कुनै बेलाका पत्रकार घनश्याम भण्डारी अहिले कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री छन्। उनले पत्रकार हुँदा जुम्ला अञ्चल अस्पतालमा डाक्टर नभएको सम्बन्धमा धेरैपटक समाचार लेखे। तत्कालीन कर्णाली अञ्चल अस्पतालमा उपचार नपाएर बिरामी मर्ने घटना सामान्य थियो।
कर्णालीमा उपचार हुन नसकेपछि सुर्खेत, नेपालगञ्ज वा काठमाठौं जान जहाज कुर्दा कुर्दै पनि कतिपय बिरामीको प्राण जान्थ्यो।
भोलिपल्ट अखबारमा समाचार छापिन्थ्यो र कुरा सकिन्थ्यो।
भौगोलिक हिसाबले विकट कर्णाली अञ्चल अस्पतालमा सरकारले पठाएका डाक्टर जानै मान्दैनथे। गए पनि थोरै दिनमै सरूवा मिलाइहाल्थे। डाक्टरको अभावमा पनि उपचार नपाएर धेरै कर्णालीबासीले ज्यान गुमाए।
अहिले अवस्था फेरिएको छ। कुनै समय डाक्टर जानै नमान्ने जुम्ला अहिले डाक्टर उत्पादन गर्न थालेको छ। डाक्टर बनाएर सुगमतिर पठाउने भएको छ।
मन्त्री भण्डारी कहिलेकाहीँ ती दिन र आजका दिनको तुलना गर्छन्।
‘हामीले कर्णालीमा डाक्टर आएनन्, बिरामीले उपचार पाएनन्, जहाज कुर्दाकुर्दै बिरामीको मृत्यु भयो भन्ने शीर्षकमा धेरैपटक समाचार लेख्यौं,’ उनले भने, ‘अहिले त्यही जुम्ला, त्यही कर्णालीले अन्यत्र डाक्टर पठाउँने भइसकेको छ। यो धेरै ठूलो परिवर्तन हो। स्वास्थ्यक्षेत्रमा धेरै काम गर्न बाँकी छ तर डाक्टर आएनन् भनेर कर्णाली दुःखी हुने दिन गए।’
यस्तो परिवर्तन ल्याएको हो १३ वर्षअघि स्थापना भएको ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान’ ले।
प्रतिष्ठानले चिकित्सा शिक्षामा एमबिबिएस तह पढाउन थालेको तीन वर्ष भयो। स्नातकोत्तर (एमडी/एमएस) पनि पढाइ हुन्छ। एमडी पूरा गरेर पहिलो व्याचका पाँच जना विद्यार्थी यसै वर्ष उत्तीर्ण भएका छन्। प्रतिष्ठानले उनीहरूका लागि यही भदौ २३ गते दीक्षान्त समारोह आयोजानको तयारी गरेको छ।
हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राज्ञिक तहका ९८ जना चिकित्सक कार्यरत छन्। स्वास्थ्य क्षेत्रमा कर्णालीलाई उज्यालोतिर फर्काउँदै गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पढाइका लागि भारतबाट पनि विद्यार्थीहरू आउने गरेका छन्।
उपकुलपति डा. मंगल रावलका अनुसार भारतको हिमाञ्चल प्रदेशका दुई जना विद्यार्थी एमबिबिएस पढ्दै छन्। उनीहरू महिला हुन्। इन्टर्नसिपका लागि युरोपबाट विद्यार्थीहरू ल्याउन प्रस्ताव गरेको पनि उनले बताए।
प्रतिष्ठानमा स्नातक तहको एमबिबिएस, बिएससी नर्सिङ, नर्सिङ साइन्स, मिडवाइफरी, फार्मेसी र जनस्वास्थ्य विषय पढाइ हुने गरेको छ। स्नातकोत्तर कार्यक्रममा जनस्वास्थ्य र फार्मेसी पढाइ हुन्छ।
विज्ञ चिकित्सक, मेडिकल अफिसर, नर्स लगायतका पाँच सय हाराहारी कर्मचारी कार्यरत छन्। प्रतिष्ठानका डिन डा. प्रेनिद पौडेलका अनुसार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुनुपर्ने सबै विभागहरू स्थापना भएका छन्।
प्रतिष्ठानमा हाल विभिन्न कार्यक्रममा ३५१ जना विद्यार्थी अध्ययनरत छन्। तीमध्ये १३० जना एमबिबीएस तहमा, ५९ जना जनस्वास्थ्यको स्नातक तहमा र ५ जना जनस्वास्थ्यकै स्नातकोत्तर तहमा छन्।
फार्मेसीको स्नातक तहमा ६१ जना र स्नातकोत्तर तहमा २ जना अध्ययनरत छन्। नर्सिङतर्फ विभिन्न तहमा ९४ जना छन्।
प्रतिष्ठानमा तीन सय शय्याको अस्पताल छ।
एनेस्थेसियोलोजिस्ट डा. ललित सिंह धामी हाल धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कार्यरत छन्। धनगढीकै स्थायी बासिन्दा उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी तह पूरा गरेका पाँच जनामध्ये एक हुन्।
