नागढुंगास्थित सुरूङमार्ग नजिक लेदोसहितको पहिरो पन्छाइएसँगै त्रिभुवन राजमार्गमा १२ घन्टापछि सवारी आवागमन सामान्य बनेको छ।
बिहान ९ बजेपछि राजमार्गमा सवारी साधनहरू सामान्य ढंगले चलिरहेको प्रहरी प्रभाग नागढुंगाका इन्स्पेक्टर हेम थपलियाले जानकारी दिए।
‘अहिले जाम छैन। सवारी साधन सामान्य ढंगले चलिरहेका छन्,’ इन्स्पेक्टर थपलियाले भने।
बिहान ३ बजे पहिरो पन्छाइसकेपछि सडक दुइतर्फी नै सञ्चालनमा आएपनि लामो जाम खुल्न भने समय लागेको थियो।
इन्स्पेक्टर थपलियाले बिहान ७ बजेपछि मात्रै जाम खुलेर सवारी आवागमन सामान्य भएको जानकारी दिए।
धादिङको धुनीबेसी नगरपालिका-९ स्थित खत्रीपौवास्थित सुरूङमार्ग नजिकै सोमबार साँझ ६ बजे लेदोसहितको ठूलो पहिरो खसेपछि सडक अवरूद्ध भएको थियो।
धेरैबेरसम्म पहिरो खसिरहेकाले एकतर्फी सञ्चालन गर्दा नै राति ११ बजेको थियो।
त्यसपछि दुइटा एक्सकाभेटर र टिपर प्रयोग गरी पहिरो पन्छाइएको थियो।
मुख्य नाका जोड्ने सडक पहिरोले अवरूद्ध हुँदा धादिङतर्फ सिक्रे खोलासम्म र काठमाडौंतर्फ बाडभञ्ज्याङको महाशक्तिसम्म पुगेको थियो। दुवैतर्फ गरी जाम करिब ७ किलोमिटर पुगेको थियो।
त्यसकारण पहिरो पन्छाइसकेपछि पनि सवारी आवागमन सामान्य हुन चार घन्टाभन्दा बढी लागेको इन्स्पेक्टर थपलियाले बताए।
यसरी साँझ ६ बजेदेखि अवरूद्ध भएको सडकको जाम हट्न १२ घन्टाभन्दा बढी समय लागेको छ।
‘जाम हटिसकेपछि बिहान सडकमा गाडी बिग्रिएर केही बेर फेरि जाम भएको थियो। अहिले त्यहाँको अवरोध पनि हटाएर बाटो सामान्य ढंगले सञ्चालनमा आएको छ,’ इन्स्पेक्टर थपलियाले भने।