बुधबार बिहान ८ बजेपछि तुलसीपुर मेयर टीकाराम खड्का, उपमेयर श्यानी चौधरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र पत्रकारहरूको टोली बजार अनुगमन गर्नका लागि भन्दै एक सय हाराहारीमा मानिसहरू उपमहानगरपालिकाको कार्यालयबाट निस्किए।
उपमहानगरको गेट अगाडि पश्चिम तर्फबाट अनुगमन सुरू भयो।
नगरको सम्मुख व्यापारीले फुटपाथमा टनाटन सामान नराखेका होइनन्। तर, मेयर खड्का, उपमेयर चौधरीका साथै बजार व्यवस्थापन शाखा प्रमुख रेखा शर्मा, व्यवस्थापन सहायक खेमकान्त पाण्डे लगायत, वडा नं. ६ का अध्यक्ष दुजमान भण्डारीले व्यापारीसमक्ष सहज र सरल रूपमा प्रस्तुत भए। सम्झाउँदै हिँडे। अबदेखि फुटपाथमा यसरी सामग्री नराख्नु भन्दै उत्तरतर्फ लागे।
अघिल्लो दिन नै बुधबार हुन थालेको बजार अनुगमनबारेको सूचना नगरका जिम्मेवार पदाधिकाहरूले नै सामाजिक सञ्जालमा राखिसकेको थिए। त्यसैले अधिकांश व्यवसायीले अघिपछि भन्दा चलाखी अपनाएका थिए।
तुलसीपुर बजारको उपमहानगरपालिका लाइन (ग) सबैभन्दा अस्तव्यस्त तथा असरल्ल हुन्छ। साँघुरो सडकमा प्राय: सधैं जाम हुन्छ। तुलसीपुरका सबैभन्दा धेरै निजी स्वास्थ्य क्लिनिकहरू यही (ग) लाइनमै छन्। अनुगमन टोली केही उत्तरतर्फ लागेपछि महिनौंदेखि थुपारिएका निर्माण सामग्री, फुटपाथमै बिग्रिएर थन्काएका रिक्सादेखि होटल सञ्चालकले फुटपाथमै कुर्सी राखेर ग्राहकलाई चिया खुवाउने गरेका दृष्यहरू देखिए।
ती सबै दृष्यहरू देखेर पनि मेयरका साथै नगर प्रहरीहरू सरल र सहज ढंगमा पेश भए। सम्झाउँदै हिँडे। आइन्दा फुटपाथमा कुनै सामान नराख्न र सडक पेटी मिचेर व्यवसाय नगर्न आग्रह गरे। अन्यथा सामग्री जफत गरिने चेतावनी दिँदै अगाडि बढे। जेजस्तो भने पनि अनुगमन टोलीले ठूला व्यापारीका कुनै सामान उठाएन। चलाएन।
नगरको कार्यालयदेखि झन्डै ५ मिटर उत्तर पुगेपछि आउँछ तुलसीपुरको घोराही चोक।
तुलसीपुर–घोराही सडक खण्डको प्रस्थान बिन्दु। तुलसीपुर–घोराही सडक खण्डमा पुगेपछि अनुगमन टोली केही कडा रूपमा प्रस्तुत भयो। तरकारी पसल गर्नेहरूका विरूद्ध उनीहरू केही गरम शैलीमा प्रस्तुत भए। आइन्दा तरकारीको व्यापार त्यसरी गरे जफत गरिदिने भन्दै धम्काउँदै अगाडि बढे।
उत्तरतर्फ तुलसीपुरको विद्युत कार्यालय नजिक पुग्दा लहरै तरकारी बेच्नेहरू भेटिँदा अनुगमन टोली थप कडा रूपमा प्रस्तुत भयो। तरकारी बेच्न बसेकाहरूलाई बिचौलिया भन्दै मेयर खड्काले नै कडा चेतावनी दिन थाले।
मेयरको कुरामा तरकारी बेच्न सडक पेटीमा बसेकी निर्मला बुढाथोकीले प्रतिवाद गर्न खोजिन्।
‘हामीले काम गरेर खान पाउँदैनौं भने के अब कचौरा डोसेर भिख माग्न जाने हो, न पोई छन्, न घर छ, न जग्गा जमिन, मैले मेरो बालबालिका कसरी पाल्ने?,’ उनले आक्रोश पोखिन्।
उनले आफ्नो सटर भाडामा लिन सक्ने हैसियत नभएको पनि बताएकी थिइन्।
जबाफमा मेयर खड्काले व्यवसाय दर्ता नगरी व्यापार गर्न नपाइने र व्यवसाय गर्नेहरूले सडक हैन, सटरमा बसेर व्यवसाय गर्नुपर्ने बताएका थिए।
मेयर अगाडि बढेपछि बुढाले तीजको मुखमा निमुखा गरिब चेलीलाई रूवाउने यो कस्तो सरकारको हो? भनेर प्रश्न गरेकी थिइन्।
‘अघि पछि कहिल्यै नदेख्ने तर, जब जब चाड पर्व आउँछन् तब मात्रै अनुगमनको मौसमी नाटक मञ्चन गरी हामी जस्ता गरिब, दुःखीलाई सताउन आउने यस्तो पनि मेयर हुन्छन्,’ उनले अगाडि भनेकी थिइन्, ‘यस्तालाई गरिब चेलीबेटीको आँसुको श्राप लाग्नेछ।’
