५६ वर्षीय रामसुन्दर जोशीले आइतबार हाफ बाहुले टिसर्ट लगाउँदा उनको परिवारमा खुसीको सीमा थिएन।
उनकी श्रीमती निर्मला जोशी आफ्ना श्रीमानले हाफबाहुले टिसर्ट लगाएको पहिलोपटक देख्दै थिइन्। उनी सँधै लामो बाहुलाको सर्टमात्रै लगाउँथे। एउटा बाहुलाको मात्रै काम आउँथ्यो। अर्को हात सर्टभित्रै रहन्थ्यो।
अझ उनको देब्रे हातले कामै गर्दैनथ्यो।
तीन वर्षको उमेरमै उनको हड्डीमा टिबी देखिएको थियो। रोग बढ्दै गएपछि केही वर्षमा बायाँ हातले काम गर्नै छाड्यो। विस्तारै हात तल झार्नै नसक्ने भए। उनको उपचारका लागि परिवार विभिन्न अस्पताल धायो तर निको भएन। अन्ततः हार खाएर बायाँ हात लुकाएर हिँड्न बाध्य भएका थिए।
जोशीलाई अब हात छोपेर हिँड्न पर्दैन।
एउटा हातको साहारामा काम गर्ने उनलाई अब अर्को हातले पनि सघाउनेछ। जोशीले कहिल्यै नसोचेको यो कुरा भरतपुरस्थित एलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टरले सम्भव बनाइदिएको हो।
अर्थोपेडिक सर्जनहरू डा.प्रमोद लामिछाने, डा.अनिल भट्टराई, डा.सन्तोष कुँवर, एनेस्थेसियोलजिष्ट सञ्जिव ढुंगानासहितको स्वास्थ्यकर्मीहरूको समूहले भदौ १६ गते उनको कुहिनाको जोर्नीको प्रत्यारोपण गरेको थियो। प्रत्यारोपण गरेको एक हप्तामा उनी हात चलाउन सक्ने भएका छन्। सोमबार उनी अस्पतालबाट डिस्चार्ज भएर घर गएको अस्पतालका कार्यकारी अध्यक्षसमेत रहेका डाक्टर लामिछानेले बताए।
यो अस्पतालले पहिलो पटक कुहिनाको जोर्नीको प्रत्यारोपण गरेको हो। केही महिनाअघि काठमाडौंको बी एण्ड बी अस्पतालले देशमै पहिलो पटक कुहिनाको जोर्नीको प्रत्यारोपण गरेको थियो। काठमाडौं बाहिरका अस्पतालमा यसअघि कुहिनाको जोर्नीको प्रत्यारोपण गरिएको थिएन।
‘हामीले करिब ६ वर्षअघिदेखि कट्टी र घुँडाको जोर्नीको प्रत्यारोपण गर्दै आएका थियौं। यो अवधीमा करिब एक सय जनाको कट्टी र घुँडाको जोर्नीको प्रत्यारोपण गरियो। कुहिनाको जोर्नीको प्रत्यारोपण भने जटिल र खर्चिलो हुने भएकाले नेपालमा कम हुने गरेको थियो,’ डा.लामिछानेले भने, ‘सबै उपचार यहीँ सम्भव बनाउनुपर्छ भनेर लाग्दै जाँदा कुहिनाको जोर्नीको प्रत्यारोपणमा पनि सफल भयौं।’
यो उपचारका लागि करिब ५ लाख रूपैयाँ खर्च लाग्छ। घुँडा र कट्टीको जोर्नीको प्रत्यारोपणका लागि साढे ४ लाख रूपैयाँ खर्च हुन्छ।
१३ वर्षअघि स्थापना भएको एलाइभ हस्टिपट एन्ड ट्रमा सेन्टरमा मासिक १५० भन्दा बढी र वर्षमा २ हजार भन्दा बढी दुर्घटनाबाट हुने चोटपटक तथा मेरूदण्डको शल्यिक्रिया, घुँडा र कट्टीको जोर्नीको प्रत्यारोपण, दुरविनबाट हुने घुँडा र कुमको शल्यक्रियालयातका जटिल शल्यक्रियाहरू हुने गरेको अध्यक्ष डा. लामिछाने बताउँछन्।
