पोखरा–१६ लामाचौरकी आश्मा श्रेष्ठ शनिबार जोकर बनिन्। बाजागाजाको तालमा ताल मिलाउँदै उनी हँसाउन व्यस्त थिइन्। अनौठो पोसाकमा सजिएकी आश्माको अनुहार रङ लगाएर आकर्षक बनाइएको थियो। टाउकोमा टोप ओढेकी थिइन्।
जोकर बनेकी आश्माका चारैतिर चार जना परीहरू थिए। रातो कपडा लगाएकी जेठी परी थिइन् आकांक्षा श्रेष्ठ। यस्तै, पहेँलो पहिरनमा सदिक्षा, निलोमा साइमा र गुलाबीमा अनिता सजिएकी थिइन्। उनीहरूले शिरमा सेतो ताज पहिरिएका थिए। ताजमाथि मयुरको प्वाँख।
उनीहरूका पछाडि बाजा बजाउने समूह थियो। उनीहरूले ठूला ठूला मृदुङ्गा, ढोलकी, झ्याली, सनाई लगायत बाजागाजा बजाए। बाजाका तालमा ताल मिलाउँदै जोकरले हँसाउदै नाचे। परीहरू हाँस्दै नाचे।
नेवा खलः कास्कीले शनिबार पोखरामा आयोजना गरेको तायमचा प्रतियोगितामा नाच देखाएपछि उनीहरू हर्षित देखिए। एक महिना अघिदेखि तयारी गरेर नाच्न जान्ने भएको परी बनेकी आकांक्षाले बताइन्।
'स्टेजमा नाच देखाउन पाउँदा एकदम रमाइलो भयो, गौरव लागेको छ,' उनले भनिन्, 'आफ्नो संस्कृति सिकेर अरूलाई देखाउन पाएँ।'
लामाचौरमा तायमचा नाच्ने ९ वटा ताल छन्। उनीहरूले ७ वटा तालमा मात्र नाच्न पाए। आयोजकले प्रत्येक टोलीलाई १५ मिनेट समय दिएको थियो। दुइटा तालमा नाच्न उनीहरूलाई समय पुगेन।
तायमचा नाचमा विशेषगरी तीनवटा ताल मुख्य रहेको लामाचौरका हरि गोंगजु बताउँछन्। उनीहरूले आफ्नो टोलमा भने ९ वटा तालमा नाच्छन्।
'बाटो हिँड्दा बजाउने ताल, ढोग गर्ने ताल, नमस्ते ताल, ज्वती ताल भनेर बाजाका तालहरूको नामाकरण गरिएको छ,' गोंगजुले भने।
पोखरामा नाचिने तायमचा नाच नेवार समुदायले जनै पूर्णिमादेखि कृष्ण जन्माष्टीसम्म नाच्छन्। विशेषगरी जनै पूर्णिमाका दिन गाईजात्रा निकाल्दा नाचिने नाचबाट गाई झिकेपछि जोकर र परीहरू मात्र बाँकी रहन्छन्। तिनै परीहरू र जोकरको नाच तायमचा नाचका रूपमा स्थापित भएको नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले बताए।
उनका अनुसार नेवार समुदायमा गएको वर्ष बितेका व्यक्तिको सम्झनामा गाईजात्रा निकालिन्छ। गाईजात्रामा परीहरू, जोकर र गाईले नृत्य गर्छन्। स्वर्गको ढोकामा पुगेका मृतक गाईको पुच्छर समातेर स्वर्ग पुगोस् भन्ने कामना गरेर गाईजात्रा निकालिने उनले बताए।
'गाईजात्रा निकालेपछि स्वर्गको ढोका खुल्छ अनि स्वर्ग जान्छ भन्ने विश्वास छ,' पालिखेले भने, 'तायमचामा नृत्य गरेका परीहरू र जोकर स्वर्गबाटै पृथ्वीमा आएको किम्बदन्ती छ। उनीहरू गाईजात्रामा मृतक व्यक्तिको आत्मा स्वर्ग लैजान स्वर्गका राजा इन्द्रले पठाएर धर्ती आउँछन्। अनि नृत्य गर्न थाल्छन्। कृष्ण जन्माष्टमीमा विधिपूर्वक तायमचाको समापन भएपछि अर्को वर्षको गाईजात्रामा यसरी नै तायमचा नृत्य गरिन्छ।'
