म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ९ को तोरीपानीकी मीना परियार हत्या प्रकरणका आरोपी राम खत्री विवाहित भएको खुलेको छ।
प्रहरीका अनुसार २५ वर्षीय राम दुई सन्तानका बाबु हुन्।
आफू विवाहित भए पनि मीनासँग कुराकानी हुने गरेको उनले प्रहरीसमक्ष स्वीकार गरिसकेका छन्। तर हत्याबारे भने मुख नखोलेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए।
'उनीहरूबीच शारीरिक सम्बन्ध भएकोसम्म खुलेको छ, त्यसबाहेक आरोपितले केही भनेका छैनन्,' रायमाझीले भने, 'प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।'
मीनाको शव फेला परेसँगै घटनाले नयाँ मोड लिएको प्रहरीले बताएको छ।
१८ वर्षीया मीनाको शव (कंकाल) साउन २७ गते म्याग्दी बेनी नगरपालिका वडा नम्बर ९ आँखेत कालीमुलको जंगलमा गाडिएको अवस्थामा फेला परेका थियो।
सोही गाउँको स्थानीय गँगटो खोज्ने क्रममा मानिसको टाउको जस्तो देखिएको खबर प्राप्त गरेसँगै प्रहरी घटनास्थलमा पुगेको थियो। खोजतलास गर्ने क्रममा कंकाल फेला पर्यो।
मीनाले लगाएको चप्पल, लुगा र सुनको सिक्रीको आधारमा परिवारले कंकाल उनकै हो भनेर पहिचान गरेको प्रहरी निरीक्षक रायमाझीले जानकारी दिए।
'मीनाको घाँटीमा चक्कु अड्किएको अवस्थामा फेला छ,' इन्सपेक्टर रायमाझीले भने, 'धारिलो हतियारले घाटी काटेर हत्या भएको मेडिकल रिपोर्ट छ।'
उनले थपे, 'रिपोर्टमा उनी गर्भवती रहेकोसमेत देखिएको छ।' शव फेला परेसँग हत्या आरोपमा थप ४ जनाविरूद्ध जाहेरी आएको छ।
साउन ३० गते पीडित परिवारले रामसहित ५ जनाविरूद्ध 'कर्तव्य ज्यान' कसुरमा जाहेरी दिएका छन्।
राम भने बेपत्ता बनाएको आरोपमा गत माघदेखि नै प्रहरी नियन्त्रणमा थिए। उनीसहित अहिले ४ जनालाई यस घटनामा प्रहरीले पक्राउ गरेको छ। एक जनाको खोजी भइरहेको इन्सपेक्टर रायमाझीले जानकारी दिए।
पक्राउ पर्नेमा मुख्य आरोपी राम खत्री, सोही वडाका २१ वर्षीय रोजन खत्री, २५ वर्षीय बिक्की खत्री, ४५ वर्षीया रेणु खत्री हुन्। भने २३ वर्षीय श्याम खत्री फरार रहेको प्रहरी स्रोतले बताएको छ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालयले बिक्की, रेणु र रोजनलाई भदौ पहिलोसाता पक्राउ गरेको पनि स्रोतले बताएको छ।
उनीहरूमाथि कर्तव्य ज्यानको मुद्दा लगाएर कानूनी प्रक्रिया अगाडि बढेको प्रहरी निरीक्षक रायमाझीले जानकारी दिए।
मीना हराएको सात महिनापछि शव फेला परेको हो। उनी पुस १६ गते घरबाट निस्किएकी थिइन्।
मीनाको भाउजू कमला बर्देवाका अनुसार त्यो दिन मीना खाना खाएर आमा नजिकै सुतिरहेकी थिइन्। तर रातको १ बजे आमा ब्युँझदा देखिइनन्। ढोका बन्द थियो। झ्याल भने खुल्लै देखियो। त्यसैले कतै गएको हुनसक्ने अनुमान गर्यौं।
रातिदेखि नै खोजी भयो।
'उनी गलेश्वर माविमा कक्षा ११ मा पढ्थिन्। त्यसैले उनका आसपासको साथीभाइसँग पनि सोधपुछ गर्यौं, कसैले केही बताएनन्,' उनले भनिन्, 'एकदुई दिनमा गाउँमा उनी पोइला गयो भन्ने हल्ला चल्यो।'
मीनाको परिवारले पनि हुर्किएकी छोरी पोइल गई भन्ने नै सोचे। गाउँमा सोही गाउँका गैरदलित रामसँग भागेको भन्ने चर्चा भयो। त्यसअघि मीनाका परिवारले त्यस्तो केही हल्ला सुनेका थिएनन्।
मीना हराउनसाथ रामको नाम जोडिएर गाउँभरि हल्ला भयो। विस्तारै उनीहरूको प्रेमसम्बन्धबारे खुल्दै गयो। आफूहरूले पनि विवाह गरेर गएको हुनसक्ने अनुमान लगाएर तत्काल प्रहरीकोमा नगएको उनी बताउँछिन्।
