ललितपुरको धापाखेलमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ।
खोटाङ घर भई ललितपुर महानगरपालिका वडा नम्बर २४ धापाखेल बस्ने ३५ वर्षीया शशीकला राईको हत्या आरोपमा उनका ३३ वर्षीय श्रीमान् भक्तिराज राईलाई पक्राउ गरेको हो।
उनलाई प्रहरीले सोमबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए। उनीहरू दुबै जना ज्याला मजदुरी गर्थे। श्रीमान् भक्तिराज मापसे गर्ने र दुई जनाबीच झैझगडा हुने गरेको थियो।
यसैबीच भदौ १२ गते राति १० बजेतिर शशिकला आफ्नै बेडमा मृत भेटिएकी थिइन्। पीडितका आफन्तले मध्यराति १ बजेतिर प्रहरीलाई खबर गरेका थिए।
श्रीमान् भक्तिराज पनि घटनास्थलबाट भागेका भने थिएनन्। उनीहरूका दुई जना साना बच्चाहरू पनि छन्। ‘श्रीमान पनि भागेनन्। घटनालाई कालगतिले मृत्यु भएको भनेर देखाउन खोजेको देखियो,’ एसपी सुवेदीले भने, ‘अनुसन्धान गर्दै जाँदा घटना शंकास्पद देखियो र हामीले श्रीमानमाथि सोधपुछ गर्दा स्वीकार गर्यो।’
प्रहरीले मुचुल्का लगायत काम गरी शव पोष्टमर्टमको लागि पाटन अस्पतालमा लगिएको थियो। पोष्टमर्टमबाट उनको सामान्य मृत्यु नभई हत्या भएको खुलेको एसपी सुवेदीले बताए।
उनको मृत्युको कारण ‘ब्लन्ट फोर्स इन्जुरी’ अर्थात टाउकोमा हिर्काउँदा/ ठोक्काउँदा हुने चोटका कारण मृत्यु भएको पोष्टमर्टम रिपोर्टमा उल्लेख गरिएको थियो।
रिपोर्ट आएपछि प्रहरीले सोधपुछ गर्दा श्रीमान भक्तिराजले पनि घटनाबारे स्वीकार गरेका हुन्। ‘टाउको भित्तामा ठोक्काउँदा मृत्यु भएको जस्तो देखिन्छ। टाउको भित्र रगत जमेको देखिन्छ,’ उनले भने।
यस घटनाको प्रहरी वृत्त सातदोबाटोले थप अनुसन्धान अघि बढाएको छ। उनीमाथि जिल्ला अदालत ललितपुरबाट कर्तव्य ज्यान कसुरमा म्याद थप गरी अनुसन्धान गरिरहेको छ।