निगुरो पोषणतत्वले भरिपूर्ण खाद्यपदार्थ हो। यसलाई तरकारी मात्र नभई अचार बनाएर पनि खान सकिन्छ।
जंगलमा उम्रिने भएकाले यसमा कुनै औषधि तथा विषादी प्रयोग भएको हुँदैन। त्यसकारण स्वास्थ्यका लागि पनि लाभदायक हुन्छ।वनमा आफैँ उत्पादन हुने भएकाले यसलाई खोजेर टिप्नबाहेक अन्य कुनै लगानी पनि गर्नपर्दैन।
सर्लाहीको बरहथवा नगरपालिका–९, मूर्तियाको तीन दर्जन परिवारले निगुरो बेचेरै मनग्य आम्दानी गरिरहेका छन्। लगानी नलाग्ने निगुरोको पोषण र स्वाद जस्तै आम्दानी लोभलाग्दो रहेको उनीहरू बताउँछन्।
विगत १० वर्षदेखि यस क्षेत्रका स्थानीयले प्रत्येक वर्ष चैतको तेस्रो हप्तादेखि असोजको अन्तिमसम्म गाउँ नजिकैको वनमा उम्रिएको निगुरो टिपेर बेच्ने गरेका छन्।
जिल्लाको बरहथवा नगरपालिका–९, मूर्तिया निवासी सविता कुशवार दैनिक बिहान बेलुवा दुई घण्टा घर नजिकैको डाँफे सामुदायिक वन पुगेर निगुरो टिप्छन्।
निगुरो राम्रो भेटिएको दिन ३० देखि ३५ मुठासम्म टिप्ने गरेको उनले बताए।
‘यसरी टिपेको निगुरो जोडी मुठाको २५ रुपैयाँमा बिक्री हुन्छ,’ उनले भने, ‘दिनको सात सयसम्मको बेच्छु।’
फुर्सदको समय सदुपयोग गरेर निगुरो टिप्दा घर खर्च चलाउन निकै सजिलो भएको उनी बताउँछन्।
वर्षमा सात महिना लगभग टिप्दा ८० देखि ९० हजारसम्म एक जनाले कमाउने उनले बताए। निगुरो टिप्न घरमा भएका सबै उमेर समूह वन पस्ने गरेका अर्का स्थानीय दीपक लामाको भनाइ छ । देख्दा निगुरो टिप्ने त हो नी भन्ने लाग्छ । तर आम्दानीको राम्रो स्रोत बनेको उनी बताउँछन्।
बरहथवा–९, मूर्तियाका कर्णबहादुर कुशवार पनि सात वर्षदेखि निगुरो टिपेर बेच्दै आएका छन्।
‘राम्रो उत्पादन भएको समयमा दिनमा ५० मुठासम्म टिपेको छु,’ उनले भने, ‘यसको मूल्य सधैँ एकनाश रहन्छ । धेरै घटबढ गर्दैन,’ उनले भने।
आफ्नो बूढाबूढी नै दैनिक निगुरो टिप्न आउने गरेको उनले सुनाए। बिहान बेलुका निगुरो टिप्नेले वन भरिने गरेको छ।
सोही स्थान बस्नुहुने फूलमाया तामाङको दैनिकी पनि उस्तै छ। उनले छिटोछिटो टिप्ने भएकाले दिनमा सात सयसम्मको निगुरो टिपेर बेचेको फूलमायाले बताइन्।
‘फुर्सदका समयमा गाउँका बुढापाकादेखि बालबालिका सबै निगुरो टिप्न वन पस्छन्,’ उनले भनिन्, ‘दैनिक बिहानबेलुका दुई/चार घण्टा खट्दा राम्रो कमाई हुन्छ।’
निगुरो टिप्ने काम जागिर भएको उनले बताए।
गाउँघरमा पनि चाडबाड तथा भोजभतेरमा निगुरोको माग हुन्छ।
‘गाउँतिरै पनि खोज्ने मान्छे आउछन्,’ उनले भने, ‘व्यापारीलाई पनि अझै पुगेको छैन्।’
टिप्नसकेजति व्यापारीले लैजान्छन् । व्यापारीहरुले निगुरो बुझाएलगत्तै वा पछि एकमुष्ट मागेको सयम पैसा दिने गरेका स्थानीयको भनाइ छ।
‘बसिरहनुभन्दा वनमा निगुरो खोज्यो। पैसा पनि हुन्छ,’ स्थानीय नानीमैया कार्कीले भनिन्।
उनले निगुरो बेचेर बचत गरेको पैसाले गर्जो टार्न र उपचारमा सहयोग पुगेको स्थानीय बताइन्।
‘निगुरो टिप्न थालेदेखि दुई चार रुपैयाँका लागि कसैलाई भन्नु परेको छैन,’ उनले भनिन्, ‘त्यस्तो दुःख पनि हुन्न् । केही घण्टा खट्ने हो । दुई चार सय भइहाल्छ। मीठो मसिनो खान, औषधि उपचार र घरखर्च नै धानेको छ।’
यस क्षेत्रबाट विगत १० वर्षदेखि निगुरो टिप्ने सङ्कलन गर्ने र काठमाडौंका बजारसम्म पुर्याउने गरेको व्यवसायी सुनिता महतोले बताइन्।
उनका अनुसार सुरुमा स्थानीयले निगुरो टिपेको प्रतिमुठा पाँच रुपैयाँ पाउँथे । अहिलो जोडी मुठाको२५ पाउँछन् । निगुरोसँगै अन्य मौसमअनुसारको तरकारी ढुवानी गर्ने गरेको उनले बताए। संकलित निगुरो बजारसम्म लैजाने व्यवस्था सुनिताका श्रीमान् धनेश्वर महतो गर्छन्।
यस क्षेत्रका ३६/३७ परिवारले दैनिक निगुरो टिपेर ल्याउने व्यवसायी धनेश्वरले जानकारी दिए।
‘दैनिक १२ देखि १५ बोरासम्म निगुरो काठमाडौँ पुर्याउँछु,’ उनले भने, ‘एक बोरामा ८० मुठा हुन्छ । दैनिक हजार मुठा बढी सङ्कलन हुन्छ।’
निगुरो टिपेर मूर्तिया क्षेत्रका स्थानीयले गत वर्ष लगभग सात महिनाको अवधिमा रु ३० लाख आम्दानी गरेका कृषि ज्ञान केन्द्रका एक अधिकारीले बताए। मासिक चार लाख बराबरको निगुरो स्थानीयसँग सङ्कलन गरेर बजारमा लैजाने गरेको उनको उद्यमी महतोको भनाइलाई आधार मानेर उनले त्यति रकम आर्जन हुने अनुमान सुनाएका हुन्।
ठूलो परिवारका भएका घरका स्थानीयले महिनामा एक लाखसम्मको निगुरो टिप्ने गरेका उद्यमी महतोले बताए।