'जोसँग भागेको होला भन्ने सोचेका थियौं, दुई-तिन दिनमा गाउँतिर डुलेको देख्यौं,' उनले भनिन्, 'रामलाई मीनाको बारेमा सोध्यौं। उनले आफूलाई थाहा नभएको जानकारी दिए।'
शंका गरेको व्यक्ति एक्लै हिँडेको देखेपछि मीनाको परिवारले आफन्त, साथीभाइसँग सोधपुछ बढाए। तर कतैबाट पनि कुनै केही खबर पाएनन्। मीनासँग फोनमा पनि सम्पर्क हुन सकेन्।
सुरूआती दिनमा परिवारले आफैले सोधपुछ र खोजतलास गरे। एकसातसम्म नभेटेपछि मात्र प्रहरीको सहयोगमा फोन विवरण निकाले। त्यसमा पनि कुनै शंकास्पद गतिविधि मीनाको परिवारले भेटेनन्।
'फोनमा बा-आमाको र आफन्तको मात्र कल आवतजावत देखियो,' उनले भनिन्, 'म्यासेन्जरमा केही भेटिन्छ कि भनेर फेसबुक खोल्यौं।'
फेसबुक खुलेपछि मीनाले लगातार रामसँग कुराकानी गरेको र त्यस दिन रातको ११ बजे घरमा आइ बोलाई लगेको देखियो।
'मीनाले आफू ६ महिनादेखि महिनावारी नभएको र बच्चा चलेको जस्तो महसुस हुने बताएको रहेछिन्, त्यसमा रामले बच्चा बसेको भए फाल्नुपर्ने र त्यसका लागि भारतसम्म जानुपर्ने पनि बताएका छन्,' कमलाले भनिन्, 'जातका कारणले पनि परिवारले स्वीकार नगर्ने रामले पटक–पटक म्यासेजमा भनेको देखियो।'
उनले थपिन्, 'म्यासेजमा यी कुरा देखिपछिमात्र प्रहरीकोमा उजुरी लिएर गयौं।'
उनका अनुसार म्यासेजमा कुराकानी भएको प्रमाण लिएर गएपछि प्रहरीले जाहेरी लियो। पुस २२ गते प्रहरीको खोजतलासको लागि निवेदन दिएका थिए। दोस्रो पल्ट रामले बेपत्ता बनाएको भन्दै माघ २१ गते जाहेरी दिइएको हो।
जाहेरी दिएको दुई दिनमा राम पक्राउ परे।
बेपत्ता बनाइएको आरोपमा रामलाई पक्राउ गरी पुपक्षका लागि कारागार चलान भएका छन्। ५ महिनादेखि उनी प्रहरी नियन्त्रणमै छन्।
लामो समयसम्म शव फेला नपर्दा घटना अगाडि बढ्न सकेको थिएन। साउन २७ गते शव फेला परेसँगै नयाँ मोड लिएको हो।
कमला अनुसार, मीनालाई रामका परिवारले सामूहिक रूपमा गर्भ फाल्न दबाबदिने, नमाने मारेर फालिदिने भनेर धम्की दिएको थाहा भयो। त्यही कारण परिवारले योजना बनाएर मारेर गाडिदिएको उनीहरूको आरोप छ।
'प्रेमको नाममा मीनामाथि धेरैपटक सम्बन्ध बनाएको पनि देखियो,' उनले भनिन्, 'गर्भवती भएपछि दलित केटीलाई घरमा भित्र्याउनु पर्छ भनेर मारिदिएका हुन्।'
७ महिनामा मीको शव चिन्न नसक्ने अवस्थामा थियो। त्यहाँ गाडिएको चप्पल र लुगा र घाँटीमा लगाएको स्रिक्रीका आधारमा परिवारले चिनेको कमलाले बताइन्।
'शव हेर्दा पनि हत्या गरेकोजस्तो देखियो,' कमलाले भनिन्, 'म्यासेजमा भनेको कुरासँग रिपोर्ट पनि मिलेको छ।'
उनका अनुसार शव भेटेपछि बेनी अस्पतालमा लगिएको थियो। त्यहाँभन्दा अलि राम्रो पोस्टमर्टम हुने आशले विधिविज्ञान प्रयोगशाला पोखरा लगिएको हो।
'चिकित्सकले मीनाको हत्या भएको र गर्भ रहेको बताएको छ,' कमलाले भनिन्, 'त्यसपछि कर्तव्य ज्यानमा पाँच जना विरूद्ध जाहेरी दिएका हौं।'
उनका अनुसार मीनाको हत्या आरोपीहरूमाथि कडा कानुनी कारबाही होस् र न्याय मिलोस् भनेर भदौ १ गतेदेखि नै धर्ना दिइरहेका छन्।
जिल्ला प्रहरी कार्यालय म्याग्दीमा बिहान ११ देखि ३ बजेसम्म बसेर धर्ना दिइरहेका छन्। यस घटनामा अपराधि उम्किन नपाओस् र निपक्ष छानबिन हुनुपर्ने उनीहरूको माग छ।