उनका दुई सहपाठी प्रतिष्ठानमै कार्यरत छन्। एक जना दैलेखमा र एक जना बुटवलमा छन्। जुम्लामा बसेर तीन वर्ष एमडी तह पढ्दा मनमा सन्तुष्टि भएको बताए।
‘सुरूमा त पढाइप्रति आफैलाई शंका लागेको थियो। जुम्लामा एमडी पढ्दै छु भन्दा अचम्म मान्ने पनि धेरै थिए,’ उनले भने, ‘एमडीसँगै एमबिबिएस तहको पनि पढाइ सुरू भयो। समग्रमा जुम्ला बसाइ र पढाइ निकै राम्रो भयो।’
उनले एमबिबिएस तह धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पढेका थिए। जुम्लामा अभावैअभाव छ भनेर प्रचार भएजस्ता आफूले अनुभव नगरेको पनि उनले बताए।
प्रतिष्ठानमा आउने बिरामीको संख्या पनि विद्यार्थी संख्याअनुसार पर्याप्त रहेको र सबै किसिमका बिरामीको उपचारमा सहभागी हुन पाएको पनि धामीले बताए।
अभिषेक न्यौपाने जुम्लाकै तातोपानी गाउँपालिकाका बासिन्दा हुन्। उनले आफ्नै जिल्लामा चिकित्सा शिक्षा पढ्न पाउँदा खुसी लागेको बताए। उनी एमबिबिएस प्रथम वर्षका विद्यार्थी हुन्।
उनले भने, ‘अन्तै गएर पढ्नु परेको भए बढी खर्च हुने थियो। घरमै खाएर पढ्न पाएको छु। होस्टलको पैसा जोगिएको छ।’
स्थानीयवासी राजबहादुर महतका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको मात्र नभई सिंगो कर्णालीको प्रतिष्ठा र कर्णालीवासीको गौरवका रूपमा स्थापित भएको छ।
‘सानातिनो बिरामी पर्दा पनि ठूलो खर्च गरेर टाढा जानुपर्ने अवस्था थियो। पोस्टमर्टम गर्न समेत समस्या थियो,’ उनले भने, ‘यस्तो समस्या अन्त्य भएको छ। विपन्न परिवारको आर्थिक भार पनि घटेको छ।’
स्थानीय बुद्धिजीवी माधव चौलागाईंका शब्दमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कर्णालीमा सामाजिक र आर्थिक क्रान्तिको नै ल्याएको छ।
उनी भन्छन्, ‘प्रतिष्ठान भएपछि विशेषज्ञ डाक्टरको सेवा उपलब्ध भएको छ। पैसा नभएर उपचार गर्न नपाउने स्थितिमा केही सहज भएको छ। आर्थिक रूपमा पनि सकारात्मक प्रभाव परेको छ।’
प्रतिष्ठानले आफ्नो उद्देश्यअनुसार सेवा विस्तार गर्न बाँकी रहेको उनलाई लागेको छ। ‘प्रतिष्ठानले जनशक्ति उत्पादनमा राम्रो गरेको छ तर तोकिएको सबै क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्न सकेको छैन,’ उनले भने।
उपकुलपति रावलका अनुसार प्रतिष्ठानका लागि अझै पनि पूर्वाधार पूरा भएको छैन। आवास र अस्पतालका केही भवन बनाउनुपर्ने छ तर बजेट अभाव छ।
हाल प्रतिष्ठानले भाडामा लिएका १३ वटा घरमा कक्षा चलाउँदै गरेको छ। हालै शैक्षिक भवन निर्माण पूरा भएको र चाँडै आफ्नै भवनमा कक्षा सञ्चालन हुने उनले बताए।
नवनिर्मित शैक्षिक भवनको उद्घाटन यही भदौ २३ गते दीक्षान्त समारोहका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ।
प्रतिष्ठान स्थापना भएपछि जुम्लावासीले पनि आफ्नातर्फबाट योगदान गरेका छन्। उपकुलपति रावलका अनुसार स्थानीयवासीले प्रतिष्ठानका लागि ५०० रोपनी जमिन दिएका छन्।
दैलेखको राकममा पनि त्यहाँका बासिन्दाले ४२ रोपनी जग्गा दिएका छन्। जुम्लामै केही स्थानीयवासीले नर्सिङका लागि प्रतिष्ठानलाई थप जमिन दिने तयारी गरेका छन्।
जुम्लामा प्राप्त जमिनमा कतै संरचना निर्माण हुँदैछ त कतै निर्माणको प्रक्रिया अघि बढेको छ। राकममा प्राप्त भएको जमिनमा प्रतिष्ठानले ट्रमा सेन्टरसहितको अस्पताल स्थापना गर्न थालेको छ। त्यहाँ भवन बन्दैछ।
