खडेरीका बेला हप्तौं वा महिनौंसम्म घरका धारा सुक्नु वीरेन्द्रनगरका बासिन्दाको नियति जस्तै भइसकेको छ। दशक अघिबाटै खानेपानीको अभाव झेलिरहेका बासिन्दा भेरीबाट पानी तान्ने सरकारी आयोजनाको नाम सुनेरै हैरान परिसकेका छन्।
सरकार कुरा गरेको गरै गर्छ भनेर आश मार्न थालिसकेका बासिन्दालाई अब भने खुसीको खबर छ। किनभने, भेरी नदीबाट पानी तानेर ल्याउने योजना निर्माणको चरणमा गएको छ।
वीरेन्द्रनगर नगरपालिकाले संघीय सरकारको खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनासँग समन्वय गरेर यो आयोजना निर्माणको काम अघि बढाएको हो।
क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनाले वीरेन्द्रनगरमा आयोजना कार्यान्वयन इकाई स्थापना गरेको छ।
निर्माणको काम दुई चरणमा गरेर साढे तीनवर्षमा सक्ने लक्ष्य राखेको छ। यसका लागि पहिलो चरण तीनवर्ष र दोस्रो चरणको काम ६ महिनामा तोकिएको हो। यसको लगानी ३५ मिलियन अमेरिकी डलर अर्थात ५ अर्ब ४६ लाख रूपैयाँ छ।।
पहिलो चरणको काम गर्न ३ अर्ब ५ करोड ८ लाख ५ हजार २१७ रूपैयाँ लागतमा चिनियाँ कम्पनी झेजियाङ टिम्स इन्टरनेशनलले ठेक्का पाएको छ।भदौ १२ गते सरकार र यो कम्पनी बीच ठेक्का सम्झौता भएको छ।
कार्यान्वयन इकाईबाट पहिलो चरणको ठेक्का २०८० असोज १२ गते आह्वान गरिएको थियो। सात कम्पनीले ठेक्का प्रस्ताव हालेका थिए। तीमध्ये २४.०८ प्रतिशत घटेर प्रस्ताव हालेको चिनियाँ कम्पनी झेजियाङ छनोट भएको हो।
पहिलो चरणमा मुहानदेखि इन्टेकसम्मको काम निर्माण कम्पनीले गर्नेछ। यसको समयावधि तीन वर्ष दिइएको छ।
पहिलो चरणमा नदी छेउमा इन्टेक निर्माण, मोटर जडानका लागि संरचना निर्माण र त्यहाँसम्मको पाइपलाई विस्तार, ६.८ किलोमिटर पाइपलाइन (भेरीदेखि उपत्यकाको छेउको अमृत डाँडासम्म) विस्तार, अमृत डाँडामा ३ हजार घनमिटरका तीन वटा इन्टेक निर्माण लगायतका काम गर्नुपर्नेछ।
दोस्रो चरणमा वितरण लाइन विस्तारका लागि ठेक्का खोलिनेछ। वितरण लाइन विस्तारको अवधि भने ६ महिनाको हुनेछ। अहिलेको निर्माण कम्पनीले पहिलो चरणका काम समयमै पूरा गरेमा थप तीन वर्षसम्म आयोजना सञ्चालनको जिम्मा पनि पाउनेछ।
वीरेन्द्रनगर उपत्यकामा पर्याप्त खानेपानी उपलब्ध गराउन महत्वपूर्ण रहेको यो आयोजनाको ठेक्का चिनियाँ कम्पनीले पाएपछि समयमै निर्माण हुने विश्वास गरिएको छ।
आयोजना प्रमुख सञ्जिवकुमार शाहले तोकिएकै समयमा पहिलो चरणको काम सम्पन्न हुनेमा विश्वस्त रहेको बताए।
उनकाअनुसार क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनाले कर्णाली र सुदूरपश्चिम प्रदेशका ६ वटा स्थानीय तहमा खानेपानी आपूर्तिका लागि आयोजना कार्यान्वयनको काम गरिरहेको छ। तीमध्ये सबैभन्दा ठूलो आयोजना वीरेन्द्रनगरको हो। सबैभन्दा पहिले ठेक्का सम्झौता भएको पनि यही आयोजना हो।