पोखराका टोलटोलमा अहिले नाचिरहेको तायमचामा युवाहरूको घुँइचो लाग्छ। नाच्ने र बजाउनेहरू पनि युवाहरू छन्। रमाउनेहरू पनि युवा।
नेवा ल्याम्ह पुचले पोखराका टोलटोलमा तायमचा नृत्य प्रदर्शन गर्न सहयोग गर्दै आएको अध्यक्ष विनित जोजिजुले बताए। तायमचा, लाखे लगायत संस्कृति देखाउन चाहेका टोलमा पुगेर बाजा बजाउनेदेखि तालिम दिनेसम्म गरेका छन्। विगतमा पुरूषले मात्र नाच्ने तायमचा नाच अहिले महिला पनि सहभागी छन्।
'उहिले पुरूष नै जोकर, पुरूष नै परी बन्थे। अहिले पुरूष, महिला सराबरी छन्,' उनले भने, 'संस्कृति जोगाउन पुरूष, महिला मिलेर लागेको राम्रो भयो नि।'
शनिबार पोखरामा भएको तायमचा प्रतियोगितामा कास्की जिल्लाभरका २९ वटा समूहले सहभागिता जनाए। बीसवटा समूह पुरूषका थिए भने ९ वटा महिलाका थिए।
'केही वर्ष अघिसम्म पुरूषले मात्र नाच्ने तायमचा नाच अब महिलाले पनि उत्तिकै भाग लिन थालेका छन्,' नेवा खलः कास्कीका अध्यक्ष पालिखेले भने।
तायमचा नाचमा पछिल्ला समय अरू पनि परिवर्तन देखिएका छन्। पालिखेका अनुसार उहिले शृंगारका सामग्री अहिलेजस्तो पाइन्थेन। अहिले धेरै शृंगार गरेका छन्। बाजाका तालहरू उही भए पनि युवा पुस्ताले केही ताल छिटो र केही ताल ढिलो बजाएका छन्। पछिल्लो समय परीको टाउको ताजमाथि मयुरको प्वाँख राख्ने र पखेटा हाल्न थालिएको पनि उनले बताए।
'समय अनुसार तायमचा नृत्यको स्वरूप पनि परिवर्तन हुँदै गएको छ,' उनले भने।
पोखरामा निकालिने तायमचा नृत्य काठमाडौंमा छैन। भक्तपुरमा तायमचा नृत्य नाचिने भए पनि पोखराको जस्तो नभएको उनले बताए। तायमचा नाचलाई पोखराका नेवार समुदायको मौलिक संस्कृति भन्नुपर्ने उनको मान्यता छ।
पोखरामा कहिलेदेखि तायमचा नाच नाच्न थालियो भन्ने यकिन छैन। नेवार समुदाय काठमाडौं उपत्यकाबाट पोखरा आएर बस्न थालेदेखि नै यो नाच नाच्न थालिएको विश्वास छ। पहिलोपटक पोखरामा नेवार समुदाय बाइसे-चौबिसे राज्यकालमा आएका थिए। त्यति बेला कास्की राज्यका राजा थिए सिद्धिनारायण शाह।
पोखरामा २६ कुरिया जग्गा उपलब्ध गराएर राजा सिद्धिनारायणले काठमाडौं उपत्यकाबाट नेवार समुदाय ल्याएर राखेको इतिहास छ। त्यति बेला विभिन्न सीप र कौशल भएका नेवारहरू पोखरा ल्याएर बजार बसाइएको थियो। उनीहरू आउँदा संस्कृति पनि सँगै ल्याएको पालिखे बताउँछन्।
'त्यही बेलादेखि पोखरामा तायमचा नाच्न थालिएको हुन सक्छ,' उनले भने, 'किनभने नेवारहरू जहाँ जान्छन्, संस्कार र संस्कृति पनि लिएर जान्छन्।'
