ्जका मान्छेहरू आए, मुचुल्का उठाएर बाघ लिएर गए। तर घाइते भैंसीको उपचारका लागि कुनै व्यवस्था गरेनन्,’ राईले भने, ‘भैंसी छटपटाइरहेको छ। घाँस, कुँडो केही पनि खाएको छैन। ऊ मृत्युसँग लडिरहेको छ, हामी असाध्यै तनावमा छौं।’
निकुञ्जको टोली फर्किएपछि उनीहरूले मनहरीस्थित भेटनरीमा सम्पर्क गरेर औषधिबारे सोधेका थिए। तर बाघले आक्रमण गरेको जनावरका लागि कुनै औषधि नरहेको जवाफ पाएको बलबहादुरका भाइ (काकाका छोरा) शंकर राईले बताए।
‘त्यसपछि घरायसी उपचार गरौं भनेर लागियो। बुझ्दैजाँदा मञ्जन लगाए घाउ कम हुन्छ भन्ने पनि सुनियो। दाइलाई मञ्जन ल्याएर लगाउनुपर्यो भनेको पैसा छैन भन्नुभयो। जसोतसो हामीले मञ्जन किनेर लगायौं,’ उनले भने, ‘तर घाउ निको हुने कुनै संकेत देखिएको छैन। भैंसी झन् बिरामी पर्दै गएको छ।’
यो भैंसी बलबहादुरले ६ महिनाअघि ४० हजार रूपैयाँमा किनेका थिए। सहकारी संस्थाबाट ऋण लिएर किनेको भैंसी दुई हप्ताअघिमात्रै ब्याएको थियो।
‘ब्याएको केही दिनमै पाडो बिरामी भएर मर्यो। भैंसीले दैनिक ८ लिटर दूध दिइरहेको थियो,’ बलबहादुरकी छोरी अञ्जुले भनिन्, ‘एउटा आम्दानीको स्रोत थियो यो। त्यो पनि हरायो।’
अञ्जु सिम्पानीस्थित महेन्द्र किरण माविमा कक्षा ११ मा पढ्छिन्। बलबहादुर र उनकी श्रीमतीले तरकारी, बाख्रा र दूध बेचेर हुने आम्दानीले दुई छोरी र एक छोरालाई पढाउँदै आएका थिए। अर्की छोरी कक्षा १२ र छोरा कक्षा ६ मा पढ्छन्।
‘यो देशमा बाघ नै सबैभन्दा ठूलो रहेछ। बाघबाहेकका अरूलाई बाँच्ने हक पनि रहेनछ भन्ने लाग्यो मलाई यो घटनाबाट। भैंसीलाई बाघले आक्रमण गरेर घाइते बनाएको स्पष्टै छ। तर घाइतेको भैंसीको अवस्था के छ भनेर एक पटक कसैले सोधेको छैन,’ शंकर राई भन्छन्, ‘हामीलाई आक्रमण बनाएर घाइते बनाएको भए पनि त अवस्था यही त हुन्थ्यो होला। मारेकै भएपनि सबैले बाघकै मात्र कुरा गर्ने रहेछन् जस्तो पो लाग्यो मलाई।’
शंकर र बलबहादुरको घर नजिकै छ। उनी बुधबार बारा गएर राति अबेरमात्रै घर फर्किएका थिए। सुतेको केही बेरमा घटना भएको उनले बताए।
‘हामी निस्केर गोठमा जाँदा त भैंसी बाघको शरीरमाथि उफ्रिरहेको थियो। बाघ मरेजस्तो देखेपछि तुरून्तै प्रतापपुर पोष्ट र प्रहरीलाई खबर गरिहाल्यौं,’ उनले भने, ‘मान्छे बाहिर निस्किएको भए त मान्छेलाई नै हान्ने रहेछ। दाम्लोले बाँधेको भैंसी देखेर झम्टिहालेछ।’
बलबहादुरका अनुसार निकुञ्जबाट गएको टोली सिफारिस बनाएर घरको लालपूर्जासहित आउनु भनेर हिँडेका थिए। त्यसपछि सम्पर्क गरेका छैनन्।
‘यता भैंसीको हालत यस्तो छ। यसलाई हेरेर बसौं कि कागजपत्र बोकेर निकुञ्ज जाउँ,’ उनले भने, ‘जंगलभित्र बस्नुपर्ने बाघ बाहिर आएर क्षति पुर्याएपछि उपचार त गरिदिनुपर्ने हो नि।’
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले वन्यजन्तुको आक्रमणबाट घाइते भएका घरपालुवा पशु चौपायाको उपचार गर्ने व्यवस्था नभएको बताए। तैपनी वन्यजन्तु चिकित्सकहरूसँग सल्लाह गरेर उपचारका लागि प्रयास गर्ने उनले बताए।
वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० ले वन्यजन्तुको आक्रमणबाट भैंसी, राँगो, गोरू, उन्नत जातको गाई, घरपालुवा चौंरी, घोडा, खच्चडको मृत्यु भएमा मूल्यांकनको आधारमा बढीमा ६० हजार रूपैयाँ राहत दिन सकिने व्यवस्था गरेको छ।
‘निर्देशिकाले घाइतेको विषयमा केही व्यवस्था गरेको छैन,’ पुनले भने, ‘बाघ र भैंसी दुबैले जीवनको अन्तिम लडाईं लडेका हुन्। बाघ त मरिहाल्यो। बाघले नै आक्रमण गरिसकेपछि भैंसीको चोट पनि सामान्य पक्कै छैन। सकेसम्म निको भए हुन्थ्यो, हामी पनि सकेको सहयोग गर्छौं।’
केही दिनअघिबाटै गाउँ नजिक देखिएको थियो बाघ
स्थानीयवासीले घटना हुनुभन्दा केही दिनअघिदेखि नै उक्त बाघलाई गाउँ नजिकैको जंगलमा देखेका थिए। उनीहरूले गाउँ नजिकै बाघ देखिएको खबर चितवन निकुञ्जको प्रतापपुर पोष्टलाई गरेका थिए।
‘दुई चार हात हिँड्थ्यो, अनि बसिहाल्थ्यो। निकै बेरपछि फेरि हिँड्थ्यो। हामीले भैंसी चराउन जाँदा राप्ती वारि नै यस्तो अवस्थाको बाघ देखेपछि निकुञ्जमा खबर गरेका थियौं। निकुञ्जको टोली हात्ती लिएर आएर खोजेको पनि हो तर भेटाएन,’ स्थानीय शंकर राईले भने, ‘देख्ने मान्छेहरू सबै यो बाघ हिंड्दा हिंड्दै मर्छ भन्थे। निकै कमजोर अवस्थाको बाघ थियो, दाम्लाले बाँधेको भैंसीले पो मारिदिएछ।’