मुग्लिन–पोखरा सडक आयोजनाको काम समयमा सकिन्थ्यो भने अहिलेसम्म चार लेन फराकिलो सडक बनिसक्थ्यो। बिचका डिभाइडरमा हरियाली फुलहरू रोपिन्थ्यो। सडक किनारमा फुटपाथ समेत बनिसक्थ्यो।
तर सडक विस्तारको ठेक्का पाएको चिनियाँ कम्पनीले समयभित्र काम सकेन। बाटो भत्काएर छाड्दा यात्रुले अत्यधिक धुलो र हिलोको सामना गर्नुपरेको छ। पोखराबाट काठमाडौं २०० किलोमिटर यात्रा कम्तीमा १३ घण्टा लाग्ने गरेको छ। सडक विस्तार गर्न बाटो भत्काउँदा यात्रा थप जोखिमपूर्ण बनेको छ।
एसियाली विकास बैंक एडिबीको लगानीमा मुग्लिनदेखि पोखरासम्म ८० किलोमिटर सडक चार लेनमा बन्दैछ। सडक विस्तार गर्न सरकारले मुग्लिनदेखि जामुनेसम्म पूर्वी खण्ड र जामुनेदेखि पोखरासम्म पश्चिम खण्डमा विभाजन गरेर चिनियाँ निर्माण कम्पनीले ठेक्का दिएको छ।
आयोजनाका इन्जिनियर नारायण पौडेलका अनुसार तनहुँको जामुनेदेखि पोखरासम्म पश्चिम खण्डको ३८ किलोमिटर सडकमा हालसम्म ३० प्रतिशत काम सकिएको छ।
उक्त सडक खण्ड चार लेन बनाउन पनि चिनियाँ कम्पनी एनहुई केयुयन हाइवे मण्ड ब्रिजले ठेक्का पाएको थियो। कम्पनीले २०७८ जेठ ३ मा उक्त सडक निर्माण गर्न पोखराको सेती पुलबाहेक ७ अर्ब ४० करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। तीन वर्षे सम्झौता भदौ १२ गते म्याद सकिएको छ तर कम्पनीले समय सीमाभित्र जम्मा ३० प्रतिशत मात्र सडक विस्तारको काम गरेको जनाएको छ।
सम्झौताको समय सीमा सकिएपछि पश्चिम खण्डमा कोभिडलाई कारण देखाउँदै निर्माण कम्पनीले थप समय मागेपछि सरकारले १०१ दिन म्याद थप गरेको छ। उक्त समय भित्र पनि बाँकी काम नसकिने भन्दै ठेकेदारले अझै १५ महिना समय मागेको इन्जिनियर पौडेलले बताउँछन्।
‘ठेकेदार कम्पनीले अझै १५ महिना समय मागेको छ, दोस्रो चरणमा म्याद थप गर्न सरकारलाई आग्रह गरेको छ,’ उनले भने, ‘कम्पनीले काम सक्न २०२५ डिसेम्बरसम्म समय लाग्ने बताएको छ।’
अर्कोतर्फ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आइतबार पोखरा मुग्लिन सडक आयोजनाको काम समयमै सक्न निर्माण कम्पनी र अन्य निकायलाई निर्देशन दिएका थिए।
त्यतिबेला पनि मुग्लिन पोखरा सडकको पश्चिम खण्डको ठेक्का पाएको चिनियाँ कम्पनी एनहुई केयुयन हाइवे मण्ड ब्रिजका कन्ट्याक्ट म्यानेजर टेन योङले सडक निर्माणको काम सक्न अझै १५ महिना समय लाग्ने बताएका थिए।
जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डको सडक विस्तारमा ढिलाइ हुँदा सडकबाट आउजाउ गर्ने यात्रुले निकै सास्ती बेहोर्नुपरेको भन्दै छिटो काम गर्न मुख्यमन्त्री पाण्डेले निर्देशन दिएका थिए।
‘सडक विस्तारमा समस्या भए हामी समाधान गर्छौ, तर काम छिटो गर्नुपर्यो,’ उनले भने।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ठेकेदार कम्पनी लगायत सरोकारवाला निकायसँग भएको बैठकले सडक विस्तारको काम सहज बनाउन पाँच निर्णय गरेको छ।