यसरी स्थापना भएको थियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना हुनुअघि नेपालमा तीनवटा मात्र प्रतिष्ठान थिए। काठमाडौंको वीर अस्पतालमा ‘राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान’, ललितपुरमा ‘पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान’ र सुनसरीको धरानमा ‘बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान’ थिए।
जुम्लामा स्थापना भएर देशको चौथो मेडिकल शिक्षालय बनेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको इतिहास निकै संघर्षपूर्ण छ।
यसमा जुम्लाकै केही अगुवाको योगदान छ। नयाँ राजनीतिक पिँढीले यसको पहल गरेपछि २०६८ कात्तिक ३ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन पारित भएको थियो।
२०६६ सालमा जुम्लामा विशेषज्ञ सेवा दिने अस्पताल स्थापना गर्नुपर्छ भनेर केही नेता, बुद्धिजिवी, नागरिक अगुवाले छलफल सुरू गरेका थिए। जुम्लामा ठूलो अस्पताल स्थापनाको अगुवाइ नरेश भण्डारीले गरेका थिए। उनी २०६४ सालको संविधानसभा निर्वाचनबाट संसदमा पुगेका थिए।
सुरूमा भण्डारीको संयोजकत्वमा ‘अस्पताल स्थापनार्थ पहल समिति’ बनेको थियो। सहसंयोजक थिए बुद्धिजीवी वर्गबाट दलबहादुर महत। समितिमा दलका प्रतिनिधि, नागरिक अगुवा र बुद्धिजीवीहरू सभागी थिए।
जुम्लामा समिति गठन भएपछि काठमाडौंसम्म छलफल विस्तार भयो। काठमाडौंमा अनेक चरणमा भएको छलफलबाट अस्पताल मात्र होइन स्वास्थ्य विज्ञान प्रतिष्ठान नै स्थापना गर्नुपर्ने निष्कर्ष आयो।
‘माथिल्लो कर्णालीमा उपचार, जनशक्ति उत्पादन र स्वास्थ्य क्षेत्रको अध्ययन–अनुसन्धान गर्ने संरचना आवश्यक छ भन्ने निष्कर्षका साथ प्रतिष्ठानको अवधारणा अघि बढ्यो,’ संयोजक भण्डारीले भने, ‘कर्णालीमा सधैं डाक्टर आमन्त्रण गर्नुपर्ने अवस्थाले यहाँको समस्या समाधान हुँदैन। स्वास्थ्य जनशक्ति उत्पादन गरेरै अघि बढनुपर्छ भन्ने निष्कर्ष पुग्यौं।’
त्यसपछि ‘अस्पताल स्थापनार्थ पहल समिति’ परिमार्जित भएर ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनार्थ पहल समिति’ बन्यो।
हाल सर्वोच्च अदालतका न्यायाधीश रहेका टेकप्रसाद ढुंगाना त्यस बेला संसद सचिवालयमा सचिव थिए। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐन बनाउन विधेयकको अन्तिम खाका उनैले तयार पारे।
भण्डारीले गैरसरकारी विधेयकका रूपमा २०६७ साउन २४ गते संसद सचिवालयमा दर्ता गराएका थिए। उक्त विधेयकलाई पछि सरकारी विधेयकका रूपमा अघि बढाउने निर्णय भयो। तत्कालीन स्वास्थ्यमन्त्री कृष्णबहादुर महराले उक्त निर्णय गरेका थिए।
मन्त्रिपरिषदले २०६८ जेठ १८ गते उक्त विधेयकलाई सैद्धान्तिक स्वीकृति दियो।
भण्डारीका अनुसार विधेयमाथि अनेक चरणमा छलफल भयो। पक्ष–विपक्षमा मत प्रकट भयो।
‘जुम्लामा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने कल्पना गर्नु पनि अनौठो थियो। कतिपयले त पागलपन ठानेका थिए,’ उनले भने, ‘धेरैले अति महत्त्वाकांक्षी योजना भनेका थिए। कतिपय कर्मचारीलाई पनि मन परेको थिएन। विधेयक पारित हुने विश्वास कसैलाई पनि थिएन। हामीलाई हतोत्साही बनाउने प्रयास पनि भयो।’
निरन्तरको पहलले विधेयक पारित भएर ऐन बन्यो।
भण्डारीका अनुसार ऐन बनेपछि तत्कालीन मुख्य सचिव लीलामणि पौडेलले राम्रो सहयोग गरे। उनकै पहलमा पहिलो पटकमै प्रतिष्ठानका लागि ९५ करोडको रूपैयाँको परियोजना तयार भयो।
प्रतिष्ठानमा डा. पारस आचार्य उपकुलपति नियुक्त भए।
यसरी कर्णालीमा बलियो स्वास्थ्य संरचना स्थापना गर्ने पहल साकार भयो। हाल जुम्लामा अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान देशका अस्पतालहरूका लागि जनशक्ति उत्पादन गर्ने थलो भएको छ।