झेजियाङका नेपाल प्रतिनिधि सुशिल श्रेष्ठले तोकिएको समयमै काम सम्पन्न गर्ने बताएका छन्। ‘स्थानीय र सरोकारवाला निकायबाट सकारात्मक सहयोग हुनुपर्यो, हामीले तोकिएकै समयभित्र गुणस्तरीय निर्माण गर्छौं,’ उनले भने।
उपत्यकाको अहिलेदेखिको खानेपानी समस्याको समाधान गर्न महत्वपूर्ण आयोजना पूरा गर्न नगरपालिकाबाट गर्नुपर्ने आवश्यक निर्णय समयमै गरिने वीरेन्द्रनगरका मेयर मोहनमाया ढकालले बताइन्। यो आयोजनामा सबैको चासो भएकाले कार्यान्वयनमा पनि सबैको साथ रहने उनले बताइन्।
तत्काल विश्व बैंकको ऋण सहयोगमा निर्माण गरिने यो आयोजनामा कर्णाली प्रदेश सरकारको ७० प्रतिशत र वीरेन्द्रनगर नगरपालिकाको ३० प्रतिशत लगानी रहनेछ।
भेरी लिफ्टिङ खानेपानी आयोजनाको डिजाइनआुसार झुप्रा खोला किनारमा दुईवटा इन्टेक बनाइनेछ। ती इन्टेकमा झुप्रा खोला र भेरी नदीको दोभान नजिकबाट नदीको पानी डाइभर्ट गरेर जम्मा गरिनेछ। ती इन्टेकमा पम्पिङ मेसिन जडान गरिनेछ। उक्त इन्टेकबाट चार सय मिटरको दूरीमा प्रशोधन संरचना रहनेछ।
त्यहाँबाट प्रसारण लाइनका रुपमा ६.८ किलोमिटर पाइप उपत्यका छेउको अमृत डाँडासम्म विस्तार गरिनेछ। उक्त पाइपलाइनमार्फत ५६० लिटर प्रतिसेकेण्ड पानी अमृत डाँडासम्म पुग्नेछ। अमृतडाँडामा निर्माण गरिएका इन्टेकमा जम्मा गरिएको पानी उपत्यकामा वितरण गरिनेछ।आयोजनाअन्तर्गत उपत्यकाभित्र ३५ किलोमिटर वितरण लाइन निर्माण हुनेछ।
पहिलो चरणको काम सकिएपछि वितरण लाइन निर्माण लगायतका कामका लागि दोस्रो चरणमा ठेक्का हुने आयोजना कार्यान्वयन इकाई प्रमुख शाहले बताए।
भेरीको पानी वीरेन्द्रनगर छेउसम्म पम्प गर्न ३ मेगावाट विद्युत आवश्यक पर्छ। यसका लागि इन्टेकसम्म ३३ केभीए विद्युत प्रसारण लाइन निर्माण गर्नुपर्नेछ।
भेरी लिफ्टिङ खानेपानी आयोजना कार्यान्वयनका लागि २०७९ भदौमा संघीय सरकार र वीरेन्द्रनगर नगरपालिकाबीच सम्झौता भएको थियो। त्यसपछि कार्यालय स्थापना, अध्ययन परामर्शदाता छनोट लगायतका काम गरिएको थियो।
२०५७ सालदेखि वीरेन्द्रनगर उपत्यकामा व्यवस्थित रुपमा खानेपानी वितरण सुरु गरिएको थियो। हाल उपत्यकाको खानेपानीको प्रमुख स्रोतका रुपमा झुप्रा र खरिबोरी खोला छन्। यी खोलाबाट प्रशोधन गरी ल्याइएको पानी उपत्यकामा वितरण गरिएको छ।
उपत्याकाका बासिन्दालाई दिनमा ३२० लिटर प्रतिसेकेण्डका दरले पानी दिए पर्याप्त हुन्छ। डेढ लाखबढी जनसंख्या रहेको यो सहरमा अहिले १५३ लिटर प्रतिसेकेण्ड दैनिक पानी आपूर्ति हुन्छ। यो आयोजना पूरा भएपछि वीरेन्द्रनगर उपत्यकामा दैनिक प्रतिसेकेण्ड ५६० लिटर पानी औसतमा आपूर्ति हुनेछ। यो भनेको सन २०५० सम्म वृद्धि हुने उपत्यकाको जनसंख्यालाई पुग्ने खानेपानी हो। त्यतिबेलासम्म वीरेन्द्रनगर उपत्यकामा अहिलेको दोब्बर बढी जनसंख्या हुने अनुमान छ।
सन् २०५० मा यहाँको जनसंख्या ३ लाख ८४ हजार ७५९ पुग्ने प्रक्षेपण गरिएको छ। त्यही जनघनत्वलाई लक्षित गरेर भेरीको पानी उपत्यकामा तानेर वितरण गर्न आयोजना अघि बढेको हो।