सडक पेटीमै बसेर व्यापार गरिरहेकामध्ये रूकुम पश्चिम घर बताउने खिमबहादुर वलीको फूलगोभी नगर प्रहरीले जफत गरी जबरजस्त गाडीमा हुलेको थियो। यद्यपि वलीले अबदेखि त्यहाँ बसेर तरकारी नबेच्ने हुँदा एक पटकलाई छोडी दिन आग्रह गरिरहेका थिए।
विगत एक वर्षदेखि यसैगरी तरकारी बेच्दै आएका बताउने वलीले आफ्नो तरकारी खोस्न खोज्दा नगर प्रहरी, कर्मचारी र जनप्रतिनिधिका बीचमा धकेलाधकेल भएको थियो।
उनले पनि मेयर लगायत अनुगमनमा खटिएका अन्य कर्मचारीलाई आफू जस्तालाई मेहनत गरी खान मिल्ने ठाउँ देखाइदिन आग्रह गरेका थिए।
‘व्यापार गर्ने भए नगरपालिकाले बसपार्कको पश्चिम पातुखोला पुलको उत्तरतर्फको खाली क्षेत्रमा निर्माण गरेका टहरामा बसेर व्यापार गर्नुहोस्, नत्र तपाईंको तरकारी उठाइन्छ,’ मेयरले भनेका थिए।
प्रतिवादमा नगरले बनाएका सटरहरू आफूहरू जस्ताका लागि नभई बिचौलियाहरूका लागि मात्रै भएको प्रतिक्रिया दिएका थिए।
‘तपाईंहरूले भनेको ठाउँमा पहिलै दुई लाख बढी एडभान्स बुझाउनु पर्ने रहेछ र मासिक १४/१५ हजार भाडा तोकिएको छ,’ वलीले भनेका थिए, ‘म गरिबको अग्रिम एडभान्स बुझाउने क्षमता नभएरै यहाँ सडक पेटीमा बसेर व्यापार गर्नु परेको हो।’
मेयर खड्काले त्यो फुटपाथमा बिहान ८ बजेभन्दा पहिले र बेलुकी ४ बजेपछि मात्रै तरकारी व्यापार गर्न पाइने बताएका थिए।
त्यो सवाल जबाफमा सल्यान कपुरकोटकी दिलमाया बुढाथोकी पनि एकाएक आइन्।
१९ वर्षदेखि तुलसीपुरमा तरकारी बेचेर जीवनयापन गर्दै आएको बताएकी उनले आफूहरू जस्ता गरिबका लागि सडकपेटी नै जीवन धान्ने आधार भएको हुँदा उचित व्यवस्थापन नगरी हचुवाका भरमा धपाउन नपाइने अडान लिएकी थिइन्।
‘सहर बजार के ठूला/ठालु र धनीमानीहरूका लागि मात्रै हो,’ उनले भनेकी थिइन्, ‘हामी जस्ता गरिबले यहीका स्कुलका बालबालिका पढाउँदै आएका छौं। बालबालिका राम्रो शिक्षा पढाउने र मेहनत गरी बाँच्न पाउने अधिकार लोकतन्त्रमा हाम्रो पनि हुनुपर्छ।’
उमा केसीले पनि ठूला उद्योगी व्यापारीबाट कर असुल्न नसक्ने राज्यले आफू जस्ता फुटपाथ व्यवसायीबाट कर उठाउने लालचले दुःख दिनु कुनै पनि मानेमा सही नभएको भन्दै प्रतिवाद गरेकी थिइन्।
‘के यो फुटपाथ हो, के यो नगरपालिकाले बनाएको सडक पेटी हो?,’ उनले प्रश्न गरेकी थिइन्, ‘सडक निर्माण गर्दा बनाइएको सामान्य नालामाथि हामीले बसेर दुई पैसा आर्जन गर्दा तपाईंहरूको किन टाउको दुखेको हो?’
त्यस्तै नोकझोक र वाद प्रतिवादपछि मेयर, उपमेयर सहितको अनुगमन टोली त्यहीँबाट फर्किएको थियो।
झन्डै पाँच सय मिटर पूर्वबाट फर्किएको अनुगमन टोली तुलसीपुर–घोराही सडक खण्डको दक्षिण किनारबाट फर्किंदा पनि सडक पेटीमा राखेर व्यापार व्यवसाय नगर्न आग्रह गर्दै फर्किएको थियो।
त्यो अनुगमन टोली झन्डै आधा घन्टाको अवधिका जब पहिलेकै घोराही चोकमा आइपुग्यो त्यसपछि फेरि लफडा सुरू भएको थियो। भिडले दिपबहादुर वलीको किराना पसलको बरण्डामा राखेको आलु उठाउनु पर्ने कुरा गरेपछि नगर प्रहरी आलु उठाउन पुगेको थियो। वलीले पसलमा आफू एक्लै रहेको हुँदा दुई मिनेट समय दिन आग्रह गर्दा पनि नगर प्रहरीले जबरजस्ती गरेको गुनासो गरेका थिए।
नगर प्रहरी र जनप्रतिनिधिहरू भने अघि भनेको कुरा किन अटेर गरेको? भन्दै थिए।
‘यो मेरो घरको बरण्डा हो र यो कुनै फुटपाथ होइन,’ उनले प्रश्न गरेका थिए, ‘चर्को भाडा तिरेर आफ्नै बरण्डामा पनि सामान राख्न नपाउने हो भने व्यापार कसरी सम्भव हुन्छ र अब हामीले उपमहानगरलाई कसरी कर तिर्ने?’