सरोकारवालाको छलफलले दोहरो कर हटाएर प्रदेश सरकारले निर्धारण गरेको रोयल्टी रकम नघट्ने गरी निर्माण सामग्रीमा कानुन बमोजिम एकमुष्ट रोयल्टी लिने निर्णय गरेको छ।
अहिले स्थानीय तहपिच्छे रोयल्टी, करको दर फरक हुँदा काममा समस्या भएको गुनासो निर्माण कम्पनीको थियो। सडक क्षेत्रमा पर्ने बिजुलीका पोलहरू विद्युत प्राधिकरणले तत्काल स्थानान्तरण गर्ने, चाडपर्वको समय नजिकिएकाले सडक क्षेत्रमा खाल्टाखुल्टी पुरेर आयोजना कार्यालयले सवारी आउजाउ सहज बनाउने निर्णय बैठकले गरेको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको गेटदेखि सेती नदी पुलसम्म बिजुली तार भूमिगत गर्ने, दुई लेन सडक तत्काल निर्माण गर्ने, निर्माण सामग्रीबारे सम्बन्धित पालिकाले स्रोत जान्न पाउने लगायत निर्णय भएको छ।
यस्तै, मुग्लिन पोखरा सडकको पूर्वी खण्ड अर्थात् तनहुँको जामुनेदेखि मुग्लिनसम्मको ४१ किलोमिटर सडक चार लेन बनाउन ठेक्का पनि चीनकै चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले पाएको थियो। कम्पनीले उक्त ठेक्का ६ अर्ब २१ करोड रुपैयाँमा पाएको थियो। यो ठेक्कामा मादी पुल समावेश छैन। मादी नदीमाथि पुल बनाउन छुट्टै १ अर्ब २० करोडमा ठेक्का लगाइएको छ।
मुग्लिन पोखरा सडकको पूर्वी खण्डका इन्जिनियर विष्णु पाण्डेका अनुसार उक्त खण्डमा हालसम्म ६६ प्रतिशत काम सकिएको छ।
२०७८ वैशाख २ मा भएको सम्झौता अनुसार उक्त खण्डको सडक तीन वर्ष अर्थात् गएको वैशाख २ गतेभित्र सक्ने लक्ष्य राखिएको थियो। तर अहिले सरकारले १५५ दिन म्याद थप गरेता पनि ठेकेदार कम्पनीले निर्माण कार्य सकिन यस आर्थिक वर्ष लाग्ने इन्जिनियर पाण्डेले बताए।
‘कोभिडका कारण वैशाखमा १५५ दिन म्याद थपिएको थियो। थपिएको म्याद सकिन लागेको छ,’ उनले भने, अब दोस्रो पटक म्याद थप्ने प्रक्रियामा ठेकेदार कम्पनी छ। कम्पनीले आगामी वैशाखसम्म काम सक्छु भनेको छ।’
इन्जिनियर पाण्डेका अनुसार पूर्वी खण्डमा हालसम्म ६६ प्रतिशत काम सकिएको छ। जसमा २९ किलोमिटर ४ लेन बनेका छन् भने ५ किलोमिटर २ लेन बनेका छन्। साना पुलहरू १४ वटा सकिएका छन्। ठुला पुल २ वटा सकिएका छन्। एउटा पुलको काम भने आधा भएको पाण्डेले बताए।
मुग्लिन पोखरा सडकको पूर्वी खण्डमा ६६ प्रतिशत काम हुँदा पश्चिम खण्डमा आधा पनि काम भएको छैन। पहिलो पटक म्याद थप गरिएको समयमा पनि काम नसकिने भएपछि दुवैतर्फका ठेक्का म्याद थप्न निर्माण कम्पनीले माग गरेका हुन्।
नेपालको व्यस्त सडकमध्ये एक पृथ्वी राजमार्ग विस्तारमा चिनियाँ निर्माण कम्पनीले ढिलासुस्ती गर्दा सर्वसाधारण नागरिकलाई मात्र नभएर पर्यटकको आगमनलाई पनि असर पारेको छ। सडकको अवस्था नाजुक भएकै कारण दुर्घटना बढेको र यात्रुले सास्ती भोग्नुपरेको पर्यटन व्यवसायीको भनाइ छ।