दाङको तुलसीपुरस्थित कमलपोखरी फेरि मर्मत गरिने भएको छ।
तालमा फेरि पानी सुकेपछि पुनः मर्मत गर्न लागिएको हो। तालको दक्षिण तर्फको पर्खाल नजिकै प्वाल परेपछि त्यही बाट पानी बगेर गएको हो।
पटक/पटक मर्मत गर्दापनि तालमा पानी नअडिएपछि अब के गर्ने भन्ने अन्यौल उत्पन्न भएको छ।
कमलपोखरीलाई डिपिआर गरी आधुनिक पर्यटकीयस्थल बनाउने कार्यको थालनी यसअघिका तुलसीपुर उपमहानगरपालिका– ६ का वडाध्यक्ष नवराज लामिछानेको पालामा सुरू भएको थियो।
अहिलेसम्म निर्माणका लागि २ करोड खर्च भएको उनले बताए। उनले यति ठूलो लगानी गरिएको तालमा पानी पटक-पटक सुक्ने तथा नअडिने समस्या समाधानका लागि अब छिट्टै सामूहिक छलफल गर्न जरूरी रहेको बताए।
बर्खामै पोखरीमा पानी नअिडिए यो परियोजना सफल हुन्छ भनेर विश्वास गर्ने आधारहरू नहुने हुँदा अब स्थानीय र विज्ञहरू राखेर सामूहिक छलफल हुनुपर्ने उनले बताए।
‘यति धेरै लगानी भइसकेको कमलपोखरीले सबैलाई गिज्याइरहेको साँचो हो र यो विगत पाँच/सात वर्षयता हेर्नका लागि मात्रै बनाएको जस्तै भएको छ,’ उनले भने ‘ हामीले तालको संरक्षण लगायत राम्रै उदेश्यले यसलाई आधुनिक बनाउने अभियान थालेका थियौं, तर कहाँ गल्ली भए भन्ने अब निर्मम समीक्षा हुनैपर्छ।’
६० वर्षीय पूर्ववडाध्यक्ष लामिछानेका अनुसार उनी सानै छँदा ताल प्राकृतिक अवस्थामा थियो।
‘कमलका फूलहरू प्रसस्तै फूल्थे। नजिकै इनार थियो। रजौरा, डुम्री गाउँ, गोलौरा गाउँका मानिसहरूले त्यही इनारको पानी पिउनका लागि लैजान्थे। स्थानीयले नुहाउने,लुगाफाटा धुने स्थानपनि सोही पोखरी प्रयोग हुन्थ्यो। सुक्खा मौसममा वस्तु चौपाया प्यास बुझाउन यही कमलपोखरीमा आउँथे,' उनले भने।
२ करोड बढी खर्चिएर निर्मित तालमा पानी नै नडिएपछि अब के गर्ने भन्ने टाउको दुखाई भइरहेको कमलपोखरी सुधार कार्यका प्राविधिक इञ्जिनियर शरद अधिकारीले बताए।
अब प्राजेक्ट नै मोडिफाइ गरी काम सुरू गर्ने बारे सल्लाह भइरहेको पनि उनले जानकारी दिए।
‘तीन दिन भित्र उताबाट के गर्ने भन्ने बारे निर्णय हुने भन्ने हामीलाई जानकारी दिइएको छ,’ अधिकारीले भने ‘नयाँ कन्सल्ट्यान्ट हायर गरेर रिभाइभ नै गर्न लागेको भन्ने छ।’
पछिल्लो समय युएसएआइडीको तयार नेपालले कमलपोखरी सुधार तथा मर्मतको काम गर्दै आइरहेको छ।
तुलसीपुर उपमहानगरपालिका – ६ रजौरामा विभिन्न निकायले २ करोडभन्दा बढी खर्चेर निर्माण गरिएको कमलपोखरीमा जति प्रयास गर्दापनि पानी नअडिएपछि त्यसको आलोचना भइरहेको छ।
सौन्दर्यकरण र आवश्यक परे विपदमा समेत पानीको प्रयोग गर्ने गरी पूर्व वडाध्यक्ष लामिछानेको पालामा यो पोखरी निर्माण सुरू भएको थियो।
यसअघि पनि पोखरी छिर्ने सिँढी नजिकै, बीचमा निर्मित क्रँकिट कमलको फूलको आकृति र उत्तरतर्फको वाल निजकैबाट प्वाल परी त्यहाँबाट पानी बगेर गएको थियो।
ती सबै दुलोहरूमा वरिपरि खनेर सिमेन्टको वाल बनाइएको थियो। त्यसपछि निर्माण सुरू भएको ५ वर्ष पछाडि तालमा पहिलो पटक यसै वर्षायाममा केही समय पानी भरिभराउ भएको थियो। तर, फेरि दक्षिण तर्फको वाल नजिकै दुलो परेपछि पानी त्यसैबाट बगेर गएको हो।
पोखरीमा पानी भरिभराउन हुँदा त्यो अवलोकन गर्न आउने सर्वसाधारणको संख्या थपिँदै गएको थियो। टिकटक बनाउने, भिडियो वा रिल बनाउने तथा ती समाजिक सञ्जालमा राखेर तालको बखानहरू हुँदै आएका थिए। तर, फेरि पानी सुकेपनि मानिसहरू पोखरीमा आउन छाडेका छन्।
यो पोखरीमा पानी अड्याउन भनेर गत असारमा मात्रै कमलपोखरी सुधार कार्य अन्तर्गत कुल लागत (भ्याट बाहेक) ५९ लाख ७८ हजार ५९२ रूपैयाँ खर्च गरिएको थियो। सुधारको काम गत फागुनदेखि सुरू भइ असार ३ गतेसम्म चलेको थियो।