पोखरामा तायमचा महोत्सव वा प्रतियोगिता गर्ने चलन २०२३ सालमा सुरू भए पनि नियमित र व्यवस्थित हुन सकेको थिएन। २०५४ सालमा नेवा खलः कास्की गठन भएपछि यसैको आयोजनामा नियमित गर्न थालिएको पालिखेले बताए।
उहिले उहिले तायमचा प्रतियोगिता गर्दा सात, आठवटा टोलले मात्र भाग लिन्थ्यो। अरू टोलमा नाच नै नाचिन्थेन। अहिले २९ वटा टिम पुगेको छ। आगामी वर्ष ३६ वटा टिमले भाग लिने अपेक्षा पालिखेको छ। उनीहरूले नेवार बस्ती भएका ठाउँमा पुगेर बाजा बजाउन र नाच्न सिकाइरहेका छन्।
यस वर्ष तायमचा प्रतियोगितामा भाग लिएका तल्लो गगनगौंडाका नेवार समुदाय यसैका उदाहरण हो। गत वर्ष मात्र कास्कीको रूपा देउरालीका नेवार समुदायलाई पनि नेवा खल कास्कीले तालिम दिएर नाच्न र बजाउन सक्ने बनाएको थियो। रूपा देउराली गत वर्षदेखि तायमचामा सहभागी हुन थालेको छ।
तायमचा प्रतियोगिता सञ्चालन गर्न पोखराका रवीन्द्र श्रेष्ठका परिवारले पुरस्कार स्वरूप वार्षिक १० लाख रूपैयाँ सहयोग गरिरहेको छ। श्रेष्ठ वाणिज्य बैंकका अवकाश प्राप्त कर्मचारी हुन्। पुरस्कारको सोही रकमबाट नेवार बस्ती भएका ठाउँमा तालिम गर्न पनि सघाएको पालिखे बताउँछन्।
तायमचा प्रतियोगिता अहिलेभन्दा उहिले धेरै भव्य हुने गरेको उनको अनुभव छ। इन्टरनेट सुविधा हातहातमा आउनुअघि तायमचा हेर्न गाउँ गाउँबाट मान्छे ओइरिन्थे। बर्खा लागेपछि व्यापार घट्ने भएकाले पनि यस्ता सांस्कृतिक कार्यक्रमले पोखराको व्यापार बढाउने गरेको उनको अनुभव छ।
'लमजुङको गिलुङदेखि कास्कीको घान्द्रुकसम्मका मान्छे तायमचा हेर्न आउँथे। दसौं हजार सहभागी हुन्थे,' उनले विगत सम्झिए।
पोखरामा शनिबार भएको तायमचा प्रतियोगितामा नेवार समुदाय मात्र सहभागी थिएनन्। विभिन्न जातजाति र समुदायका व्यक्ति पनि तायमचा नाच्ने र बजाउने गरेका थिए। दर्शक त सबैथरी हुने नै भए।
झन्डै ४० वर्षअघि पनि तायमचा नाच्न गुरूङ, मगर, क्षेत्री लगायत समुदाय अग्रसर भएको पालिखेको अनुभव छ। यसले यो नाच अब पोखराको सबै जाति र समुदायको पर्व भएको उनले बताए।
'अब यो पोखराको साझा मौलिक पर्व बनेको छ,' उनले भने।
सबै जातजाति र समुदायले मनाउने भएकाले तायमचा नाचले साम्प्रदायिक सदभावको उत्कृष्ट नमूना पेस गरेको उनले बताए। सबै जातिका युवा पुस्ताको संस्कृति प्रति झुकाव देखिएकाले अब यो पर्व हराएर नजाने उनको विश्वास छ।
'युवा पुस्ताको संस्कृति मोह देखेर मलाई खुसी लागेको छ। अब यो पर्व हराउँदैन भन्ने विश्वास पनि,' उनले भने, 'पोखरालाई पर्यटनको राजधानी भन्छौं। पर्यटकलाई हिमाल र ताल मात्र देखाएर भएन, संस्कृति पनि चाहियो नि।'