उदयपुरको कटारी नगरपालिका–१० सोरुङ छविसेमा आमा-छोराको हत्या भएको छ।
वडा कार्यालय नजिकै किराना पसल गर्दै आएकी अन्दाजी ४० वर्षिया निर्मला थापा र उनका छोरा अन्दाजी छ वर्षीय आरूस थापाको बिहीबार बिहान पसलमै शव भेटिएको हो।
वडाध्यक्ष क्षेत्रबहादुर खड्काका अनुसार बिहान पसलमा आउने ग्राहकहरूले आमाछोराको शव देखेका थिए।
‘आमाको शव भुइँमा घोप्टो परेको र छोराको खाटमा फेला परको हो,’ वडाध्यक्ष खड्काले भने, ‘छोराको शवमा हतियार प्रहार गरेको चोटहरू देखिएको जानकारी आएको छ।’
ईलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक उमेश महतोले बिहानै घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी घटनास्थल तर्फ पठाइसकेको बताए।
घटनास्थल कटारी बजारबाट ३२ किलोमिटर उत्तरपहाडी भेगमा पर्दछ।
वडाध्यक्ष खड्काका अनुसार मृतक निर्मला थापाका श्रीमान अशोक थापा दुई वर्ष अघि कान्छी श्रीमती लिएर भारततिर गएका थिए।
‘तीन सय मिटर पर मुल घर थियो, गएराति चाहिँ पसलमै बास बसेका रहेछन्, त्यही बेला घटना घटेछ,’ उनले भने।