‘अन्य देशमा पनि जटिल मानिने र कम हुने कुहिनाको प्रत्यारोपण नेपालमा राजधानी बाहिर सम्भव हुनुलाई मेडिकल क्षेत्रको ठूलो सफलता मानेका छौं,’ उनले भने, ‘हाडजोर्नी र नसा रोगको उपचारमा नेपालमा एक नविन प्रविधिको सुरूआत भएको मान्न सकिन्छ।’
कट्टी र घुँडामा हासिल गरेको लामो अनुभवले पनि नयाँ सेवा सुरू गर्नमा सहयोग गरेको उनको भनाइ छ।
जोशीको कुहिनाको जोर्नी प्रत्यारोपणमा भारतबाट एक जना प्राविधिकको पनि सहयोग लिइएको लामिछानेले बताए। जोर्नीको प्रत्यारोपण गरेपछि जोशीले हात पूर्णरूपमा चलाउन सक्ने अर्थोपेडिक सर्जन डाक्टर अनिल भट्टराईले बताए।
‘हड्डीको टिबीले ५० वर्षदेखि हात खुम्चिरहँदा उहाँ जोर्नीको हड्डी जकडिएको र टालिएको रहेछ। कुरकुरे हड्डी सबै खिइएर हड्डीहरू एक आपसमा टाँसिएका थिए। जाम यति कडा थियो कि हामीले चार घण्टा लगाएर त्यसलाई सहज बनायौं,’ भट्टराईले भने, ‘यो असाध्यै चुनौतीपूर्ण थियो। लामो समयदेखि जाम भएको हड्डीलाई पुरानै अवस्थामा ल्याउनेगरी अप्रेसन गर्न हामीलाई निकै समय लाग्यो।’
प्रत्यारोपणपछि जोशीले दुखाइबाट मुक्ति पाउने र हातले गर्न मिल्ने सबैजसो काम गर्न सक्ने भट्टराईले बताए।
‘जटिल खालको बाथ, कुहिनाको चोटले हड्डी झर्याझुरूम भाँचिएको अवस्थामा वा अन्य विभिन्न कारणले अप्रेसन गर्दा पनि राम्रो काम गर्न सकेन भने कुहिनोको कुरकुरे हड्डी घोटिएर बिरामीलाई दुखाइले सताउने, कुहिनाको चाल असाध्यै घट्ने हुनसक्छ हामीले बिग्रिएको जोर्नीलाई प्लास्ष्टिक वा मेटलको कृत्रिम जोर्नीले प्रतिस्थापन गर्ने हो,’ डा.भट्टराई भन्छन्, ‘यसरी गरेको प्रत्यारोपणले सामान्यतया २०/२५ वर्षलाई काम गर्छ। हातलाई धेरै दुःख दिइएन भने अझै बढी पनि गर्नसक्छ।’
रामसुन्दर जोशी चितवनमै यती डिष्टिलरीमा काम गर्छन्। यहाँ उनी ३२ वर्षदेखि काम गरिरहेका छन्।
‘मसँग काम गर्ने एक विदेशीसहित दुई जना कर्मचारीहरूले पहिले यही अस्पतालमा उपचार गराएर निको हुनुभएको रहेछ। उहाँहरूसँग कुरा गर्दै जाँदा एलाइभ हस्पिटलका डाक्टरहरूलाई देखाउनुभयो भने तपाईंको हात पनि ठिक हुनसक्छ भन्नुभयो। आश त थिएन, तैपनि एकचोटी देखाउँ भनेर आएको थिएँ,’ उनले भने, ‘सोच्दै नसोचेको भयो। ५० वर्षपछि मेरो बायाँ हात पनि दायाँ जस्तै चलाउन मिल्ने भयो। म त दंग परेको छु।’
साथीहरूको कुरा सुनेपछि उनी भदौ ९ गते अस्पताल आइपुगेका थिए। स्वास्थ्य परीक्षणपछि चिकित्सकहरूले १६ गते शल्यक्रिया गरेका थिए।
श्रीमानको हातले काम गर्न थालेको देखेर निर्मला दंग छिन्।
‘हाम्रो विवाह भएको ३० वर्ष भयो। उहाँको हात यसरी चल्न सक्छ भन्ने सोचेकै थिइनँ। सधैं लामबाहुले सर्ट लगाएर हात छोपेर हिँड्ने श्रीमानलाई पहिलो पटक टिसर्ट लगाएको देख्न पाउँदा म र मेरा छोराहरू खुसीले गद्गगद् भयौं। अहिले हात पहिले भन्दा धेरै चल्न थालिसकेको छ। डाक्टरहरूले विस्तारै पूर्णरूपमा ठीक हुन्छ भन्नुभएको छ,’ उनले भनिन्।