भारतको कलकत्ता पुर्याएर मिर्गौला बेचेकोआरोपमा मंगलबार मानव बेचबिखन अनुसन्धान ब्युरोले दुई जनालाई सार्वजनिक गर्यो।
ललितपुर महानगरपालिका वडा नम्बर ८ घर भएका ३७ वर्षीय शंकर खत्री र मकवानपुर भिमफेदी गाउँपालिका वडा नम्बर २ घर भएकी ४२ वर्षीया शान्तिमाया घलानलाई सार्वजनिक गरेको हो।
मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले खत्रीलाई भदौ ९ गते र घलानलाई ११ गते पक्राउ गरेको हो।
उनीहरूविरूद्ध ३२ वर्षीय काठमाडौं १ (नाम परिवर्तन) ले आफूलाई प्रलोभनमा पारेर भारतको पुर्याएर मिर्गौला झिकिदिएको उजुरी दिएका छन्।
उनले काठमाडौंदेखि भारतसम्म पुर्याउन विभिन्न भूमिका खेलेका ६ जनाविरूद्ध उजुरी दिएका छन्। दुई जना पक्राउ परे पनि बाँकी ४ जनालाई प्रहरीले खोजिरहेको मानवबेचबिखन अनुसन्धान ब्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए।
'३/४ वर्षदेखि यस्ता केसहरू आएका थिएनन्,' उनले भने, 'धेरै समयपछि यस्तो केस आएको छ।'
उनका अनुसार ३/४ वर्षअघि भने मिर्गौला बेचिएका धेरै केसहरू आउने गर्थे। पछिल्लोसमय कम भएको थियो। अहिले पुन: देखियो।
काठमाडौं १ विगत लामोसमयदेखि काठमाडौंमा बस्दै आएका हुन्। श्रीमतीको उपचार र दैनिक घरखर्च चलाउन पनि पैसा नहुने तर मदिरा सेवन गरेर हिँड्ने गरेका रहेछन्।
ज्याल मजदुरी गरेर गुजरा चलाइरहेका काठमाडौं १ होटलमा खाना खान जाने क्रममा घलानसँग चिनजान भएको बताएका छन्। घलान काठमाडौंको मनमैजुमा होटल सञ्चालक हुन्।
खाना खाने क्रममा चिनजान भएको र पैसाको अभावबारे कुराकानी भएको र मिर्गौला बेच्न प्रोत्साहन गरेको काठमाडौं १ ले प्रहरीलाई बताएका छन्।
पैसाको अभावमा विभिन्न समस्याहरू झेलिरहेका ती युवकलाई घलानले मानिसको शरीरमा एउटा मिर्गौला भए काम गर्ने भन्दै प्रलोभनमा पारेको प्रहरी अनुसन्धानमा खुलेको एसपी मिश्रले जानकारी दिए।
'एउटा मिर्गौलाले राम्रोसँग काम गरिहाल्छ, केही समस्या हुँदैन। मिर्गौला अरूलाई दिए धर्म हुन्छ भनेर भनिएको रहेछ,' एसपी मिश्रले भने, 'त्यति भनेपछि काठमाडौं १ मिर्गौला बेच्न सुरूमा राजी भएको देखिन्छ।'
उनले थपे, 'एउटा मिर्गौला बेचेवापत १० लाख रूपैयाँ दिने भनिएको रहेछ।'
उनले प्रहरीलाई बताए अनुसार मिर्गौला बेचेका केही व्यक्तिहरूसँग पनि भेटाइएको थियो। एउटामात्र मिर्गौलाले पनि काम गरेको देखेपछि उनी राजी भएका थिए।
राजी भएसँगै सबैभन्दा पहिला घलानको टिमले ती युवकलाई काठमाडौंमा स्वास्थ्य परिक्षण गराएको अनुसन्धानमा खुलेको छ।
मिर्गौलाको परीक्षणको रिपोर्ट कलकत्ता पठाइ त्यहाँबाट ठीक छ भनेपछि उनलाई भारत लगेको एसपी मिश्रले बताए।
उनलाई २०८० को तिहारको तिनचार दिनपछि घलानले काठमाडौंको बल्खुबाट सुमो चढाएर पठाएको प्रहरीलाई बताएका छन्। उनीहरूले बस चढाइएपछि तेस्रो व्यक्तिको साथमा काठमाडौं १ लाई पठाएको प्रहरी अनुसन्धानमा खुलेको छ।
'तेस्रो व्यक्तिले बल्खुदेखि रक्सोलको बाटो हुँदै रेलबाट कलकत्ता पुर्याएको देखिन्छ,' उनले भने, 'कलकत्ताको अम्री अस्पताल पुर्याएका रहेछन्।'
त्यहाँ पुगेपछि ती युवकले मिर्गौला बेच्नका लागि तयार नभएको र आफूमाथि जबरजस्ती गरेको प्रहरीलाई बताएका छन्।
'उनले बताए अनुसार माघमा जबरजस्ती मिर्गौला निकालिएको हो,' उनले भने, 'मिर्गौला निकालिएको लामो समयसम्म भारतमै उपचाररत रहेको बताएका छन्।'
मिर्गौला निकालेर दुई महिनाको उपचारपछि २०८१ वैशाख १ गते नेपाल फर्किएको बताएका छन्। नेपाल फर्किएपछि उनले पटक–पटक गरेर ३ लाख ७० हजार रूपैयाँ पाएको दिएको प्रहरीलाई अनुसन्धानमा खुलेको छ।
यस घटनामा प्रहरीलाई पनि दुई सातअघि मात्र खबर प्राप्त भयो। खबर प्राप्त हुनसाथ प्रहरीले अनुसन्धानलाई अगाडि बढाएको थियो।
काठमाडौं १ ले १० दिनअघिमात्र मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिएका हुन्। उनले घलानलाई मात्र चिनेकाले सुरूमा प्रहरीले अनुसन्धान गर्यो।
घलानका गतिविधिलाई नियाल्दैजाँदा थप व्यक्तिहरू पनि जोडिँदै गएका हुन्। यस घटनामा ती युवकलाई मिर्गौला बेच्नका लागि ती महिलाले प्रोत्साहन गरेको देखिन्छ।
उनलाई भारतसम्म पुर्याउन विभिन्न तहका मानिसहरू जोडिएका छन्। उनीहरूलाई प्रहरीले विस्तारै पक्राउ गर्दै जाने एसपी मिश्रले जानकारी दिए।
'ती व्यक्तिबाट अरू पनि पीडित छन् भने प्रहरीलाई खबर गर्न भनिरहेका छौं, तर अहिलेसम्म कोही आउनु भएको छैन,' उनले भने, 'यस्ता घटनामा एक व्यक्ति सार्वजनिक भएपछि पीडितहरू जोडिने गरेका छन्।'
खत्री र घलानले अहिलेसम्म अन्य व्यक्तिलाई प्रलोभनमा पारेर मिर्गौला बेच्न लगागेको कुरा स्वीकार गरेका छैनन्। यसअघि कुनै पनि कानुनी कारबाहीको रेकर्ड पनि भेटिएको छैन। त्यसैले आरोपित सबैजनालाई पक्राउ गरेर अनुसन्धान गरेपछि मात्र घटनाबारे विस्तृत जानकारी आउने एसपी मिश्रले जानकारी दिए।
पक्राउ परेका दुईजनाविरूद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ९ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।