कमलपोखरी सुधार कार्यका प्राविधिक इञ्जिनियर शरद अधिकारीले सुधारको कार्य अन्तर्गत पोखरीभित्रको सतह रातो माटोले १८ इञ्च अर्थात ४५० एमएम फिलिङ गरिएको थियो। त्यो माटोसँगै मिसाएर पानी रोक्न भनेर ‘बेन्टो नाइट पाउडर’ मिलाएर राखिएको थियो। ‘बेन्टो नाइट पाउडर’ पानी रोक्नका लागि प्रयोग हुने गर्छ।
कमलपोखरीको सतह भित्र १ हजार २६० घनमिटर माटो फिलिङ गर्दा प्रत्येक तहमा ५ प्रतिशतका दरले तीन तहमा माटोसहित मिलाएर ‘बेन्टो नाइट पाउडर’ फिलिङ गरिएको इञ्जिनियर शर्माले बताए।
त्यो रातो माटो सहितको ‘बेन्टो नाइट पाउडर’को तालको भित्री सतहमा कम्प्रेसरले पेलेर फिलिङको काम गरिएको थियो।
इञ्जिनियर शर्माका अनुसार एक लेयर माटो र पाउडर फिलिङ गर्दा झन्डै १२ टिपर माटो र ५० केजीको ५०० बोराका दरले ‘बेन्टो नाइट पाउडर’ प्रयोग गरिएको थियो। पोखरीभित्र कुल ३६ टिपर माटो र झन्डै १५०० बोरा ‘बेन्टो नाइट पाउडर’ मिसाएर फिलिङ गरिएको थियो।
कमलपोखरीको निर्माण पाँच वर्षअघि देखि नै सुरू भएको थियो। गत वर्ष नै पोखरी निर्माण पुरा भएको थियो।
तर, गत सालको बर्षा याममा पनि यो तालमा एक थोपा पानी अडेको थिएन। पोखरीमा साउन भदौमै एक थोपा पानी नअडिएपछि आलोचना सुरू भएको थियो।
त्यो आलोचनावाट जोगिन तयार नेपालले झन्डै ६० लाख खर्चेर पोखरी मर्मत तथा सुधारको काम गरेको हो। त्यति गर्दापनि पानी नअडिएपछि थप आलोचना भइ रहेको हो।
पछिल्लो समय तुलसीपुर उपमहानगरपालिकाले पनि तालको बाहिरी संरचना मर्मतका लागि साढे ६ लाख खर्चिएको थियो। त्यो रकमले पोखरी बाहिरको गेटसहित केही पर्खाल निर्माणको काम गरिएको थियो।
पोखरी निर्माणमा तुलसीपुर उपमहानगरपालिकाले २५ लाख रूपैयाँ, लुम्बिनी सरकारअन्तर्गत कोहलपुर पर्यटन डिभिजन कार्यालयको ४६ लाख ५४ हजार ३५२ रूपैयाँ र युएसएआइडीको तयार नेपालको (भ्याटसहित) ८० लाख ५ हजार ६०१ रूपैयाँ त्यसभन्दा पहिले नै लगानी भइसकेको थियो। पछिल्लो समय तयार नेपालले फेरि मर्मत तथा सुधारका लागि (भ्याट बाहेक) ५९ लाख ७८ हजार ५९२ रूपैयाँ खर्च गरेको थियो।
यी सबै निकायको हालसम्म पोखरीमा दुई करोड बढी रकम खर्च भइ सकेको छ। तर, पनि पानी नअडिएपछि सबै सरोकारवालाहरू अब के गर्ने ? भन्ने अन्यौलमा छन्।
कमलपोखरी सुधार परियोजनाका प्राविधिक इञ्जिनियर शरद अधिकारीले आफूहरूले गरेको काम सफल नभएर समाजका सामना गर्न समस्या हुन थालेको बताए।
‘हामीलाई झनै गाह्रो छ,’ उनले भने, ‘समाजले हामीलाई हेरिरहेको हुन्छ। काम पक्का नभए हामीले पैसापनि पाउँदैनौं।’
दुई करोड बढी रकमबाट प्राकृतिक अवस्थाको पोखरीलाई सुन्दर बनाउने नाममा वरिपरि पर्खाल लगाउनुका साथै बीचमा कंक्रिट कमलको आकृति निर्माण गरिएको छ।
पछिल्लो समय पोखरी भित्र सुधारका नाममा पहाडी क्षेत्रवाट ल्याइएको रातोमाटो हालिएको थियो। कतिपय अग्रज किसान र जेष्ट नागरिकले रातो माटो नभइ कालो र चिम्टाइलो माटो प्रयोग गर्न सुझाउँदापनि तयार नेपालले आँफुखुसी काम गरेको थियो।
स्थानीय बुद्धिजिबी डा. नहकुल केसीले पनि कालो र चिम्टाइलो माटो ताल भित्र भर्नु पर्नेमा रातोमाटो भर्नु गलत भएको बताउँदै आएका छन्।
तुलसीपुर उपमहानगरपालिका विकास प्राधिकरणका पूर्व संयोजक, लुम्बिनी प्रदेश बिकास प्राधिकरण परियोजनाका पूर्व संयोजक तथा गरिबी निवारण कोषका पूर्व अध्यक्ष केसीले आधुनिक बनाउने नाममा स्थानीय कसैसंग सरसल्लाह नगरी क्रँकिट मात्रै बनाउने गल्ती उनीहरूले गरेको बताए।
सबै तस्बिरः नारायण खड्का/सेतोपाटी।